लङ्काको राजा रावण र अयोध्याको निर्वासित राजपुरुष रामबीचको युद्धलाई दुई धर्मबीचको युद्ध देखाएर राक्षस धर्म र मानवधर्म अलग देखाउन खोजिने गरिन्छ । तर राम र रावण दुवैको आराध्य भगवान शंकर नै हुन् भने उनीहरू अलग धर्मका कसरी भए ?
- स्वयम्भूनाथ कार्की
अङ्ग्रेजीमा ‘रिलिजन’ भनिएको शब्दको ‘धर्म’ अनुवादले सनातनलाई समेट्न सक्दैन । त्यो अनुवादले समेट्न सकेको अर्थ जनाउने अर्को शब्द छ, त्यो हो ‘सम्प्रदाय’ । यो धर्म र सम्प्रदायको व्याख्या अर्कै वृहद् विषय हुन जान्छ । तैपनि उल्लेख गरिनुको कारण के हो भने सिन्धु यस पारको सम्पूर्ण जीवनपद्धति र तिनीहरूमा भएका अनगिन्ती विविधता सबैलाई एक साथ जनाउन सिन्धु उस पारकाले त्यही सिन्धु शब्दको सहारा लिए । जो कालान्तरमा उच्चारण अपभ्रंश भएर हिन्दू हुन गयो । यस शब्दले सङ्केत गर्न खोजेकामा प्रकृतिपुजक, मुर्तीपुजक, धामीझाँक्री वा बिजुवादेखि लिएर कर्मकाण्डी वैदिक अनुयायीलगायत पर्दछन् ।
संस्कृति समीश्रण र परम्पराहरूको घुलमिलले सनातन पद्धतिलाई एकै बनाएको छ । जसरी सात रङ्गको चक्र घुमाउँदा केवल सेतो देखा पर्दछ ठिक त्यसै गरेर । अपवादको रूपमा अन्तरसम्प्रदाय सङ्घर्ष पनि भएका छन् । तर हजारौँ वर्षको कालखण्ड बिताउँदा यस्ता अप्रिय घटनाहरू गिन्ती गर्न सकिने मात्र छन् । यसको विपरीत सिन्धु उसपारका अन्तरसम्प्रदाय सङ्घर्षको लेखा लिने हो भने अनगिन्ती रक्तरञ्जित घटनाहरू छन् जसको सङ्ख्या मात्र पनि सम्झन सजिलो छैन । सनातन परम्पराको शुरुवात भेट्न सकिन्न भने ती सम्प्रदायको शुरुवात र प्रवर्तक पनि विश्वमा प्रचलित कुनै पनि सम्वतको शुरुवातभित्र नै पर्दछन् ।
वर्तमान संविधानले धर्मनिरपेक्षताको प्रवर्तक जर्ज जेकव होलेकले गरेको व्याख्यालाई बङ्ग्याएर सर्वधर्म (सम्प्रदाय) समता भनेकोे छ । धर्मनिरपेक्षताको यो परिभाषा कति उचित हो कति अनुचित भन्ने कुरामा लामो विवाद हुन सक्छ । तर संविधानमा गरिएको व्याख्या धर्मनिरपेक्षताको नभई सनातनको आधारभूत तत्व हो । नेपालले हिन्दू अधिराज्य हुँदा स्थापना र अभ्यास गरेको पद्धतिलाई नै वर्तमान संविधानले धर्मनिरपेक्षताको परिभाषा बनाएको छ । यो मान्यता र त्यसको अभ्यास ज्ञात इतिहासदेखि नै पाइन्छ । नेवाः संस्कृतिको उत्थानका गौरवपूर्ण लिक्ष्वीकालमा नै ‘नेपाल खाल्टो’ हिन्दूमन्दिरहरूले भरिभराउ हुन शुरु गरेको हो ।
भारतवर्षमा मुगलहरूको आगमनपछि चर्केको सङ्घर्षले सनातनको अवधारणको केही अपव्याख्या भएको छ । त्यही अपव्याख्या वर्तमानमा आएर सनातनलाई तल्लो स्थानमा झारेर सम्प्रदायमा खुम्च्याउने माध्यम बनेको छ । एकै संस्कृतिका अङ्गहरूले आफू पृथक हौँ भनेर देखाउन प्रयोग गरिने एक उदाहरण यहाँ अप्रासङ्गिक नहोला । लङ्काको राजा रावण र अयोध्याको निर्वासित राजपुरुष रामबीचको युद्धलाई दुई धर्मबीचको युद्ध देखाएर राक्षस धर्म र मानवधर्म अलग देखाउन खोजिने गरिन्छ । तर राम र रावण दुवैको आराध्य भगवान शंकर नै हुन् भने उनीहरू अलग धर्मका कसरी भए ?
