भिन्न धर्म, संस्कृति, भाषा र भेगका नेपालीहरूले साझा रूपमा मनाउने दशैँलाई हिन्दूवादी आँखाबाट मात्र हेर्नु उपयुक्त हुँदैन, हिन्दूहरूको मात्र चाड भनेर दशैँलाई साँघुऱ्याउन मिल्ने देखिँदैन । नेपालीहरूलाई जोड्ने सांस्कृतिक सूत्रहरू भनेका हाम्रा चाडपर्वहरू हुन् भन्ने कोणबाट हेर्दा त दशैँको महत्व ब्याख्या गरिसाध्य छैन ।

पितृ विसर्जन अर्थात् सोह्र श्राद्ध समाप्तिसँगै नेपाली घर-आँगनमा मुलुककै महान् चाड बडा दशैँ प्रवेश गर्दैछ । बहुभाषिक-बहुधार्मिक र बहुजातीय नेपालमा विभिन्न जातीय समुदायका आ-आफ्ना चाडपर्वहरू छन् र पनि, दशैँ यस्तो एउटा प्रमुख सांस्कृतिक पर्व हो जसलाई नेपालीहरूले एउटा साझा चाडका रूपमा अघि बढाउँदै आएका छन् । नेपालरूपी फुलबारीभित्र सबैका आ-आफ्नै प्रथा, परम्परा र सांस्कृतिक विशेषताहरू फक्रिएर रहेका छन्, तथापि सबै जातजातिका विविधता, विशिष्टतालाई आत्मसात् गरेर दशैँ सबै नेपालीको साझा खुसीको पर्व बनेको छ । हो, यही उल्लास र उमङ्गको महान् पर्वले अधिसङ्ख्यक नेपालीलाई एक प्रकारको सुखद् चटारोको अवस्थामा प्रवेश गराएको छ ।
दशैँ नेपालीको साझा चाड भएर पनि यसलाई दूराग्रह प्रकट हुने गरी बेग्लै परिभाषाको पहिरन भिराएर प्रचार गर्न खोज्ने प्रवृत्ति पनि पछिल्ला दशकमा देखिँदै छ, तथापि कुनै धर्मविशेषले छोपेर नछोपिने चाडको रूपमा दशैँले आकार ग्रहण गरिसकेको छ । किनकि, दशैँ-तिहार जस्ता चाडपर्व विशेष जाति र संस्कृतिले मात्र मानेको नभई अलग धर्म-संस्कार र संस्कृति बोकेकाहरूले पनि उमङ्गका साथ मनाउने गरेका छन् । निकटका टोल-गाउँ, वारिपारि, देश-देशावर या सात समुन्द्रपारिदेखि परिवारका सदस्य, आफन्त-इष्टमित्र जुटाएर पारिवारिक भेटघाट गराउने, खुशी साट्ने, मन माझामाझ गर्ने, गुनासाहरू पखाल्ने अवसर दशैँले जुटाइदिन्छ । पाका, अग्रज, अनुभवीहरूको आशीर्वाद थापेर शीर झुकाउने, घमण्ड अहमता फाल्ने, विवेक विनम्रता अँगाल्ने, आपसमा बोलचाल बन्द भएका, पानी बाराबार गरेका नाता-आफन्तबीच समेत बोलचाल फुटाउने चाड हो यो । व्यवहारसिद्ध दशैँको यो विशिष्ट विशेषताको महत्व कसैले घटाउन खोजेर घट्दैन ।
शास्त्रीय रूपमै हेर्दा पनि दशैँले अन्याय-अत्याचरविरुद्ध विद्रोह गरेर विजयप्राप्तिको सन्देश दिन्छ । साङ्केतिक तवरमा विरोध र विद्रोहको सन्दर्भ जोडिए पनि मूलतः सबैको जीवनमा सुख, समृद्धि र उल्लासको सन्देश दिनुचाहिँ दशैँ चाडको मूल मर्म हो । यसैले भनिएको हो कि भिन्न धर्म, संस्कृति, भाषा र भेगका नेपालीहरूले साझा रूपमा मनाउने दशैँलाई हिन्दूवादी आँखाबाट मात्र हेर्नु उपयुक्त हुँदैन, हिन्दूहरूको मात्र चाड भनेर दशैँलाई साँघुऱ्याउन मिल्ने देखिँदैन । नेपालीहरूलाई जोड्ने सांस्कृतिक सूत्रहरू भनेका हाम्रा चाडपर्वहरू हुन् भन्ने कोणबाट हेर्दा त दशैँको महत्व ब्याख्या गरिसाध्य छैन ।
