अरुको नाजुक अवस्थालाई थप नाजुक बनाएर पैसा कमाउने सपना देख्नु आफैमा दुःखद् हो । तर मेडिकल माफियाहरूले औषधिको अत्याधिक प्रयोग, अनावश्यक जाँच र अप्रेशनलाई हिजोआज सामान्य झैँ बनाइदिएका छन् ।
- बबिता बस्नेत

दुई वर्षअघिको कुरा हो । शरीरमा अलि असहज जस्तो महशुस भयो । घरि-घरि रिङ्गटा लागेजस्तो, टाउकोपछाडिको भाग दुख्ने, जीउ सिरिङ्ग हुने, आँखा पनि धमिलो देखेजस्तो । खासै बिरामी नहुने मान्छे म, के भएको हो ठम्याउनै सकिनँ । टाउको नदुख्ने मान्छेको एक्कासी टाउको दुखेपछि ब्लडप्रेसर चेक गर्नु पऱ्यो भन्ने लाग्यो । प्रायः लो प्रेसर हुने हुनाले मानसिक रूपले तयार थिएँ तर लक्षण लो प्रेसर जस्तो भने थिएन । घरमै प्रेसर जाँचेपछि थाहा भयो प्रेसर निकै बढेको रहेछ । रातिको समय थियो र, बाहिर ठुलो पानी परिरहेकाले भोलिपल्ट डाक्टरकहाँ गइयो । डाक्टरले चेक गर्दा अघिल्लो दिनजस्तै प्रेसर उच्च थियो । स्वभाविकै रूपमा पहिला प्रेसरको औषधि खाएर अन्य जाँच प्रक्रिया सुरु भयो । मुटुमा ब्लड लिकेज देखियो । डा. साबले त्यो पुरानै समस्या रहेको तर थाहा नभएको बताउँदै औषधि लेखिदिनुभयो । ‘अब के हुन्छ ?’ उहाँले भन्नुभयो- ‘केही समयपछि स्वाँ-स्वाँ हुन्छ र रगत भरिएपछि अपे्रशन गर्नुपर्छ ।’ मुटुको अप्रेशन गर्नुपर्ने सुनेर कसलाई डर नलाग्ला ? तर मानिसको मृत्यु कुनै पनि बेला हुन सक्छ भन्ने मानसिक तयारीका कारण हुन सक्छ.. त्यत्ति डर लागेन ।
त्यसअघि कुनै पनि औषधि नियमित खानुपरेको थिएन । ओहो… अब त यात्रा गर्दा पनि औषधि बोकेर हिँड्नुपर्ने भयो भनेर नरमाइलो पनि लाग्यो । दुई दिनपछि महिला इन्जिनियरहरूको कार्यक्रममा पोखरा जानु थियो । संयोगले एयरपोर्टमा डा. प्रेमराज वैद्य भेटिनुभयो, विराटनगर जाँदै हुनुहुँदोरहेछ । हार्ट सर्जन उहाँलाई मैले सन् २०१४ मा श्रीलङ्कामा भेटेकी थिएँ । आफ्नो कुरा बताएपछि उहाँले ‘ए… यदि साँच्चिकै त्यो हो भने त अप्रेशन नै अन्तिम विकल्प हो, अप्रेशन मै गरुँला तर अझै कन्फर्म गर्नु’ भन्नुभयो । पोखरामा बिहान उठ्नै गाह्रो जस्तो भयो । होटेलमा भेट्न आएकी पत्रकार बैनी राधी कँडेललाई औषधि खान थालेपछि आफूलाई गाह्रो भएको बताएँ । उनले त्यहीँबाट डाक्टरलाई फोन गरिन् । डाक्टर सरोज पोख्रेलले हँसिलो अनुहारले स्वागत गर्नुभयो । सबै कुरा सुनेर औषधि हेरेपछि उहाँले ‘यत्रो औषधि खाएर तपाईं कसरी हिँडिरहनुभएको छ ?’ भनी जिज्ञासा राख्नुभयो । मैले केही दिनअघिसम्म आफू ठिक भएको बताउँदै कार्यक्रममा पहिल्यै प्रतिबद्धता जनाएकी थिएँ भनेँ । उहाँले कम डोजको औषधि लेखेर यो अहिले खानु र काठमाडौ गएपछि तुरुन्तै डाक्टर भेट्नु भन्नुभो । ‘हामी त यहाँको लेख पढ्छौँ’ भन्दै जाँचेको शुल्क पनि लिन मान्नुभएन । कुनै डाक्टरले जाँचेर पैसा नलिएको मेरो पहिलो अनुभव थियो । ब्यवसायिक मानिसले आफ्नो विज्ञताको पारिश्रमिक किन लिनुपर्छ भनेर तर्क पेश गर्दा पनि नलिएपछि धन्यवाद दिएर हामी हिँड्यौँ । काठमाडौं आएपछि डाक्टरले त्यही औषधि ठिक छ, सुरु-सुरुमा यस्तै हुन्छ भन्नुभयो । तर, आफूलाई भने झन्-झन् गाह्रो जस्तो भयो । कार्यालयमा साथीहरूसँग कुरा गरिरहेका बेला अर्थशास्त्री डा. रविन्द्र पाण्डेले यस्तो कुरामा त ‘सेकेण्ड ओपिनियन’ लिनुपर्छ भन्दै डा. ओममुर्ति अनिलको नम्बर दिनुभयो ।
पहिला पनि राम्रो डाक्टरले हेर्नुभएकाले डा. अनिलले पुरानो फाइल र आफ्नो जाँच हेरेर यस्तो त नहुनुपर्ने भन्दै तीन महिना हेरौँ भन्नुभयो । प्रेसरले हानेर नै यस्तो भएको हो भन्ने उहाँको भनाइ थियो । औषधि परिवर्तन भयो, हिँड्न सहज भयो र तीन महिनापछि हेर्दा पहिला भनेको कुरा होइनरहेछ भन्ने कन्फर्म भयो । अहिले म सम्झिन्छु, यदि पहिलाकै डाक्टरले दिएको औषधि खाइरहेको भए अहिले म के हुन्थेँ होला ? मेरो अवस्था कस्तो हुने थियो होला ? त्यही औषधिले अरु कति थरि रोग निम्त्याउने थियो होला ?
कतिपय अस्पतालमा यस्तो ब्यवहार गरिन्छ मानौँ बिरामी हुनेहरू पैसा राख्ने ठाउँ नपाएर अस्पताल पुगेका हुन् । सबै डाक्टर त्यस्ता छैनन्, सबै अस्पताल पनि त्यस्ता छैनन् तर आपतविपदका बेला मानिसले कुन अस्पताल सही कुन गलत छुट्याइरहन सक्दैन ।
केही दिनअघि निकटवर्तीको अस्पताल बसाइक्रममा झोलाभरी औषधि बोकेर बिरामीका आफन्तहरू वरतिर–परतिर गरेको दृष्यले आँखा बिझायो । डाक्टरहरूले यति धेरै औषधि लेखिदिने कि बिरामीको शरीर त औषधिको प्रयोगशाला जस्तो ! औषधिमाफियाले स्वास्थ्यकर्मीहरूलाई कमिशन दिएका कारण उनीहरूले लेखेकै कम्पनीको औषधि ल्याउनुपर्ने बाध्यता पनि हुँदोरहेछ । शिक्षण अस्पतालका औषधि पसलमा एक वर्षअघि यो विषयमा लामो कुराकानी गर्ने मौका पाएकी थिएँ । औषधि उही हो तर कम्पनी मिलेन अर्को ल्याउनुस् भनेर फिर्ता गरेको पनि देखेँ । सबै स्वास्थ्यकर्मी उस्तै छैनन् तर अस्पतालहरू यति धेरै भए कि तिनले आफूलाई चलाउनका लागि, पैसा कमाउनका लागि औषधिदेखि एम्बुलेन्ससम्ममा पैसाबाहेक अरु केही देखिरहेका छैनन् । बिरामीलाई दिनुपर्नेभन्दा बढि औषधि दिँदा तिनको स्वास्थ्यको अवस्था खस्किएर कहाँ पुग्छ भन्ने कुराको अनुगमन गर्ने न त कुनै निकाय नै छ न त कसैले आवाज उठाउने अवस्था नै । अलिकति कोलोस्टोरल देखिनेबित्तिकै औषधि दिने, त्यो औषधि खाएपछि सुगर हुने, सुगर भएपछि विभिन्न अङ्गलाई हान्ने । औषधि बिक्रीका लागि मानिसको जीवनसँग ठुलो खेलबाड भइरहेको छ ।
