बिहीबारको एक सार्वजनिक मन्तव्यमार्फत् आफू आत्महत्या गर्ने कि के गर्ने भन्ने खालको बिलखबन्दमा परेको आशय प्रकट गरेका नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शुक्रबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा आफू यतिबेला नयाँ खालको जनयुद्धको खोजीमा लागेको खुलासा गरेका छन् ।
‘जनयुद्ध’को स्मरणमा लेखिएको गीतिसंग्रह ‘सपनाको पाण्डुलिपी’को विमोचन कार्यक्रममा प्रचण्डले विभिन्न घटकमा विभक्त भएका माओवादी पार्टी र जनयुद्धका सहकर्मीहरु साझा सहकार्यका लागि एकजुट हुनुपर्ने धारणा राखे ।
एकअर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गर्दै उनले आफूले तत्कालीन नेकपा (एमाले)सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएकोले त्यसबाट प्राप्त ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको बताए । केपी ओलीसँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको उनको जिकिर थियो ।
माओवादी आन्दोलनमा सहभागी सबै नेता तथा कार्यकर्ताहरू एकआपसमा मिलेर जाने प्रयास भइरहेको भन्दै उनले त्यसका लागि सकारात्मक वातावरण बनाउन सम्बद्ध सबैलाई आग्रह गरे।
आफूले जनयुद्धको क्रममा क्रान्ति छल्छु भनेर कहिल्यै नसोचेको तर दुश्मनले अवरोध गरेको बाटो छल्दै जाँदा अहिलेको स्थानमा आइपुगेको तर्क गर्दै प्रचण्डले भने- ‘मेरो प्रयास इमान्दार थियो । कुनै गलत नियत राखिएको थिएन किनकि मैले क्रान्ति छाडेको छैन ।’
वर्तमान निर्वाचन प्रणाली र शासकीय प्रणालीलाई गलत प्रणालीको संज्ञा दिँदै उनले वामपन्थी तथा माओवादी घटकहरू मिलेर जनतालाई परिचालन गर्ने हो गलत प्रणाली परिवर्तन गर्न सकिने बताए । उनले भने, ‘अहिले नै हतियार बोक्ने र भूमिगत हुने त मैले सोचेको छैन, तर नयाँ खालको जनयुद्धको खोजीचाहिँ गर्नु छ।’ यो प्रतिक्रियावादीले यसरी नै हेप्ने हो हामीलाई, यसरी नै घेरा हालेर सखाप पार्ने हो भने लाखौँ जनता लिएर सडकमा हामी मिलेर उत्रिने हो भने अहिले पनि यस्ता यिनीहरुको दलाल पुँजिपतिका निर्वाचन प्रणालीहरुलाई ध्वस्त पारिदिन सकिन्छ।’
माओवादी आन्दोलनलाई भ्रष्टीकरण गर्ने र त्यसको बलमा स्थापित भएको धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व उल्ट्याउने ध्येयका साथ प्रतिनिधिसभाको विघटन गरिएको उनको आरोप थियो ।
file photo
प्रतिक्रिया