(सन्दर्भ : विश्व पक्षघात दिवस)
- डा. राजु पौडेल
आज अक्टोबर-२९, विश्व पक्षघात दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । यस वर्षको मुख्य नारा #Precioustime/ # समय मूल्यवान भन्ने छ, जसको अर्थ समयमै पक्षघातको लक्षणहरू पहिचान गरेर बिरामीलाई अस्पताल लगेमा दिमागका नसाहरू निस्क्रिय हुनुबाट बचाउन सकिन्छ, जसले गर्दा मष्तिष्कघातबाट हुने दीर्घगामी असरबाट हामी बच्न सक्छौँ ।
विश्वको परिप्रेक्ष्यमा हेर्दा हरेक वर्ष एक करोड तीस लाख मानिस (13 Million People)लाई मष्तिष्कघात हुन्छ र यसले गर्द वर्षेनी ५५ लाख (5.5 Million) मानिसहरूलाई मृत्युको मुखमा पुऱ्याउँछ । हरेक ६ सेकेन्डमा एकजना लाई मष्तिष्कघातले असर गर्दछ र हरेक ४ जनामा एक जनालाई मष्तिष्कको लक्षण देखिन्छ । संसारमा पक्षघात (स्ट्रोक) मुटुको रोगपछि दोस्रो ठूलो मृत्युको कारण हो । यो आँकडा हेर्दा मष्तिष्कघातको असर भयावह रूपमा देखिन्छ र खासगरी अल्पविकसित र विकासोन्मुख देशमा सम्पूर्ण मष्तिष्कघातमध्ये ७०–८० प्रतिशत मष्तिष्कघातका बिरामीहरू भेटिन्छन् ।
नेपालको इ.सं. २०१८ को आँकडा हेर्दा सम्पूर्ण मृत्युको ९.७३ प्रतिशत मृत्यु (१६२०३) जना स्ट्रोकको कारण भएको देखिन्छ र सोही सालमा अन्दाजी ३२,००० जना स्ट्रोकले प्रभावित भएको देखिन्छ । पछिल्लो सामुदायिक अध्ययनमा पक्षघातको Prevalence २.४ प्रतिशत देखिन्छ र हरेक एक लाखमा अन्दाजी तीन हजार जनामा समुदायमा पक्षघातको बिरामी भटिन्छन् ।
पक्षघात किन हुन्छ ? लक्षण के–के हुन् ?
मष्तिष्कघात/पक्षघात हुनुको कारण धेरै जसो ६०–७० प्रतिशतमा मष्तिष्कमा रगत सञ्चालन हुने नसा बन्द हुनु हो । जसलाई हामी इस्केमिक स्ट्रोक भन्दछौं र २०–३०% रगतको नसा फुट्ने हुन्छ र त्यसलाई हेमोरेजीक स्ट्रोक भनिन्छ । नसा बन्द भएपछि जुन ठाउँको रगत सञ्चालन बन्द भयोे त्यही मष्तिष्कको हिस्साले गर्नुपर्ने काममा असर आउँछ र विभिन्न लक्षणहरू देखिन्छ । सामान्यतय मष्तिष्कघातका प्रमुख लक्षणलाई अंग्रेजीमा BEFAST (Balance, Loss of eye sight, Facial drooping, Arm weakness, Speech, Time) र नेपालीमा स.अ.ज.ब.ह.स भनेर सम्झनुभएमा यसका लक्षणहरू पहिचान गर्न सजिलो हुन्छ ।
स– सन्तुलन गुम्नु
अ– अनुहार बाङ्गो हुनु
ज– आँखाको ज्योति गुम्नु
ब– बोली लर्बराउनु
ह– हात खुट्टा लुलो हुनु
स– समयमा उपचार गराउनु
माथि दिइएका मुख्य लक्षणमध्ये कुनै पनि लक्षण कुनै व्यक्तिमा देखिएमा मष्तिष्कघात हुन सक्छ भनेर तुरुन्त अस्पताल लैजानुपर्दछ ।
पक्षघातका कारक तत्वहरू के–के हुन् ?
विभिन्न जोखिम कारकतत्वले पक्षघात हुन सक्छ उक्तरक्तचाप मधुमेह, मोटोपना, धुम्रपान,निस्क्रिय जीवन पद्दति, अस्वस्थ आहार र मुटुको चालको गडबडी (Atrial Fibrillation) मुख्य कारक तत्वहरू हुन् । यी सबै कारक तत्वहरूलाई नियन्त्रण गरेमा हामी ८०–९० % मष्तिष्कघात बाट बच्नसक्छौं । यदि तपाईलाई आफ्नो मष्तिष्कघातको हुन सक्ने सम्भावनाको आँकलन गर्न इच्छा छ भने स्ट्रोक रिस्कोमिटर (Stroke Riskometer) भन्ने मोबाइल एप निःशुल्क नेपाली भाषामा पनी पाउन सकिन्छ जसलाई University & Auckland ले विकास गरेको छ र नेपाल पक्षघात संघले नेपालीमा अनुवाद गरेको छ । यो एप लाई आजको मिति देखि नै आफ्नो मोबाइलमा डाउनलोड गरेर आफ्नो मष्तिष्कघातको सम्भावना निकालौँ र त्यहीअनुसार हामी सावधान बनौँ ।
मष्तिष्कघातको उपचार कसरी गरिन्छ ?
