कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी विजयी

कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी विजयी



नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । कांग्रेस काठमाडौं महानगरपालिकाको आइतबार भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी भएका हुन् । शाक्यका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिएका छन् ।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य विसं २०७४ मा सम्पन्न काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत हुन् ।

यस्तै, दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत केसीले जानकारी दिए ।

लामो समयपछि भएको काठमाडौं महानगरपालिकाको निर्वाचनमा एक हजार ३३९ मत खसेको थियो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौंको मतदान भएको थियो । काठमाडौं महानगरपालिका देशभरिकै जनसङ्ख्याका दृष्टिकोणले सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा ३२ वडा रहेका छन् ।

यसअघि काठमाडौंको सात निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिएका छन् ।