सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको शीर्षनेता सहभागी भएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भने बैठक बहिष्कार गरेको छ । माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट कारबाही गरी पत्र पठाउँदा पनि सभामुख अग्नि सापकोटाले निर्णय कार्यान्वयन गरी सूचना टाँस नगरेको भन्दै एमालेले चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेका छन् ।
प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीका अनुसार बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया