एमालेको विधान महाधिवेशनमा पेस हुने प्रतिवेदन केन्द्रीय कमिटीमा लगिने

एमालेको विधान महाधिवेशनमा पेस हुने प्रतिवेदन केन्द्रीय कमिटीमा लगिने


नेकपा (एस)को केन्द्रीय समिति बैठक पहिलो पटक बस्दै


नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले आसन्न विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनलाई यही असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तय गरेको छ । सो पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार छलफलका लागि प्रस्ताव केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आइतबार सुरु भई आज सोमबार सम्पन्न स्थायी कमिटीको बैठकले ती प्रतिवेदनमा स्थायी कमिटीका सदस्यको सुझाव लिने क्रम सकाएको हो ।

यही असोज १५ देखि १७ गते हुन ललितपुरको गोदावरीमा विधान महाधिवेशन हुँदैछ ।

एमालेकोे केन्द्रीय कमिटीको गत साउन २५ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो । विधानमा पार्टीको प्रमुख पदमा उमेर हद, कमिटीहरुमा निर्वाचन प्रणाली, सङ्घीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको जनाइएको छ ।

प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने तय गरिएको सो पार्टीले जनाएको छ ।

यस्तै, एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट माधव नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज (असोज ५) काठमाडौंमा बस्ने भएको छ । उक्त पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बुधबारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने बताइएको छ । सो बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने सो पार्टीका केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिएकी छन् ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमासमेत छलफल हुने जनाइएको छ ।

११३ केन्द्रीय सदस्यको सहभागिता हुने उक्त बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्ने अनुमान गरिएको छ । सो पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको दाबी गरिएको छ ।

file photo