सदियौँदेखि चलिआएका हाम्रा धार्मिक, सांस्कृतिक कार्यमा राजसंस्थाको अभाव खड्किएको महसूस धेरैले गरेका छन् ।
- बबिता बस्नेत

‘राजसंस्था रहिरहेको भए हिमानी ट्रष्टको जन्म हुने थियो होला ?’- यही २०७८ साल कार्तिक ५ गते शुक्रबार सोल्टी होटल परिसरमा पूर्वयुवराज्ञी हिमानी र उहाँको टीमको न्यायो स्वागत पाएपछि मनमा यो प्रश्न उठेको थियो । दशैँ-तिहारको शुभकामनाका लागि मूलतः कलाकार, साहित्यकार, खेलाडी र केही पत्रकारहरूलाई निम्त्याइएको थियो । राजसंस्था हुँदा नारायणहिटीमा आयोजना गरिने कार्यक्रमहरूमा झैँ सबै कुरा ब्यवस्थित थिए । स्वागतमा युवराज्ञी आफैं बस्दा सुरुमै अतिथिहरूले सम्मानित महसूस गरे । अलि पर हल्का पहेँलो रङ्गको चश्मा लगाएर उभिएका थिए पूर्वयुवराज पारस, जसलाई सुरुमै हिमानीले नमस्कार गरेर स्वागत गरेकी थिइन् । ब्यक्तिगत जीवनमा लामो समयदेखि अलग रहेर आफ्नै प्रकारको जीवन बाँचिरहेका पारसको उपस्थिति ‘हामी साथै छौँ’ भन्ने सन्देशका लागि थियो भनी बुझ्न गाह्रो पर्दैनथ्यो ।
दशैँ-तिहारमा राजनीतिक दलहरूले चियापानको आयोजना गर्थे । कोरोनाका कारण विगत दुई वर्षदेखि दलहरूले गरेका छैनन् । पार्टीका कार्यक्रममा प्रायः आफूसम्बद्ध दलका नेता, कार्यकर्ता, कलाकार, साहित्यकार, खेलाडीहरू देखिन्थे । राजपरिवारको कार्यक्रममा सबैथरी मानिसहरू देखिए । जो राजपरिवारसँग एकैछिन बोल्न र फोटो खिचाउन पाउँदा प्रफूल्ल देखिन्थे । कार्यक्रममा भाषणलगायतको कुनै औपचारिकता थिएन । निमन्त्रणा कार्डमा पोशाक अनौपचारिक भनिएको थियो तर राजपरिवार भनेपछि अनौपचारिक भने पनि कार्यक्रम स्वतः औपचारिक हुने रहेछ । उपस्थित सबै नै औपचारिक देखिएका थिए । कोरोनाका कारण विभिन्न क्षेत्रका मानिसहरू एकर्कामा भेट नभएको पनि धेरै भएको थियो । सबै आपसमा रमाइरहँदा पूर्व श्री ५ ज्ञानेन्द्रको उपस्थितिसँगै ट्रष्टकी अध्यक्ष हिमानी र सबै पदाधिकारीहरू कार्यक्रम स्थलमा आए । कार्यक्रम स्थल त्यही थियो जहाँ नवयुवराज हृदयेन्द्रको ब्रतबन्ध पार्टी गरिएको थियो ।
पूर्व श्री ५ ज्ञानेन्द्र, युवराज्ञी हिमानी र नवयुवराज हृदयेन्द्रसँग कुराकानी गर्न, फोटो खिचाउन मानिसहरू रमाएको माहौलले हामीले सुन्दै आएका कतिपय देशका राजपरिवारको झलक दिइरहेको थियो । जुन हाम्रो राजपरिवारले वर्षौं अघिदेखि अभ्यास गरेको भए अहिलेको अवस्था अर्कै हुने थियो भन्न सकिन्छ । सुरक्षा घेरामा रहेको हाम्रो राजपरिवार जनतासँग प्रायः दूरीमा रह्यो । पञ्चायतकालमा मात्र नभएर प्रजातन्त्रमा पनि राजपरवारका