परराष्ट्रमन्त्री खड्काद्वारा शपथ

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ



राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिनुभएको हो ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित हुनुहन्थ्यो । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लाग्नुभएका उहाँले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुभएको छ । विसं २०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएका उहाँ २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य हुनुहुन्छ । विसं २०७० मा उहाँ सहरी विकास मन्त्री हुनुहुन्थ्यो भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार हुनुहुन्थ्यो । उहाँले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसक्नुभएको छ । राजनीतिक आन्दोलनका क्रममा काठमाडौँ र विराटनगरमा पटकपटक पक्राउ पर्नुभएका उहाँ विभिन्न समयमा पाँचपटक जेल पनि पर्नुभएको थियो ।

राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । अर्थशास्त्रमा विद्यावारीधि गर्नुभएका उहाँ नेपाली कांग्रेसको प्रभावशाली नेता मानिनुहुन्छ । उहाँ संविधानसभा पदकलगायत विभिन्न पदकबाट सम्मानित भइसक्नुभएको छ ।

तस्बिर रासस