लागुऔषध चरेस विदेश निर्यात गर्ने नौ जना पक्राउ

लागुऔषध चरेस विदेश निर्यात गर्ने नौ जना पक्राउ



लागुऔषध चरेस विदेश निर्यात गर्ने नौ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेस, चरेस लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दीका ३६ वर्षीय श्यामप्रसाद रोका, ३५ वर्षीय वीरबहादुर रोकामगर, ४४ वर्षीय दिलबहादुर रोका, धादिङका ३३ वर्षीय अनिलबहादुर घले, २८ वर्षीय सुनबहादुर गुरुङ, २८ वर्षीय जितबहादुर तामाङ, ३६ वर्षीय कृष्णबहादुर तामाङ, नुवाकोटका ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ र ३४ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

कतार एयरवेजबाट गत भदौ २१ गते बिहान दोहा जान लागेका श्यामप्रसाद रोका र वीरबहादुर रोकामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट चार किलोग्राम ३५ ग्राम लागुऔषध चरेससहित पक्राउ गरी प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न दिलबहादुर रोका, अनिलबहादुर घले, सुनबहादुर गुरुङ, जितबहादुर तामाङ र कृष्णबहादुर तामाङ समेतलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता एस्पी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

साथै कतार पठाउन चरेस दिने उर्पा तामाङलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरी उनको कोठाबाट २३ थान हेन्डीक्राफ्ट र १६ थान डायरीमा लुकाई विदेश पठाउन तयारी राखेको चरेस तीन किलोग्राम ५७९ ग्राम, चरेसको पाता बनाउनको लागि प्रयोग गरिने औजारलगायतका सामानसमेत बरामद गरी उनीसँग चरेसको कारोबारमा संलग्न वीरबहादुर तामाङलाई भदौ ३० गते नुवाकोट विदुर नगरपालिका–९ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उर्पा तामाङ र वीरबहादुर तामाङले भारतीय नागरिकको संलग्नतामा भारत हुँदै हङकङ, थाइल्याण्ड, टर्कीलगायतका देशमा चरेस निकासी गर्दै आएको र पछिल्लो समय लागुऔषध मेथामफेटामाइनको धन्दासमेत गर्ने तयारी गरिरहेको तथा उर्पा तामाङ विसं २०५४ मा लागुऔषध हेरोइनसहित पक्राउ परी १९ वर्ष जेल सजाय भुक्तान गरी विसं २०७३ मा रिहा भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ताको भनाइ छ ।