माओवादीको कथित ‘जनयुद्ध’मार्फत एकातिर हातहातमा बाइबल पुऱ्याइयो भने अर्कोतिर ‘धर्म अफिम हो’ भन्दै नेपालको वैदिक सनातन परम्परालाई नष्ट गरियो ।
- काशी पौडेल ‘आयुष’
भनाइमा त ‘क्रान्ति र आन्दोलनले तानाशाही ब्यवस्था ढालेर नयाँ परिवर्तन ल्याइएको’ भन्ने छ । देशको आर्थिक विकास, समृद्धि तथा जनताको जीवनमा भने रत्तिभर परिवर्तन भएको छैन । परिवर्तन केलाई भनियो वा क्रान्तिको उद्देश्य के थियो ? देशका दूरदराजका भुइँमान्छेलाई यसबारे न जानकारी छ न त सरोकार नै ! परिश्रम गरेर दैनिकी चलाउनेलाई तन्त्र वा वादको आभाससम्म छैन । तर, क्यापुचिन मिसिनरीका मिसनको भूमिका र तिनै मिसनको योजनामार्फत राजनीति गर्नेको जीवनमा भने परिवर्तन गज्जबले आएको छ ।
सायद ! अचेल आम भुइँमान्छेको मनमा खेल्ने कुरा भनेकै १२बुँदेका मतियारहरूले कार्यकर्तालाई जनयुद्ध, वाद र तन्त्रका नारा घोकाउँदै जनतासामु एक थान आदर्शका भाषण छाँट्नु, गाउँ-गाउँमा मन्दिर भत्काएर, गुठी मासेर चर्च बनाउनु र नेता नवसामन्त बन्नुलाई परिवर्तन भनिन्छ होला भन्ने हो । नेता-कार्यकर्ताको जीवनमा आर्थिक समृद्धिले अग्रगामी छलाङ मार्दैमा कुनै तन्त्र र वाद आयो भनेर हामी जस्ता भुइँमान्छेले स्वीकार्न सकिँदैन ।
देशका युवा विदेश भासिएका छन् । जनताहरू वैदेशिक ऋणले थला परेका छन् । खेतबारी बाँझो छाडेर शहर भासिनु वा अर्बौंको खाद्यान्न किनेर खानुलाई परिवर्तन भनिन्छ ?? नेपालीको सिधा मगजले ठम्याउन सकस पर्छ । यति हुँदा पनि दलका नेता, मिडियाकर्मी, कथित नागरिक अगुवा वा अभियन्ताहरूले जनतालाई अनेकौँ झुट बोल्दै परिवर्तनको रटान लगाउन भने छाडेका छैनन् ।
नेपालमा कुनै पनि राजनीतिक परिवर्तन जनताको स्वविवेकले गरिएन । अर्थात्, देशभक्त, जनताको मतमतान्तर बुझेर त्यसअनुरुपमा ढालिएन । त्यसैले त २००७ सालदेखि हरेक दस–दस वर्षमा देशले परिवर्तनको नाममा आर्थिक, सामाजिक र भौगोलिक क्षति ब्यहोर्नुपरिरहेको छ । हरेक आन्दोलन इन्डोपश्चिमी रणनीति (विदेशी मिसिनरीको) स्वार्थअनुरुप हुँदै आएको छ ।
मल्लशासनदेखि राणाको शासन हुँदै हालसम्म आइपुग्दा नेपाली जनताको सोझोपनलाई राम्रैसँग बुझेका पश्चिमी मिसिनरीले आफ्नो स्वार्थअनुरुप राजनीतिक दल खडा गर्दै, उनका एजेन्डा घोकाएर नेपालीलाई बलीको बोका बनाउँदै आएका छन् । जयस्थिति मल्लको पालामा इन्डियन मिसिनरीको प्रतिनिधित्व गर्दै नेपाल भित्रिएर चार जात १८ बर्णमा विभाजन गरेको मिसिनरीले रणजित मल्लको पालामा आइपुग्दा सत्यसाक्षी परमेश्वरीय महिमा भन्ने चर्च स्थापना गर्दै भक्तपुरलाई केन्द्र बनाएर धर्मान्तरण गराउन सफल भएका थिए । पृथ्वीनारायण शाहले राज्य विस्तारको क्रममा मल्लराज्य (उपत्यका) जितेपछि विदेशी मिसिनरीलाई देश निकाला गर्न सफल भएका थिए । अधर्मी पश्चिमासँगै देश छाडेका उपत्यकाका इसाईहरू इन्डियाको बेतिया गएर बसोबास गरेको इतिहास हामीसामु छ । बेतिया गएर बसेका इसाईका सन्तानमध्येका एक गंगाप्रसाद प्रधानलाई मिसिनरीले नेपाली समुदायमा इसाईकरण गर्न प्रयोग गरेको र ती पात्र सिक्किम, दार्जिलिङ हुँदै वि.