सदस्यले जनतासँग नजिक रहेर कुरा गर्नु, ढाप मार्नु, फोटो खिचाउनु जस्ता कुरालाई प्राथमिकतामा राखेन । राजपरिवार भनेको जनताले परबाट हेर्ने कुरा हो झैँ गरेर घुलमिल हुने वातावरण नै बनाइएन । सायद ‘पावर’ले मानिसलाई असल मान्छे र राम्रा कुराहरूबाट टाढा राख्छ । हिजो राजालाई राख्यो अहिले नेताहरूलाई राखिरहेको छ । विगतमा पाँच विकास क्षेत्रलाई मुकाम बनाएर राजपरिवारले मुलुकको भ्रमण नगरेको होइन तर ती भ्रमणहरू जनतालाई राजपरिवारसँग निकट बनाउने भन्दा पनि आफूसँग भ्रमण दलमा जानेहरूलाई ‘शान लगाउने’ अवसर जस्ता थिए । राजा र राजपरिवारको नाममा धेरैले फाइदा लिए । जसले फाइदा लिए तिनीहरू राजसंस्थालाई अप्ठ्यारो परेको बेला राजाको साथमा उभिएनन् ।
सायद ‘पावर’ले मानिसलाई असल मान्छे र राम्रा कुराहरूबाट टाढा राख्छ । हिजो राजालाई राख्यो अहिले नेताहरूलाई राखिरहेको छ ।
राजतन्त्र जीवित रहेका विश्वका विभिन्न मुलुकलाई अध्ययन गर्दा राजपरिवारका सदस्यहरू जनतासँग निकट भएर समाज सेवामा संलग्न भएका देखिन्छन् । औपचारिक कार्यक्रममा बाहेक अरुबेला सामान्य रूपमा सडकमा हिँड्ने, जनतासँग कुराकानी गर्ने, शक्तिको अभ्यास नगर्ने, सबैलाई समान ब्यवहार गर्ने । नर्वेका राजा हेराल्डले सन् १९९९ मा आफैले आफ्नो घरको रङ्गरोगन गरेछन् । उनले घरको भित्तामा रङ्ग लाउँदै गरेका तस्बिरहरू पत्रपत्रिकामा छापिएका थिए । आफ्ना नागरिकले आफ्नो काम आफै गरुन् भन्ने सन्देश दिनका लागि राजाले त्यस्तो गरेको टिप्पणीहरू अन्तराष्ट्रिय मिडियामा प्रकाशित भएका थिए । राजाका छोरा युवराज हाको माग्नुसले कुमारीआमा मेटे मेरिट तिज्सेम हेइवीलाई युवराज्ञीका रूपमा भित्र्याउँदा नागरिक तहबाट कुनै टिप्पणी भएन । विवाहअघि मेटेकी एउटी छोरी थिइन् । सामान्यतया यस्ता कुराहरू राजपरिवारमा ‘इस्यु’ बन्छन् । कसैले उक्त विवाहको कुरा गरिहाल्यो भने त्याहाँका नागरिक प्रायः सबैको उस्तै भनाइ हुन्थ्यो रे- जिन्दगी बिताउने उनीहरूले हो, यदि उनीहरू खुशी छन् भने अरुले किन चिन्ता गर्ने ? उक्त विवाहको बारेमा राजपरिवारलाई जनताले यसरी समर्थन गरेकी कुनै स्पष्टिकरण दिनु परेन ।
राजपरिवार भनेपछि राजपरिवारभित्रै र बाहिर कसैले पनि अर्कै ग्रहका मानिस झैँ गर्नु आवश्यक छैन । जीवनका विविध पहलुसँगै मानवीय शक्ति, कमी कमजोरी, समवेदना हरेक मानिसमा उस्तै हन्छन् । युवराज पारसको जीवनमा अनेक कमी–कमजोरी भए तर उनको शैलीलाई मानिसले आफ्नै तरिकाले अपनाइसके । एउटा जमात छ जसले उनको बिन्दास जिन्दगीलाई ब्यक्तिगत इच्छा हो हामीले धेरै चासो राखिरहनु आवश्यक छैन भन्ने ठान्छ । पोखरातिर गएर कसैले पारसको जीवनशैलीमा नकारात्मक टिप्पणी गऱ्यो भने धेरैले मन पराउँदैनन् । उनीहरूलाई दरबारको दिवारीमा रमाएर जनतासँग टाढा रहने राजकुमारभन्दा बाटोमा ‘हाइ हेल्ला’ गर्दै हिँड्ने पारस निकट लाग्छ ।
