‘राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै सरकारले पूर्णता पाउने’

‘राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै सरकारले पूर्णता पाउने’



संसद् सञ्चालनबारे जिम्मेवार भूमिका निर्वाह गर्न प्रतिपक्षसँग आग्रह

सरकारले संघीय संसद्, प्रतिनिधिसभा सञ्चालनका निम्ति जिम्मेवार भूमिका निर्वाह गर्न प्रतिपक्ष दलसँग आग्रह गरेको छ । लामो समय संसदमा अवरोध हुँदा महत्वपूर्ण विधेयकहरु संसदमै रोकिएको जनाउँदै वार्ता र संवादमार्फत समाधान खोज्न प्रतिपक्षलाई आग्रह गरिएको हो ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्लाई प्रभावकारीरूपले चलाउने सरकार पक्ष र विपक्ष दुवैको कर्तव्य भएको स्मरण गराए । संसद् चलाउनेबारे सरकारले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको भन्दै उनले एमाले जस्तो अनुभवी प्रतिपक्षबाट पनि त्यस्तै किसिमको भूमिकाको अपेक्षा गरिएको बताए ।

विगतका सरकारले ल्याएका महत्वपूर्ण विधेयक रोक्ने काम भइरहेको र त्यो आफैँमा अनौठो भएको जनाउँदै मन्त्री कार्कीले संसद्लाई पुनःसञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्ष दलको नेतासँग निरन्तर संवाद भइरहेको जानकारी दिए ।

सो अवसरमा अर्थमन्त्री जनार्दन शर्माले संसद् पुनःसञ्चालन गर्ने सम्बन्धमा प्रतिपक्षसँग सौर्हादपूर्ण वातावरण बनाएर निरन्तर वार्ता र संवादलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै अघिल्लो सरकारले अघिसारेको कुनै पनि योजना वर्तमान सरकारले नरोकेको जिकिर गरे । राजश्व बढाउने लक्ष्य राखेर तीन प्रतिशत बजेट मात्रै घटाएको उनको तर्क थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड-१९ विरुद्धको पछिल्लो पटक ४४ लाख खोप नेपाल आइसकेको जानकारी दिँदै अहिलेसम्म एक करोड ७७ लाख खोप आएको बताए । राज्यमन्त्री श्रेष्ठले अबको १० दिनभित्रमा छुटेका १८ वर्षभन्दा माथिका व्यावसायिक क्षेत्रका व्यक्तिलाई खोप वितरण गर्ने योजना पनि सुनाए । नेपालको उत्तरी भेगका करिब १० देखि १३ वटा जिल्लामा पूर्णरूपमा खोप लगाउने सरकारको योजना रहेको उनको भनाइ थियो ।

यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै सरकारले पूर्णता पाउने खुलासा गरे भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले संसदमा प्रस्तुत भएका एजेण्डाभन्दा पनि सभामुखको कार्यशैलीप्रति विरोध जनाएर संसद् अवरुद्ध गरिएको प्रष्ट पारे । सभामुखले विभेदको रवैया नसच्याएसम्म संसद् चल्दैन कि त सभामुख आत्मालोचित हुनुपर्छ कि त मार्ग प्रशस्त गर्नुपर्छ भन्ने उनको जिकिर थियो ।

उता एमालेका नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने धारणा राखेका छन् । नेकपा एमाले पोखरा महानगरपालिका-३१ को वृहत कार्यकर्ता भेलामा उनले सभामुखले कुनै दलविशेषको नेता जस्तो बनेर संसदमा पक्षपाती व्यवहार गर्न नहुने बताएका हुन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट कम्युनिष्ट पार्टीमाथि गम्भीर आक्रमण सुरु भएको बताउँदै नेता अधिकारीले नेपालमा राजनीतिक स्थिरता आयो भने विदेशीले खेल्न नपाउने भएकोले अस्थिरताका प्रयासहरु भइरहेको बताए ।