हाम्रो पुस्ताले चिनेको ‘राजा महेन्द्र’

हाम्रो पुस्ताले चिनेको ‘राजा महेन्द्र’


इतिहासको खलपात्रको रूपमा चित्रण गरिए पनि, आफ्नै स्वार्थ पूरा गर्नको लागि होस् या अन्य कुनै कारणले, राजा महेन्द्रले देशको लागि गरेको योगदान निकै ठूलो छ र यसलाई पूर्णरूपमा निषेध गरेर उनलाई इतिहासको खलनायकको रूपमा चित्रण गर्न खोज्नु सरासर गलत हो ।
  • डा. राजु अधिकारी


राजा महेन्द्रको निधन हुँदा पङ्क्तिकारको पुस्ता जन्मने तर्खरमा पनि थिएन । त्यसैले महेन्द्र कस्ता थिए, उनको शासनकाल कस्तो थियो भन्ने कुरा हामीले पढेर र सुनेर मात्र जान्ने कुरो हो । पञ्चायतकालमा राजाको गुणगान गर्ने शिक्षा पाएर हुर्केका हामीलाई महेन्द्रले गरेका ‘महान्’ कामहरू घोक्न लगाइयो अनि त्यहीअनुसार हाम्रो पहिलो सोच बन्यो । तर प्रजातन्त्र आएपछि त्यो सोचमा अलिकति धक्का लाग्न शुरु गऱ्यो । राजाहरूको बारेमा खुलेर कसैले विरोध गर्न नसके पनि महेन्द्रले गरेका ‘कुकृत्य’हरूको बारेमा हामीले सुन्ने र पढ्ने मौका पायौँ । गणतन्त्र आएपछि त झन् महेन्द्र भनेका नेपाल बिगार्ने मुख्य खलनायक नै हुन् भन्ने प्रचार गरियो र अझै पनि गरिँदै छ । पुष १ गतेको मौका पारेर विभिन्न पत्रपत्रिकामा आएका लेखहरू पढ्दा एकतर्फीरूपमा महेन्द्रलाई दानवीयकरण गरेको देखिन्छ । त्यसैले विगत तीन दशकमा महेन्द्र हाम्रालागि महान् नायक हुँदै महान् खलनायक पनि बन्न पुगे । तर कुनचाहिँ सत्य हो त- उनी नायक थिए या खलनायक ? हामीले कसको कुरामा विश्वास गर्ने ? हाम्रो पुस्ताको लागि वास्तविकता पत्ता लगाउन कठिन छ, त्यसैले पढेर र सुनेर पाएका जानकारीहरूलाई केलाएर आफ्नो मत बनाउनु नै हाम्रो पुस्ताको बाध्यता हो ।

मेरा बुबाले महेन्द्र र बीपी दुवैलाई महान् मान्नुहुन्थ्यो, दुवैको तारिफ गर्नुहुन्थ्यो र उनीहरूले गरेका सुधारहरूको बारेमा हामीलाई ‘कहानी’ सुनाउनुहुन्थ्यो । ०४६ सालमा प्रजातन्त्र आएपछि उहाँ कृष्णप्रसाद भट्टराईको ‘भक्त’ हुनुभएको थियो । तर उहाँले प्रजातन्त्र स्थापना हुनुभन्दा धैरै पहिलेदेखि नै गिरिजालाई मनपराउनुहुन्नथ्यो । त्यसैले मेरो बालमस्तिष्कमा पनि कृष्णप्रसाद र बीपी महान् लाग्थे अनि गिरिजा तुच्छ । मैले राजनीति बुझ्न थालेपछि गिरिजाको तुच्छता र भट्टराईको महानता स्वयम्ले देखेँ र भोगेँ । त्यसैले महेन्द्रको बारेमा मेरो बुबाको विश्लेषणलाई ठिक मान्न मलाई कर लाग्यो । तर एउटा विश्लेषण ठिक हुँदैमा सबै ठिक भन्ने पनि भएन । त्यसैले अलि ठूलो भएर बुझ्ने भएपछि बुबाको कुरा मात्र सही मान्नुभन्दा मैले आफूले नै विश्लेषण गर्न थालेँ ।

महेन्द्र एक कुशल, राष्ट्रवादी र अत्यधिक महत्वाकाङ्क्षी राजनीतिज्ञ थिए । आफू नेपालजस्तो सानो, अपरिचित, अविकसित देशको राजा हुनुपर्दा उनलाई सायद लघुताभाष थियो र त्यही लघुताभाषलाई अन्त्य गर्न उनले संसारमा आफ्नो उपस्थिति देखाउन चाहन्थे ।

