खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दशैँका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ ।
दशैँका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैँमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भए तापनि यसवर्ष खसी/बोका मात्र बिक्री हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउने निर्णय भएको हो । एक हजार च्याङ्ग्रा ल्याउने निर्णय अनुसार हामीले तयारी थालिएकोमा कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बत्बाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर नल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले गत वर्षको दशैँमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै बिक्री वितरण गरेको थिएन ।
मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने तयारी पूरा भएको जनाइएको छ । दाङबाट एक हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने तयारी भएको र आवश्यकता अनुसार थप खरिद गर्ने सूचना अधिकारी न्यौपानेको भनाइ छ । दुई जिल्लाबाट ल्याइएको खसी तथा बोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातीको दिनबाट बिक्री सुरु गर्ने जनाएको छ ।
कम्पनीले दशैँका लागि प्रति किलो खसी तथा बोकामा रु दश छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रु पाँच तथा भटमासको तेल र कर्णीको सिमिमा रु १० छुट दिएको छ ।
प्रतिक्रिया