हामीकहाँ धेरै मानिसहरू रोगले भन्दा पनि गलत औषधिको प्रयोगले थप बिरामी पर्ने गरेका छन् । जसरी हुन्छ आफ्नो मान्छे ठिक होस् भन्ने चाहना सबैमा हुन्छ । डाक्टर र नर्स बिरामी र तिनका आफन्तका लागि भगवानसरह हुन्छन्, हुन् पनि । अस्पताल पुगेपछि उनीहरूले जे-जे भन्यो त्यही गर्नुको विकल्प हुँदैन । जे भएर गए पनि सबै कुराको ल्याब टेष्ट गर्नुपर्ने किन ? बिरामीले त प्रश्न गर्ने कुरै भएन, आफन्तले पनि सोध्ने गरेका छैनन् । कतिपय अस्पतालमा यस्तो ब्यवहार गरिन्छ मानौँ बिरामी हुनेहरू पैसा राख्ने ठाउँ नपाएर अस्पताल पुगेका हुन् । सबै डाक्टर त्यस्ता छैनन्, सबै अस्पताल पनि त्यस्ता छैनन् तर आपतविपदका बेला मानिसले कुन अस्पताल सही कुन गलत छुट्याइरहन सक्दैन । सरकारी अस्पतालमा ठाउँ नपाएपछि नीजि अस्पताल पुग्नैपर्ने बाध्यता छ । धेरैजसो नीजि अस्पतालहरू पैसा कमाउने उद्देश्यले मात्रै खुलेका छन् । अस्पतालका जाँच मेसिनहरूलाई जसरी पनि काम दिइरहनुपर्ने भएकाले गर्नै नपर्ने अवस्थामा पनि सिटी स्क्यानलगायतका अनावश्यक चेकअप हुने गर्छ । के भएको हो ‘एक्स-रे’मा स्पष्ट देखिएपछि सम्बन्धित औषधि चलाए हुन्छ तर निजी अस्पतालमा सबै कुरा स्पष्ट हुँदाहुँदै पनि पैसाका लागि सिटी स्क्यान गरिँदो रहेछ । अचम्म त के भने बिरामीका आफन्तसँग पैसा छ कि छैन, उनीहरूको आर्थिक अवस्था कस्तो हो भन्ने कुरासँग वास्ता गरिँदैन ।
मुटुको अप्रेशन गर्नुपर्ने सुनेर कसलाई डर नलाग्ला ? तर मानिसको मृत्यु कुनै पनि बेला हुन सक्छ भन्ने मानसिक तयारीका कारण हुन सक्छ.. त्यत्ति डर लागेन ।
केही समयअघि एक जना साथीको ब्रेस्टमा समस्या आउँदा उनलाई डाक्टरले सुरुमै मामोग्राम गर्न लगाए । त्यसअघि पनि उनले पटक-पटक गराएकी रहिछन् । खासमा अल्ट्रासाउण्डमा केही देखिएर कन्फ्युज भयो भने डाक्टरहरूले मामो गर्न लाउनुपर्ने हो । धेरै पटक गर्दा त्यसबाटै क्यान्सरको जोखिम हुने कुरा डा. अमिला श्रेष्ठले यो पङ्क्तिकारलाई बताउनुभएको थियो । पैसाका लागि अस्पतालमा सिटी स्क्यान, मामोग्राम, एमआरआई जस्ता कुराहरू अहिले सामान्य भएका छन् । केही अप्ठ्यारो परेर न्युरो अस्पताल जानेलाई सबैभन्दा पहिला एमआरआई गर्न लगाइन्छ । पहिला के भएको हो जानकारी नै नलिई एमआरआइ गराउनुको अर्थ पैसाबाहेक के हुन्छ ?
अरुको नाजुक अवस्थालाई थप नाजुक बनाएर पैसा कमाउने सपना देख्नु आफैमा दुःखद् हो । तर मेडिकल माफियाहरूले औषधिको अत्याधिक प्रयोग, अनावश्यक जाँच र अप्रेशनलाई हिजोआज सामान्य झैँ बनाइदिएका छन् । स्वास्थ्यक्षेत्रमा भएका विकृतिका बारेमा बेला-बेलामा आवाज उठे पनि अनुगमन संयन्त्र छैन । नागरिकप्रति सरोकार कुनै पनि मुलुकमा निःशुल्क हुनुपर्ने स्वास्थ्य र शिक्षा हो, तर हामीकहाँ यी दुवै कुरामा चरम आतङ्क, शोषण र बेथिति छ । त्यसैले औषधि खानुअघि मैले कस्तो औषधि खाइरहेको छु ? यति धेरै औषधि जरुरी होला ? विकल्पहरू केही छन् कि ? यसले के-के असर गर्न सक्छ ? के अप्रेशन र सिटीस्क्यान गर्नैपर्ने अवस्था हो ? जस्ता कुराहरूमा नागरिक आफै सजग हुन आवश्यक छ ।
प्रतिक्रिया