तर अरुले लेखेका इतिहासका किताब पढ्ने अनि अरुले भनेका कुराहरू सुनेर आफ्नो धारणा बनाउनुभन्दा मसँग अरु विकल्प थिएन । इतिहास जित्नेहरूले लेख्ने गर्छन् भनिन्छ । निःसन्देह, कल्पना गर्न सकिन्छ कि महेन्द्र शक्तिमा हुँदा उनले इतिहास बङ्ग्याउन खोजे भने पञ्चायतको पतनपछि उनका विरोधि सत्तामा हुँदा उनीहरूले पनि इतिहास बङ्ग्याउन खोजे । त्यसैले महेन्द्र शक्तिमा हुँदा लेखिएका पुस्तक र महेन्द्रका विरोधिहरू सत्तामा हुँदा लेखिएका पुस्तक दुवैलाई पूर्णरूपमा विश्वाश गर्न सकिँदैन । नेपालीमा उखान छ- कुरो र कुलो जता लग्यो उतै लाग्छ । त्यसैले हामीले ‘इतिहास’ भनेर मानेका ती पुस्तकहरू गणित या विज्ञानमा आधारित तथ्यपरक कुरामा हैन व्यक्तिगत अनुभव र व्यक्तिगत विचारको आधारमा लेखिएका हुन्, हामीजस्ता पाठकहरूले पढ्दा जुन किताब पढ्यो त्यही किताब नै तार्किक लाग्छ । ती पुस्तकहरू पढ्दा थाहा हुन्छ कि ती सबै पुस्तकहरू इतिहासका पुस्तक नभएर व्यक्तिगत अनुभव, कुण्ठा र पूर्वाग्रही रूपमा लेखिएका हुन् । त्यसैले ती किताबहरूमा उल्लेख गरिएका केही कथनलाई आधा मानेर आफ्नो धारणा बनउनु सरासर गलत हुनेछ तर तिनमा लेखिएका घटना र अनुभवलाई केलाउँदा आफ्नो धारणा बनाउन सजिलोचाहिँ हुन्छ ।

महेन्द्रका विरोधीहरूले महेन्द्र नभएको भए देश अहिले स्वर्ग नै हुने थियो भन्ने कल्पनाको तर्क अघिसार्छन् भने महेन्द्रका समर्थकहरूले महेन्द्र नभएको भए नेपाल भन्ने देश नै ‘स्वर्गिय’ हुन्थ्यो भन्ने तर्क दिन्छन् । तर ती दुवै तर्कहरू काल्पनिक हुन् र, दुवैमा सत्यता छैन । त्यो बेला खासमा महेन्द्रले के सोचेका थिए, त्यो कसैलाई थाहा छैन । सबैले अरुले भनेको र आफूले बुझेको भरमा आफ्ना विचार वा धारणा बनाउने हो ।

सबै विचारहरू केलाउँदा, कुनै पूर्वाग्रह नराखेर भन्दा मैले बनाएको धारणा के हो भने- महेन्द्र एक कुशल, राष्ट्रवादी र अत्यधिक महत्वाकाङ्क्षी राजनीतिज्ञ थिए । आफू नेपालजस्तो सानो, अपरिचित, अविकसित देशको राजा हुनुपर्दा उनलाई सायद लघुताभाष थियो र त्यही लघुताभाषलाई अन्त्य गर्न उनले संसारमा आफ्नो उपस्थिति देखाउन चाहन्थे । भारतको उपस्थितिले गर्दा नेपाल र उनी आफै पनि ओझेलमा परेको भन्ने उनलाई थाहा थियो (उनले बुझेको त्यो कुरो अहिले पनि निकै हदसम्म सत्य नै रहेको छ) । त्यसैले उनले भारतलाई आफ्नो व्यक्तिगत र देशको प्रधान शत्रु देखेको र, उनका अधिकांश क्रियाकलाप योजना भारतलाई नै लक्षित गरेर गर्ने गरिएको सजिलै बुझ्न सकिन्छ ।

महेन्द्र एक प्रगतिशील राजनितिज्ञ र राष्ट्रवादी राजा थिए । भारतको पराधीनता र कब्जाबाट देशलाई बचाउन आफूले गर्न सक्ने जति काम गर्न उनले कुनै कसर बाँकी राखेनन् । देशमा नयाँ वित्तीय कानुन बनाउने, भारतीय मुद्रा प्रयोगमा कमी ल्याउने, भारतीयहरूलाई नेपालमा जग्गाजमिन खरिद गर्न रोक लगाउने, भारतीय सैनिक पोष्टहरू नेपालबाट हटाउने जस्ता सबै कार्य उनले नेपाललाई भारतीय परिनिर्भरताबाट मुक्त गराउन चालेका थिए । आफ्नै देशमा कलकारखाना खोलेर भारतीय आर्थिक परनिर्भरता कम गर्ने, पूर्व पश्चिम र उत्तर दक्षिणलाई सडक सञ्जालले जोडेर आफ्नै देशमा आवतजावत गर्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटाउने, देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने ता कि भारतले नेपाललाई हेप्न र खराब नजर लगाउन नसकोस् ।