राजा र राजपरिवारको नाममा धेरैले फाइदा लिए । जसले फाइदा लिए तिनीहरू राजसंस्थालाई अप्ठ्यारो परेको बेला राजाको साथमा उभिएनन् ।
हिमानी ट्रष्टले विगत केही वर्षदेखि समाजसेवाको क्षेत्रमा हात अघि बढाएको छ । राजपरिवारका छोरी बुहारी सामाजिक काममार्फत सार्वजनिक जीवनमा आउनु राम्रो कुरा हो । ट्रष्टका संरक्षक राजा ज्ञानेन्द्र आफैं हुनुहुन्छ । ट्रष्टले विशेषगरी प्राकृतिक प्रकोपमा राहत सहयोग गर्दै आएको छ । आपतविपद् परेको बेला भौतिक सहयोग निश्चय नै अत्यावश्यक कुरा हो । राहतसँगसँगै अब सीपमुलक ज्ञान र त्यसको उपयोग, जीवीकोपार्जन लगायतका क्षेत्रमा पनि काम गर्नु राम्रो हुन्छ । मुलुकमा बेरोजगारी बढिरहेका बेला यस्ता कामले जनतालाई राहत दिन्छ । मुलुकमा शिक्षित बेरोजगारको सङ्ख्या धेरै छ । पढाइ सकियो, काम केही छैन, जिन्दगी कसरी धान्ने ? आफ्नो ज्ञानको उपयोग कहाँ गर्ने ? प्रमुख दायित्व राज्यको हो, सरकारको हो । तर सरकारको प्राथमिकतामा यी कुराहरू नपरेका कारण संघ-संस्थाहरूले नागरिकलाई लक्षित गरी कार्यक्रमहरू अघि बढाउनु आवश्यक छ । यस्तो काममा अन्य संघसंस्थासँगै हिमानी ट्रष्ट पनि एउटा हिस्सा हुन सक्छ । कसैलाई कसैले सधै सहयोग गरेर सम्भव हुँदैन संघ-संस्थाहरूले सर्वसाधारणलाई बाँच्ने आधार खडा गरिदिने हो । त्यो आधार खडा गर्न ट्रष्टले काम गर्न सक्छ ।
शुभकामना कार्यक्रममा पुगेपछि वरिपरिको माहौल हेर्दै पत्रकार भाइ बैकुण्ठ ढुङ्गानाले ‘राजाले दिन खोजेको सन्देशचाहिँ के होला ?’ भनेका थिए । यो पङ्क्तिकारले ‘हामी जनतासँगै छौँ, बाहिर छैनौँ र जनतासँगै हुन चाहन्छौँ’ भन्ने हुन सक्छ भनेकी थिएँ । ‘प्रतिनिधिमुलक यो भेटघाटलाई राजपरिवारले मुलुकभरी पुऱ्याउन र निरन्तरता दिन सके झनै राम्रो हुन्थ्यो’ भन्ने बैकुण्ठको सुझाव महत्वपूर्ण थियो । सदियौँदेखि चलिआएका हाम्रा धार्मिक, सांस्कृतिक कार्यमा राजसंस्थाको अभाव खड्किएको महसूस धेरैले गरेका छन् । अहिले राजनीतिक दलहरूले राम्रा काम गर्न नसकेका कारण राजसंस्थाप्रति मानिसको सहानुभूति बढेको छ । यदि दलले राम्रा काम गरिहाले भने पनि राजसंस्थाको सम्झना आउने वातावरण बनाउने दायित्व राजपरिवारकै हो ।
प्रतिक्रिया