नेताको अधिकार गल्ती गर्नु, जनताको कर्तव्य माफी दिनु !

नेताको अधिकार गल्ती गर्नु, जनताको कर्तव्य माफी दिनु !


एक रुमाल किन्दा पनि राम्रो छान्न एक घण्टा लगाउने जनता नेता छान्न एक सेकेन्ड पनि किन खर्च गर्दैन ? कटेरो बनाउने कालिगढ कत्तिको सिपालु छ भनेर खोजी गर्ने जनता देश बनाउँछु भन्नेसँग क्षमता छ छैन किन चासो राख्दैन ?
  • स्वयम्भूनाथ कार्की

राजश्व जनताको सम्पत्ति हो, यसको अहिलेजत्तिको दुरुपयोग त नेपालको इतिहासमा कहिल्यै भएको थिएन । दुरुपयोगको प्रमाण खोज्न मेहेनत गर्नै पर्दैन । हालका वर्षमा पहिलेकाले भन्दा ज्यादा राजश्व सङ्कलन गर्ने होड चलेको छ । जनताको आर्थिक अवस्था दयनीय भइरहेको बेलामा पनि राजश्व भने लक्ष्यभन्दा धेरै सङ्कलन भएको कुरा सगौरव प्रस्तुत गरिने गरिएको छ । जब जनतालाई लाभ दिने परियोजनामा लगानी गर्ने कुरा आउँछ तब खर्च धान्न नसक्ने रोदन सुन्नुपर्दछ । दातासँग हात पसारिन्छ, अनेकौँ अनुचित र मुलुकले दूरगामी दुष्परिणाम भोग्नुपर्ने शर्तमा विदेशी कम्पनीलाई सुम्पने होडबाजी चल्छ । यसको भार जनताले बोक्नु पर्दछ तर कमिसन लाभ भने नेताको हुन्छ ।

सबैजसो सरकारी कार्यालयमा अत्यधिक कर्मचारी छन् भनिन्छ । तिनलाई तलब-सुविधा दिन राजश्व बढाउनुपर्ने विवशता प्रदर्शन गरिन्छ । अनि कुनै काम मुलुक र जनताको हितमा गर्नुपर्‍यो भने जनशक्ति अभावको बहाना बनाइन्छ । त्यसपछि त विदेशीलाई कामको ठेक्का सुम्पने बाटो खुलिहाल्छ । कसैले यसो गर्नु हुँदैन भन्ने सल्लाह-सुझाव दियो भने हण्डी खाएका अनेकौँ संस्था, समुह र व्यक्ति छन् तिनको झाँको झार्न । बोलीमा अचम्म तरिकाले बन्देज छ, कसैले केही भन्न खोज्यो भने प्रश्न बर्सन्छ, उसँग त्यसको उत्तर भए पनि दिन भने पाउँदैन । एक वाक्य बोल्न नपाउँदै अर्को प्रश्न, आफ्नै व्याख्या शुरु हुन्छ ।

केही गरेर यी कुराहरू गलत सावित भयो वा जनआक्रोश बढ्यो भने माफी माग्ने ब्रम्हास्त्र तैयार छ । माफी मागिसकेको पनि हुँदैन अर्को त्यही प्रकारको गल्ती गर्न शुरु गरिसकिएको हुन्छ । सरकारको विरुद्धमा विरोध शुरु भए त्यही जनताको राजश्व खर्चेर गरेको दमनले केही जनताले प्राण त्याग्छन् । अनि सरकार शहीद घोषणा गरेर दश लाखको दरले राजश्वबाटै बुझाउँछ । आफ्नाविरुद्ध आन्दोलन गर्दा आफैंले प्राण हरेकाहरू शहीद हुन् भने शहीदको प्राण लिने खलनायक हुन् । यो विश्वले मानेको मापदण्ड हो, शहीदको प्राण हर्ने सत्तामा बस्न पाउँदैन, उसमाथि कानुनी वा जनअदालतमा कारवाही हुन्छ ।

तर नेताले माफी मागेपछि उ चोखिन्छ, फेरि गल्ती नदोहोर्‍याउने शर्तमा हैन थप गल्ती गर्ने जोश र जाँगरका साथ । यस्ता नेताहरूको विकल्प छैन भनेर बुद्धिजीवीमा दरिएकाहरू जनतालाई सम्झाउन थाल्छन् । जनता यति निरिह भएका छन् कि न उ नेतालाई केही भन्न सक्छ न यस्ता बुद्धिजीवीको मुखमा मोसो पोत्न नै सक्छ । उ केवल चुपचाप सबै कुरा सहन विवश छ । नेपालमा अब एक्लो नाता भएर बाँच्न सक्ने अवस्था छैन । कुनै समुहसँग टाँसिन पाएर वा शक्तिकेन्द्रको चाकरी गर्न पाएर आफ्नो सामुन्ने ठालु भएका उदाहरण जनता देख्दैछन् । आफ्नो वा सन्ततिको भविष्य दिगोरूपमा सुरक्षित गर्न आवाज उठाउनु जनतालाई कठिन काम लाग्न थालेको छ । बरु आफू पनि त्यसै गरेर सहज जीवनयापन गर्नेतिर लाग्छ ।

हिजोसम्म तन्नम अवस्थामा भएका वर्तमान नेताहरू जनताको रगत पसिनाबाट जम्मा भएको राजश्वले सम्पन्न भएका छन् । विश्वमा गरिव जनता भएको मुलुकका नेताहरू भने सम्पन्न छन् । बैठक गर्न तारे रिसोर्ट अवतजावत गर्न करोडौँ पर्ने गाडीहरूको ताँती, सुरक्षाको निमित्त सैकडौँ सुरक्षकर्मीको ताँती नेपाली नेताको परिचय हो । सिंगापुर, थाइल्याण्ड अमेरिका, जापान जस्ता मुलुकमा वर्षमा दुईचार चोटि ओहोरदोहोर सामन्य जीवनशैली भएको छ । रुघाखोकीको उपचार गर्न पनि एयर एम्बुलेन्स, विदेशका महँगा अस्पताल नभइ हुँदैन । यत्तिको राजशी जीवनशैलीले त विश्वको औंलामा गन्न सकिने धनीलाई पनि इष्र्या गर्न विवश बनाउँछ ।

यो सब हुनाको कारण केवल एक छ, त्यो हो- जनताले आफ्नो विवश कर्तव्य सम्झेर लगातार दिने गरेको माफी । जबसम्म जनताले भो अब पुग्यो माफी भन्दैन तबसम्म यो क्रम रोकिँदैन । बुझ्नै नसकेको कुरा त यो छ कि आफ्नो काम गर्नेले काम बिगारेको अवस्थामा हतपति माफी नदिने जनता राष्ट्र बिगार्नेलाई हमेसा माफ कसरी गर्छ ? एक रुमाल किन्दा पनि राम्रो छान्न एक घण्टा लगाउने जनता नेता छान्न एक सेकेन्ड पनि किन खर्च गर्दैन ? कटेरो बनाउने कालिगढ कत्तिको सिपालु छ भनेर खोजी गर्ने जनता देश बनाउँछु भन्नेसँग क्षमता छ छैन किन चासो राख्दैन ? अब नेताहरूलाई माफी हैन सजाय दिने बेला भएन र ?