दशैँको यही विशिष्टताका कारण बेला-बेला कोपभाजनको शिकार हुनुपर्ने विडम्बना ब्यहोर्नुपरेको महसूस गर्न सकिन्छ । नेपालको वर्तमान राजनीति र केही राजनीतिक नेतृत्वको दूराग्रही दुरुत्साहन तथा दुष्प्रचारका कारण सनातनी परम्परा, धर्म-संस्कृतिमाथि धावा बोल्ने काम हुँदै आएको छ । धेरै संस्कृतिहरू राजनीतिले निर्धारण गर्दै आएको परिवेशमा परम्परादेखि मानिआएका कैयन चाडपर्वलाई गौण तुल्याइदिने र अस्वाभाविक तथा असामयिक पराया प्रचलन भित्र्याएर सामाजिक माहोल धमिल्याउन वर्तमान ‘राजनीति’ले घनघोर प्रयत्न गरिरहेको छ भनियो भने अतिरञ्जना ठहरिन्न ।
वास्तवमै नेपालीहरूलाई मोहक रूपले जोड्ने, अभिभूत पार्ने, भित्रैदेखि उल्लसित/आनन्दित तुल्याउने अनौठो चाड हो दशैँ । बर्खाको बिदाइ र शरदको आगमनसँगै देखापर्ने शारदीय शान्त वातावरणमा आउने दशैँसँग नयाँ बाली भित्र्याउने, मिठो-मसिनो खाँदै आफन्तबीच रमाउने तयारीमा रहेका आम जनताको हर्ष मिसिन्छ । धन आर्जन गर्न देश-विदेश गएकाहरूले सबैभन्दा बढी घर सम्झने अनि घरगाउँ फर्कने बेला दशैँ नै हो । हरेक हजुरबा-हजुरआमाहरूले आफ्ना सन्तान-दरसन्तानहरूलाई आफ्ना वरिपरि राखेर टीका-जमरासँगै सुखद् भविष्यको आशीर्वाद दिएर मग्न हुने बेला हो यो । हजुरबा-हजुरआमा, बाबु-आमा नभएकाहरूले पनि ठूलोबाबु-ठूलीआमा, काका-काकी, मामा-माइजू, दाजु-भाउजूको हातको टीका थापेर आपसी सम्बन्धलाई हार्दिक र जीवन्त पार्ने मौलिक पर्व हो यो । दशैँको महक र महत्व यिनै सामान्यझैँ लाग्ने असामान्य विशेषताको जगमा उभिएर पर्गेल्न सकिन्छ ।
हरेक समुदायले मनाउने चाड पर्व संस्कार संस्कृतिको आ-आफ्नै अर्थ र महत्व छ भन्ने अन्तर्य ममन गर्दै एकअर्काको मूल्य-मान्यता, संस्कृति, विश्वास, आस्था र धर्म चाडपर्वप्रति सद्भाव राख्नु जरुरी छ । र, दशैँजस्तो महान् चाडलाई पनि यसको पारम्परिक मर्म र महत्व बुझेर सोही रूपले मनाऔँ । निश्चय पनि देशको राजनीतिका कारण चौतर्फी बेथिति-विसङ्गति बढेका छन् । अभाव र महँगी उत्कर्षमा छ । यस्तो बेला सामान्य नागरिक के-कस्तो दुर्दशाबाट गुज्रिरहेका छन्- ब्याख्या आवश्यक छैन । यसका बाबजुद आ-आफ्नो गच्छेअनुसार दशैँ मनाएर रम्ने/रमाउने विशिष्ट तयारी जारी छ । सबैमा बडा दशैँको मंगलमय शुभकामना !
प्रतिक्रिया