महेन्द्रले शुरुवात गरेको पञ्चायत ढलेको तीन दशकभन्दा बढी भइसक्दा महेन्द्रलाई विकासको बाधक मान्नेहरूको नेतृत्वमा नेपालले विकासमा के-कति फड्को माऱ्यो त्यो पनि हामीले पूर्वाग्रहरहित भएर हेर्ने र केलाउने हिम्मत गर्नुपर्छ । महेन्द्रलाई खलनायक र लोकतान्त्रिक नेताहरूलाई महानायक मान्नेहरूले यो पनि हेर्नुपर्छ कि ती महानायकहरूले देशको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था कहाँ पुऱ्याए ?

हुन त अहिलेको परिस्थितिमा साझा भाषा, साझा धर्म, साझा भेषभुषा लाद्न खज्नु अनि तराइमा पहाडियालाई नियोजित रूपमा बसाइँसराइ गराएर त्यहाँको भाषा र संस्कृतिमा धावा बोल्नु अलोकतान्त्रिक र अमानविय लाग्ला तर यदि उनले त्यसो नगरेको भए पूर्वी तराइ अहिले कस्तो र कसको हुने थियो भन्न सकिन्न । भविष्यमा आउन सक्ने त्यही अकल्पनीय परिस्थितिलाई बुझेका उनले नेपालीलाई एकताको सुत्रमा बाँध्न साझा भाषा, साझा धर्म, साझा भेषभुषा र साझा पोशाक अनिवार्य गरे । तराइमा भारतीय दबदबा रोक्न पहाडियालाई तराइमा बसाइँ सराउने कार्य गरे । उनको त्यही ‘अलोकतान्त्रिक’ कार्यले गर्दा नेपाल अहिलेको स्थितिमा रहेको छ । विकास क्षेत्र, अञ्चल र जिल्लाहरू कसरी विभाजित गरेका थिए भन्ने कुराले पनि देशको स्वाधीनता कसरी बचाउने भन्ने कुरामा उनको दूरदर्शिता उजागर गर्छ । आफ्ना तिनै उच्च महत्वाकाङ्क्षा पूरा गर्न देशलाई जसरी पनि माथि उठाउने, विश्वसामु चिनाउने र त्यो शक्तिशाली देशको आफू शक्तिशाली राजा बन्ने भावनाले ओतप्रोत भएर नै उनले २०१७ सालको कदम चालेको स्पष्ट बुझ्न सकिन्छ ।

तर महेन्द्रको २०१७ सालको कदमले गर्दा विश्वका अधिकांश देशहरू विकासमा लम्केको बेला हाम्रो देशचाहिँ पछाडि प¥यो भनेर तर्क गर्नेहरू धेरै छन् । तर हामीले के पनि बुझ्नुपर्छ भने देश विकास गर्नलाई कहिले पनि ढिलो भएको हुँदैन, जहिले पनि शुरु गर्न सकिन्छ, आजै पनि शुरु गर्न सकिन्छ । उदाहरणको लागि माओको नीतिले गर्दा तिसौँ वर्ष पछिपरेको चीनलाई देङ स्याओ फिङले कसरी जादुमय तरिकाले विकासको चुचुरोमा पुऱ्याए-जगजाहेरै छ । महेन्द्रले शुरुवात गरेको पञ्चायत ढलेको तीन दशकभन्दा बढी भइसक्दा महेन्द्रलाई विकासको बाधक मान्नेहरूको नेतृत्वमा नेपालले विकासमा के-कति फड्को माऱ्यो त्यो पनि हामीले पूर्वाग्रहरहित भएर हेर्ने र केलाउने हिम्मत गर्नुपर्छ । महेन्द्रलाई खलनायक र लोकतान्त्रिक नेताहरूलाई महानायक मान्नेहरूले यो पनि हेर्नुपर्छ कि ती महानायकहरूले देशको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था कहाँ पुऱ्याए ?

समग्रमा भन्नुपर्दा महेन्द्र न नायक थिए न त खलनायक । उनी एक महत्वाकाङ्क्षी राजा थिए र आफ्नो र देशको स्वार्थ पूरा गर्न तत्कालिन परिस्थितिमा उनले जे सही देखे त्यही गरे । लोकतन्त्र मासेकोमा उनलाई इतिहासको खलपात्रको रूपमा चित्रण गरिए पनि आफ्नै स्वार्थ पूरा गर्नको लागि होस् या अन्य कुनै कारणले, राजा महेन्द्रले देशको लागि गरेको योगदान निकै ठूलो छ र यसलाई पूर्णरूपमा निषेध गरेर उनलाई इतिहासको खलनायकको रूपमा चित्रण गर्न खोज्नु सरासर गलत हो ।