- डम्बर निदाल, डडेल्धुरा
नेपाली कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसका केन्द्रिय शीर्ष नेताहरू आउने भएका छन् । केन्द्रिय सदस्य डा. शेखर कोइराला, अर्जुननरसिंह केसी र गुरुराज घिमिरे आइतबार डडेल्धुरा आउने कार्यक्रम रहेको नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराका उपसभापति करुणाकर भट्टले जानकारी दिए ।
क्रियाशील सदस्यता विवाद कायमै रहेको अवस्थामा भदौ २५ गते एकलौटी रूपले गरिएको वडा अधिवेशन खारेजको माग गर्दै पार्टी कार्यालय किशुनजी भवनमा यही असोज ७ गतेदेखि नेता कार्यकर्ता रिले अनशन बसेका छन् । अनशन शुरु गरेको शनिबार १० दिन भइसकेको छ । पार्टीका केन्द्रिय सभापति देउवाले हस्तक्षेप गरेर अवैधानिक वडा र पालिका अधिवेशन गराएको भन्दै अधिवेशन बदर गरी नयाँ मिति तोक्नुपर्ने माग राखेर जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले रिले अनशन थालेको हो ।
‘हामीले क्रियाशील सदस्यताको विवाद सुल्झाएर पुनः वडा अधिवेशनको माग गर्दै पार्टीसभापति र केन्द्रिय निर्वाचन समितिसमक्ष निवेदन दिएर अनशन थालेका हौँ । तर उताबाट कुनै प्रतिक्रिया आइरहेको छैन । केन्द्रिय सभापति र निर्वाचन समिति बेखबरजस्तै बनेको छ, सोही कारण केन्द्रिय नेताहरू अनशनमा एक्यवद्धता जनाउँदै सम्बोधन गर्न डडेल्धुरा आउन लागेका हुन्’- उपसभापति भट्टले बताए ।
आइतबार दिउँसो १ बजे पार्टी कार्यालयमा अनशनरत नेता-कार्यकर्ताहरूसँग भेटघाटपछि बसपार्कमा विशाल सभा गरिने उनले जानकारी दिए ।

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानविन समितिले जिल्ला सभापति कर्णबहादुर मल्लकी आमालगायत ४ सय ६० जनाको नाम हटाइदिएको आरोप मल्लपक्षले लगाएको छ । यसैगरी आफूअनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवाद सृजना भएको जिल्ला सभापति मल्लले बताउँदै आएका छन् ।
यता देउवानिकट पक्षले भने जिल्लासभापति मल्लले केन्द्रमा नाम पठाउँदा नै अन्याय गरेको आरोप लगाउँदै आएका छन् भने निर्वाचन समितिका प्रतिनिधिले वडा तथा पालिका अधिवेशन नै वैधानिक भएको जिकिर गरिरहेका छन् ।
प्रतिक्रिया