सं. १९१४ मा आफ्नो परिवारका साथ नेपाल भित्रिएका थिए । उनले खासगरी उपत्यकालाई आधार बनाएर पराया धर्म प्रचारप्रसार गरेको पाइन्छ । इसाइ मिसिनरीहरूले पृथ्वीनारायण शाहको राज्य एकीकरणलाई लिएर नेवार समुदायमा गलत तथ्य प्रचार गरी इतिहास, परम्पराप्रति घृणाभाव जगाउँदै धर्मान्तर गराएका जानकारहरू बताउने गर्छन् । हालसम्म त्यही कार्य निरन्तर चल्दै आएको छ । पछिल्लो आन्दोलनमा पृथ्वीनारायण शाहको शालिक भत्काउनु, १७ धार्नीबराबरको नाक काटेको गलत इतिहास घोकाउनुको रहश्य पनि त्यही मिसनसँग जोडिएको छ ।
मिसिनरी डाक्टर जेम्स डिक र जिल कुक लगायतको समुहले पोखरा, स्याङ्जा, नेपालगञ्ज, ओखलढुङ्गा लगायत पुर्वी नेपालमा जनजातिलाई प्रलोभनमा पारेर धर्मान्तरण गरेको पाइन्छ । युनाइटेड मिसन टु नेपाल भन्ने संस्थाले २००७ सालको परिवर्तनमा पर्दापछाडिबाट अहम् भूमिका खेलेको थियोे । त्यसपछि काङ्ग्रेसको सरकार बनेपछि लगातार नेपाली संस्कार संस्कृति र मौलिकतालाई मास्ने र जनजाति, दलित तथा विपन्न वर्गलाई ध्यानमा राखेर धर्मान्तर गर्दै आएको पाइन्छ । जब पञ्चायतको घोषणापछि धर्मान्तरलाई अपराध मान्दै कानुनतः बन्देज लगाइयो र, राजा महेन्द्रको सरकारले कानुन नै बनाएर यदि कसैले धर्म परिवर्तन गऱ्यो भने ६ साल जेल वा तीन हजार रुपैयाँ जरिवाना तिराउने नियम बसाएपछि इसाई मिसिनरीको मिसनमा ठूलो धक्का लाग्यो । हुन त महेन्द्र राजाको मृत्युमा मिसिनरीको हात छ भन्नेहरू पनि छन्, तर पङ्क्तिकारले ठोस प्रमाण जनिने तथ्याङ्क भने फेला पारिसकेको छैन । ०४६/४७ सालको आन्दोलन मिसिनरीकै मुताविक भएको थियो । बहुदल आएलगत्तै ४२० जना विदेशी र दुई हजार जना नेपाली इसाई मिसिनरीको जागिरे भएर वैदिक सनातन, पूर्वीय दर्शनलाई बदनाम गर्दै इसाई बनाउन अहम् भूमिका खेलेका थिए । यस्तै नेपालीमध्ये गोपाल गुरुङ, डोरबहादुर बिष्ट, केबी रोकाय, माधवकुमार नेपाल, बाबुराम भट्टराई, साइमन पाण्डे, फादर शर्मा, फादर लामिछाने, खगेन्द्र सङ्ग्रौला, सिके लाललगायतका लेखक लगायत केही निजी मिडिया/टेलिभिजनको पनि नाम लिने गरिन्छ ।
नेपालमा धर्म परिवर्तनमा क्यापुचिन पादरीहरूको युनाइटेड मिसन टु नेपाल नामक संस्थाले मुख्य भूमिका निभाएको छ । नेपालमा प्रमुखतः इवान्जेलिकल, प्रोटेस्ट र क्याथोलिक इसाइहरूको दबदबा रहँदै आएको छ । जनजाति, दलित, महिला, पिछडिएका वर्ग र दूरदराजमा रहेको बस्तीमा सिधा लगानी गर्ने मिसिनरीहरूले गरिवी, अशिक्षा, भौगोलिक विकटता भाषिक समस्या जटिल छ भन्ने राम्रोसँग बुझेका पश्चिमा मिसिनरीहरूले २००४ सालदेखि अमेरिकी काङ्ग्रेस र जर्मनी, कम्युनिस्टको भुत सवार गराएर कम्युनिस्ट र काङ्ग्रेस लगायतका दल खडा गराइदिएर राम्रैसँग परिचालन गरेको पाइन्छ । ०१७ सालदेखि ०४६ सम्म रोकिएको धर्मान्तरण पश्चिमा पैसा लिएर राजनीति गर्ने र उतैबाट प्रशिक्षण लिएका नेताहरूमार्फत०४६/४७ सालको