पार्टी ‘एमालेकरण’ भएको भन्दै प्रचण्ड चिन्तित !

पार्टी ‘एमालेकरण’ भएको भन्दै प्रचण्ड चिन्तित !



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी नेताहरूको व्यवहार क्रमशः एमालेका नेताको जस्तै हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । एमालेका नेताहरूमा पद र पोजिसनको मोह रहने प्रवृत्ति रहेजस्तै आफ्नो पार्टीका नेताहरू पनि त्यस्तै रोगबाट ग्रसित हुन थालेको महसूस आफूले गरेको उनको गुनासो छ ।

सूर्यनाथ राम यादवको स्मृतिमा सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने- ‘पार्टी विस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको छ । यस्तै भइरहने हो भने अब पार्टी छ भन्ने नठाने हुन्छ ।’

समाजको विकास र न्याय आजको आवश्यकता रहेको भन्दै यसको निम्ति पार्टी र नेताहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

सरकारमा मन्त्रीका रूपमा पठाउने व्यक्तिहरूको नाम चयन गर्न नसकी रनभुल्ल परेका प्रचण्डले पार्टी यसैगरी एमालेकरण भइरहे पार्टी हुनु र नहुनुको कुनै अर्थ नहुने चेतावनी दिए । आफूले पार्टी नै अन्त्य गरिदिने भन्न नखोजेको भन्दै प्रष्टिकरण दिएका उनले जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको प्रष्ट्याए ।

यसरी पार्टी नै ‘कोल्याप्स’ हुने चिन्ता व्यक्त गर्दैगर्दा उनले थोरै मेहनत गरे माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने उनले दाबी गर्न भने चुकेनन् । माओवादी केन्द्रले मात्रै साँचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने उनको जिकिर थियो ।