जनगणनामा नेपालीको ‘सम्पर्क भाषा’ सिध्याउने रणनीति !

जनगणनामा नेपालीको ‘सम्पर्क भाषा’ सिध्याउने रणनीति !


धादिङको तामाङले सिन्धुपाल्चोकको तामाङले बोलेको बुझ्दैन, नुवाकोटको तामाङले बोलेको रसुवाकोले बुझ्दैन, न मनाङको पाल्देन गुरुङले बोलेको जगमान गुरुङले बुझ्छन् न त जगमान गुरुङले बोलेको पाल्देन गुरुङले ! यी सबैलाई जोड्ने सम्पर्क भाषा भनेकै नेपाली हो र, यही नेपाली भाषा धुलोपिठो बनाएर आउने समयमा नेपालमा सरकारी राष्ट्रिय भाषा हिन्दी र अङ्ग्रेजी भाषा कायम गराउन सुनियोजित रूपमा अभियान चालु छ ।
  • मोहन लामा रुम्बा

नेपालको जनजाति आदिवासी मधेसी तराईवासीलाई आ-आफ्नो मातृभाषाको महलमा मातृभाषा लेखेपछि बोलीचालीको भाषामा नेपाली नलेख्नु अरु कुनै जातिको भाषा लेख्नु भन्ने अभियान सञ्चालन गर्दैछ, सो अभियान सञ्चालनको लागि ओइरिएको पैसाको हिसाबकिताब कुनै दिन सार्वजनिक हुने नै छ ।

यसो गर्नुको कारण- अहिले हामीले जुन सम्पर्क भाषाको रूपमा नेपाली बोल्दैछौँ, यदि पहिचानवादीहरूको यो अभियान सफल भयो भने नेपाली भाषा स्वतः अल्पसङ्ख्यक भाषामा पुग्नेछ, र बहुसङ्ख्यक भाषा हिन्दी हुनेछ, किनभने तराईमा आफ्नो मातृभाषा हटाएर प्रान्तीय सरकारले सरकारी कामकाजी सम्पर्क भाषा हिन्दी बनाइसकेको छ, नेपाली भाषा जम्मा पहाडे बाहुनक्षेत्रीको मात्रै हुनेछ । त्यसमा पनि संस्कृत लेखौँ, संस्कृत बोलौँ नेपाली होइन भन्ने अभियान भित्र-भित्र चालु गराएर नेपाली बोल्ने सङ्ख्यामा थप ह्रास देखाउन भरमग्दुर प्रयत्न जारी छ । यसो भएको खण्डमा नेपाली बोल्ने खस बाहुन क्षेत्री मात्रै भएपछि यो सम्पर्कभाषाको हैसियत मोटामोटी २५ प्रतिशतमा झर्नेछ भने तराईका सबैले हिन्दी लेख्नासाथ नेपाली भाषा अल्पसङ्ख्यकमा पुग्नेछ ।

हो, त्यसको लागि पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाती मतुवाली मूलका जातिलाई आफ्नो मातृभाषा लेखिसकेपछि सम्पर्क बोलचाली भाषामा नेपाली नलेख्नु है भन्दै अहिले जोडदार अभियान चालु राखेको छ, यसको भित्री खास कारण यही हो, अन्यथा नेपाली भाषा अल्पमतमा परेर तामाङको भाषा बहुमतमा पुग्ने त होइन, न त गुरुङ मगर राई लिम्बूको नै पुग्ने हो, आखिर बहुमतमा पुग्ने त हिन्दी नै हो ! त्यो पनि मान्न हुन्थ्यो तराईवासीको मातृभाषा भएको भए त, त्यो त होइन । फेरि किन यस्तो अभियान छेडेको छ त ? कुरा प्रष्ट नै छ नि, होइन र ?

यिनीहरूले मातृभाषा जोगाउनको लागि आवाज उठाएका होइनन्, बरु मातृभाषा जोगाउने नाउँमा नेपालमा बिस्तारै राष्ट्रिय सम्पर्कभाषा हिन्दी र सरकारी कामकाजी भाषा अङ्ग्रेजी बनाउन खटिएका एउटा इन्डोपश्चिमका फुट सोल्जर्स मात्रै हुन् । किनभने तराईमा प्रान्तीय सरकारले स्थानीय मैथिली भोजपुरी अवधि भाषा हुँदाहुँदै हिन्दी भाषा सरकारी बनाउँदा सबै चुपचापले समर्थन गरेर बसे तर त्यही बिहारमा हिन्दी प्रान्तीय भाषा तोकेको छैन । यति देख्दादेख्दै पनि पहाडी मातृभाषा अभियान चलाउनेहरू जातिवादी पहिचानवादीहरूले एक शब्द उच्चारण गरेनन्, बरु समर्थनमा उभिए !!

मातृभाषा जोगाउनुपर्छ यसमाथि कुनै दुई राय हुन्न तर मातृभाषा जोगाउने नाउँमा पूर्व मेचीदेखि महाकालीसम्मका नेपालीहरू आज सम्पर्क नेपाली भाषाले बाँधिएका छौँ । त्यति मात्रै होइन कुनै पनि जातिवादी पहिचानवादीको सम्मेलनमा नेपाली बोलेर लेखेर मात्रै एक सुत्रमा बाँधिने गरेका छौँ । नभए, धादिङको तामाङले सिन्धुपाल्चोकको तामाङले बोलेको बुझ्दैन, नुवाकोटको तामाङले बोलेको रसुवाकोले बुझ्दैन, न मनाङको पाल्देन गुरुङले बोलेको जगमान गुरुङले बुझ्छन् न त जगमान गुरुङले बोलेको पाल्देन गुरुङले ! यी सबैलाई जोड्ने सम्पर्क भाषा भनेकै नेपाली हो र, यही नेपाली भाषा धुलोपिठो बनाएर आउने समयमा नेपालमा सरकारी राष्ट्रिय भाषा हिन्दी र अङ्ग्रेजी भाषा कायम गराउन सुनियोजित रूपमा अभियान चालु छ । यसपटकको जनगणनापछि नेपालमा दोस्रो रणनीति सुरु हुनेछ- नेपाली सम्पर्कभाषा हटाउ अभियान सुरु हुनेछ र त्यो सरकारी निकायबाट हल्का सुरु भइसकेको पनि छ !