आन्दोलन गराएर बहुदलीय ब्यवस्था ल्याएसँगै धर्मान्तरणलाई तीव्र पारियो र, नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर इसाइकरण गर्न माओवादी नामको ‘शङ्कास्पद समूह’लाई प्रयोगमा ल्याउने काम भयो । तिनै माओवादीको कथित ‘जनयुद्ध’मार्फत एकातिर हातहातमा बाइबल पुऱ्याइयो भने अर्कोतिर ‘धर्म अफिम हो’ भन्दै नेपालको वैदिक सनातन परम्परालाई नष्ट गरियो । कयौँ पुजारीको हत्या गरियो भने मन्दिर र गुठी तोडफोड गरियो, गराइयो । मन्दिर हैन स्कुल र अस्पताल खोल, मुर्ति पुजा गरेर हुँदैन भन्दै फलाक्ने काङ्ग्रेस तथा कम्युनिस्टहरू दिनहुुँ इसाईले गाउँ गाउँमा पुगेर आर्थिक प्रलोभनमा पार्दै धर्मान्तर गर्दा आवाज उठाउन सक्दैनन् । गणतन्त्र आएको १५ वर्षको अवधिमा देशभर १५ हजार भन्दा बढी चर्च बन्दा चुइँक्क बोल्न सक्दैन । वैदिक सनातन धर्मले नारीको अधिकारलाई वञ्चित गऱ्यो भन्दै अधिकारका कुरा गर्दै राजनीति गर्नेहरू मुस्लिम महिलाको बुर्काभित्र बन्देज दैनिकीको बारेमा चुइँक्क आवज निकाल्दैनन् ।
मुस्लिमकै बारेमा कुरा गर्दा गणतन्त्र स्थापनादेखि हालसम्म ५० हजार गैरनेपाली मुस्लिम (रोहिङ्ग्या, इन्डियन, पाकिस्तानी, अफगानिस्तान, र बङ्गालीले) नेपाली नागरिकता लिइसकेका छन् । वास्तवमा भन्नुपर्दा प्रदेश नम्बर २ का आठ वटा जिल्लाका साथै तराईका भेगमा मदरसाको आडमा पाकिस्तानी, अफगानी मुल्लाहरूको बिगबिगी नै छ । त्यस्तै पहाडी जिल्लामा पनि बिस्तारै-बिस्तारै मुस्लिम प्रभाव बढेको छ । नेपालमा ३८० एनजीओले धर्म परिवर्तन गराउन वार्षिक ५३ करोड अमेरिकी डलर खर्च गर्दै आएको तथ्यांक छ । त्यस्तै हालसम्म ११ हजार विदेशी (इसाई, मुस्लिम) आएर नेपालमा मुस्लिम र इसाई धर्म प्रचारप्रसार गरेको देखिन्छ । हिमालयन मिसनदेखि लिएर सिविन बाल संस्थालाई समेत इसाई मिसिनरीद्वारा संचालन गरिएको बताइन्छ । कुनै पनि देशलाई आफ्नो पकटमा पार्न शिक्षा र राजनीतिमा लगानी गर्नुपर्छ भन्ने बुझेर नै इसाईले नेपालमा १,३०० विद्यालय खोलेका छन् । मदरसाको संख्या कति छ भन्ने केन्द्र सरकारसँग तथ्यांक छैन । प्रदेश र स्थानीय सरकारसँग पनि यथार्थ लेखोट रहेकोे पाइँदैन । मिसिनरीले नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी विदेश पढ्न पठाउने र पिएचडी डाक्टर सर्टिफिकेट थमाएर नेपालमा मिसिनरीको एजेन्डामा राजनीति गर्न पठाउने गर्दछन् । हिमालयन चर्चले नेपालमा जातिय द्वन्द्वको बिजारोपण गर्दै राजनीति गर्ने ‘एमएनओ’ (मंगोल अर्गनाइजेसन) र मस्टो नामको संस्थामा भरपुर लगानी गर्दै आएको छ । जनजाति, शिल्पी विपन्न वर्ग खस-क्षत्रीलाई अहिन्दु भन्दै बहकाउमा इसाइकरण गर्न मरिमेटेर लागिपरेको छ । चितवनको इमानोल चर्चले प्रतिव्यक्ति ३,००० रुपैयाँ मासिक खर्च दिँदै उनका सन्ततिलाई निजी विद्यालयमा पढाइदिने सर्तमा इसाई बनाएको घटना बाहिरिएको छ । यो त एउटा प्रतिनिधि-घटनालाई उदाहरणको रुपमा प्रस्तुत गरिएको मात्र हो । यस्ता गतिविधि नेपालभर कति छन् कति !