यदि तपाईंमध्ये कसैको परिवारको सदस्य वा समुदायको कसैलाई माथि उल्लेखित लक्षण देखेमा तुरुन्त अस्पताल जानुपर्दछ । अस्पतालमा आकस्मिक कक्षमा तपाईंको प्रारम्भिक जाँच गरिन्छ र सीटी स्क्यान वा एमआरआई गरेर कुन प्रकारको मष्तिष्कघात हो, छुट्याइन्छ । यदि मष्तिष्तघात इस्केमिक (Ischemic) हो भने रगतको ढिक्का (Clot) फटाउने औषधि Alteplase दिएर बन्द भएको नसालाई खोल्ने प्रयास गरिन्छ । यदि ठुलो नसा बन्द छ भने औषधिको साथै बिरामीलाई क्याथल्याव रगतको ढिकालाई विषेश प्रकारको पाइप वा जाली (Aspiration Catheter) प्रयोग गरेर नसा खुलाउने प्रयास गरिन्छ । यदि समयमै (मष्तिष्कघात भएको ४ः३० घन्टाभित्र) हामी अस्पताल पुग्यो भने उक्त उपचारको लाभ लिन सक्छौँ र मष्तिष्कघातबाट हुने दुरगामी असर र प्यरालाइसिसबाट बच्न सक्छौ । मष्तिष्कघात फेरि नदोहोरियोस् भनेर रगत पातलो गर्ने औषधिहरू दिइन्छ र, साथै जोखिमका कारण विशेषगरी उक्त रक्तचाप र मधुमेहको उचित नियन्त्रण गरिन्छ । अस्पतालमा र अस्पतालबाट डिस्चार्ज भएपछि पनि फिजियोथेरापीका साथै पुनःस्थापनामा विशेष जोड दिइन्छ ।
नेपालमा पक्षघात उपचारको अवस्था र चुनौती
हाम्रो देशको भौगोलिक अवस्था र विकटता र उपचारको साधन–श्रोतका साथै मानवशक्तिको अभाव पक्षघातको उपचारका चुनौतीहरू हुन् । यसका लागि सरकारी प्रतिबद्धताका साथै पक्षघातलाई जनसमुदायको आपतकालीन रोग पहिचान गरेर निम्न कदमहरू चाल्नुपर्ने देखिन्छ-
१. अहिले विद्यमान मानव स्रोत र सेवा सुविधाको आँकलन गरेर आवश्यकता र विद्यमान अवस्थाको खाडललाई पहिचान गर्ने ।
२. हरेक क्षेत्रिय स्तरमा कम्तिमा एक-एक ओटा पक्षघात उपचार गर्ने मिल्ने अस्पतालको विकास गर्ने र उपयुक्त उपचार र जनशक्तिलाई तालिम गराइ चरणबद्ध रूपमा पक्षघातको सेवा सुरु गर्ने ।
३. जनमानसमा पक्षघातको जनचेतना फैलाउने ।
४. देशव्यापी रूपमा पक्षघातको तथ्याङ्कलाई (Stroke Registry) व्यवस्थापन गर्ने ।
५. टेलिस्ट्रोक (Telestroke) विकास गर्ने ताकि दुर्गम ठाउँमा यसको उपयोग गरी पक्षघातको बिरामीलाई समयमै पहिचान गरी उपचार गर्न सकियोस् ।
नेपाल पक्षघात संघले पक्षघातसम्बन्धी जनचेतना फैलाउनका साथै विभिन्न ठाउँमा चिकित्सकहरूलाई तालिम र ज्ञानवर्द्धक कार्यक्रमहरू गर्दै आएको छ । नेपाल पक्षघात संघले युनिभर्सिटी अफ हाइडलवर्गको सहकार्यमा ‘नेपाल स्ट्रोक प्रोजेक्ट’ संचालन गर्ने जमर्को गरिराखेको छ । उक्त प्रोजेटको उद्देश्य जनचेतना फैलाउनको साथै उपचारको लागि विभिन्न अस्पातलमा चिकित्सक, स्टाफ नर्स, इमरजेन्सी चिकित्सक, फिजियोथेरापिस्टहरूलाई तालिम प्रदान गर्ने हुनेछ । यसका साथै अस्पतालको स्ट्रोकसम्बन्धी तथ्याङ्क व्यवस्थापन गर्नमा सहयोग गर्नेछ । यदि हामी सबै हातेमेलो ग¥यौँ भने हाम्रो देशको विदमान पक्षघातसम्बन्धी उपचारको चुनैतीलाई सामना गर्न सक्नेछौँ ।
- DM Neurology /Snr.Consultant Neurologist
प्रतिक्रिया