सनातन संस्कृतिभित्रका नै केही छट्टु भन्न मिल्ने बाठाहरूको सम्प्रदायका पण्डितहरूले यस्ता भ्रम निवारण गर्नुपर्नेमा झन् थप्दै गएको भने पक्कै हो । वर्तमानमा भनिने हिन्दू र बौद्ध भिन्न हुन् भने वौद्धको साम्याक महादान पूजामा हिन्दूराजाको आवश्यकता तात्कालिन संविधानले त गरेको थिएन । त्यो पक्कै बौद्ध ग्रन्थ र परम्पराअनुसार नै भएको हुनु पर्दछ । किरातले प्रयोग गर्ने शस्त्रअस्त्र जस्ताको तस्तै अरुले पनि प्रयोग त्यसै गरेका पक्कै होइनन् । यो संस्कृति समिश्रण भइ एकाकार भएको उदाहरण हैन र ? कसले कसको अनुकरण गऱ्यो भन्ने विवाद भन्दा अनुकरण गर्ने र अनुकरण गर्न दिने दुवै महान् हुन् भन्ने कुरा महत्वपूर्ण हो, यदि अलग नै मान्ने हो भने पनि ।
सनातनअन्तर्गतका सबै संप्रदायले कुनै न कुनै रूपमा प्रकृतिपूजा गर्दछ नै । अझ हिन्दूहरू त प्रकृतिको यो रूपलाई सबै श्रृष्टिको मूल मान्छन्, पञ्चतत्वको रूपमा । तेज आगोको रूपमा, पृथ्वी भूमिको सबै रूपमा, जल नदी पोखरी मात्र नभएर जीवमा हुने रसको रूपमा, वायु सवै हावा जोडिएको रूपमा, आकाश अन्तरिक्षलगायत श्रृष्टिको आधारको रूपमा । सनातनी आस्था राख्ने होस् वा नास्तिक कहिल्यै बाहिर हुन सक्दैन, तर सम्प्रदाय मान्नेहरू भने त्यसले निर्देश गरेको कुरा नमान्नेवित्तिकै त्यहाँबाट च्यूत हुन्छन् । तर सनातनी कुनै पनि अवस्थामा त्यहाँबाट च्यूत हुँदैनन् ।
आज ॐकार परिवार भनेर भनिएकाहरू वास्तवमा परिवारका सदस्य हैनन् । यी त एक शरीरका विभिन्न अङ्गहरू हुन् । अलग-अलग सम्प्रदायमा रहे पनि सनातनी आधारभूमिमा एकाकार भएको शरीर । जसरी दाहिने हात र देव्रे हात कुनै एक परिवारका सदस्य हैनन् एकै हुन्, त्यस्तै प्रकृतिपुजक, मुर्तीपुजक, धामीझाँक्री वा बिजुवादेखि लिएर कर्मकाण्डी वैदिक अनुयायी आदि कुनै परिवारका सदस्य हैनन् एक शरिरका अभिन्न अङ्ग हुन् ।
प्रतिक्रिया