गैरसरकारी संघसंस्था र राजनीतिक दलका कारण दिनहुँजसो कृश्चियन र मुस्लिमको संख्या बढ्दो छ । बोन, किराँत, हिन्दु बुद्धिष्ट (वैदिक सनातनीको) संख्या भने घट्दै गइरहेको छ । मिसिनरीको योजनामा हत्याहिंसाको जगमा टेकेर ल्याइएको परिवर्तनले नागरिकमा धार्मिक वैमनस्यता बढ्दै गयो । इतिहास, पहिचान, मौलिकता साथै मानवीय धर्म नासिएकोले समाज अराजक हुँदै गएको छ । यिनै समस्यालाई मध्यनजर गरी हाम्रो वैदिक सनातनी (पूर्वीय सभ्यता) जोगाउन पुनर्जागरण अभियान चलाउने १,१३४ संघ/संस्था खोलिएको छ । यतिका संघहरू हामी सबै नेपाली एकै हौँ भन्दै छुवाछुतरहित संस्कार निर्माण गर्न प्रतिबद्ध हुनुको विकल्प छैन । तर समाज परिवर्तन, स्वधर्ममा फिर्ता अथवा संस्कार-संस्कृतिको जगेर्ना गर्न योजना बनाएको भएपनि समाजमा देखिने गरि कुनै उल्लेख्य कार्य भने भएको पाइँदैन । पदीय लोभ वा ब्यक्तिगत समस्याको कारण हो, सांगठानिक एकता हुन सकिरहेको छैन । सम्पुर्ण वैदिक सनातनीहरू समस्या समाधानतिर लाग्नुको साटो एकआपसमा आरोप-प्रत्यारोपण गर्दै प्रतिवादमा उत्रेको पाइन्छ ।
सबै नेपालीलाई नेपालीत्वको भावना जगाउन, पूर्वीय सभ्यताको जगेर्ना गर्न, धर्मान्तरण रोक्न प्रतिबद्धता जनाउने हो भने छुवाछुतमुक्त समाजको निर्माण गर्दै सम्पुर्ण सनातनीहरू एकजुट हुनुको विकल्प छैन । एनजीओ/आइएनजीओको विस्थापन वा एकद्वार प्रणालीको नियम बसाउनै पर्छ । यदि समयमै चेत खुलेन र यही मिसिनरीको मिसनलाई परिवर्तन आयो भन्दै ताली बजाएर बसियो भने भोलिको दिन कतिपय अफ्रिकी मुलुकको जस्तै भयावह हुने निश्चित नै छ । विदेशीहरूले नेपाली-नेपाली लडाएर आफ्नो मिसन पूरा गर्नेछन् । मिसिनरीका एजेन्डा बोक्ने खराब ब्यक्ति र तिनले चलाएको राजनीति नामको मिसनले जातिय, क्षेत्रीय, भाषिक, धार्मिक युद्ध अवश्य निम्त्याउने छ । गौतम बुद्धको शान्तिभूमिमा बाह्य शक्ति हाबी हुन भाइभाइमा द्वन्द्व निम्तिनु, मौलिकता, इतिहास, पहिचान मेटिँदै जानु, मान्छेमा मानवीय गुण हराउनुका साथै नेपाली नेपालीबीचमा जातिय र धार्मिक युद्ध हुनुलाई परिवर्तन आयो भन्दै सहजै स्वीकार्दा नेपाल र नेपालीको पहिचान नै मेटिने निश्चितप्रायः प्रतीत हुँदैछ । बेलैमा चेतौँ, भावी पुस्ताले हामीलाई सराप्नुपूर्व नै नेपालीमा सतबुद्धि आओस् । नेपाली हामी रहौँला कहाँ नेपालै नरहे… ?
जय मातृभूमि !
प्रतिक्रिया