हाम्रो चालचलनलाई पैसामा बेच्ने र किन्ने काम कसैले नगरौँ । ऋण खोजेर टीका लगाउन पर्छ भन्ने छैन । जे सक्छौ त्यसमै खुसी हुन सिकौँ । देखासिकीको पछिलागेर बढी खर्च नगरौँ ।
- अनुसा थापा

तिहार पर्वको चटारोले सबैलाई व्यस्त तुल्याएको छ । बजारमा सामान किनमेल गर्नेको चर्को भीड देख्न सकिन्छ । तिहारमा दाजुभाइलाई उपहार दिन भाइमसला, मिठाई र फलफुल किन्नेहरूको चाप बढ्दो छ ।
बजारमा सप्तरंगी टीका बेच्ने पनि उत्तिकै छन् भने किन्नेको त कमी हुने सवाल नै रहेन । स्टल नै पिच्छे भाइमसला बेचन राखिएको छ । दाजुभाइलाई टीका लगाउन चाहिने एकसेएक सामान बजारमा पाइन्छन् । पुरा सडक नै ढाक्ने गरि सामान बेच्न राखिएको छ, जसले गर्दा पैदल ओहोरदोहोर गर्ने मानिसहरूलाई भने निकै कठिनाइको सामना गर्नुपरेको छ ।
सामान त जति पनि छन् तर महँगीले पनि उत्तिकै शिखर चढेको छ । बजारमा सामानको भाउ सोध्ने हो भने कैयनको त सातो नै उड्ला ! बिहान कमाएर बेलुका छाक टार्नेले त सामान छुन पनि नसक्ने गरि महँगी बढेको छ । पसलपिच्छे सामानको मुल्य फरक–फरक छ ।
अहिले हरेक सामानको मुल्य दोब्बर भएको छ । फूल र मालामा पनि त्यति नै चर्को मुल्यवृद्धि भएको छ । महँगीले जनताको ढाड सेकेको छ तर सरकार भने मौन छ । बजार अनुगमनमा सम्बन्धित निकायको ध्यान गएको छैन । बजार महँगीसँग सामानको भाउ दाँज्ने हो भने साधारण रुपमा एक जना दाजुभाइलाई टीका लगाँउदा पाँच हजार रुपिँया यत्तिकै खर्च हुन्छ ।
कसैले पनि पैसाको लागि टीका लगाउँदैनन्, तर सामान खरिद गर्न त पैसा चाहिन्छ नै । चाडबाडको मौका छोपेर मिठाइ पसलेहरूले गुणस्तरहीन सामान बिक्री गरिरहेको छन् । खान योग्य नभएको मिठाई बेचेका छन् मिठाइ पसलेले, अनि पैसा पनि मनलाग्दी लिएका छन् ।
मिठाई बनाउने ठाउँ कसैले देखेको छ ? मिठाई बनाउने ठाउँ हेर्दा निकै नै फोहोर छन् । मिठाई बनाउन प्रयोग हुने भाँडाकुँडा पनि महिनौँदेखि नमाझिएका जस्तो देखिन्छन् । मिठाइ बेच्न राख्ने तर छोप्नचाहिँ छोप्दैनन् । अहिले त झन् मिठाइपसलेलाई समेत तिहार लागेको छ ।
रोडमा ल्याएर मिठाइ बेच्न राखेको छन् । मिठाइहरू छोपेका पनि छैनन् । धुवाँधुलोले सबै मिठाइ नै ढाकेको छ । मिठाइ पसलेहरूले कम तौल सामान दिन्छन् पैसा भने आफ्नो हिसाबले लिन्छन् । मिठाइ आकर्षक देखाउन विभिन्न केमिकल मिसाउने गरेका छन् ।
मिठाइ बनाउनेदेखि बेच्ने मानिसहरू हामीले देखेका छौँ । मैलो जमेका गञ्जी र गम्छा बेरेका देखिन्छन् प्रायजसो ! यस्तो मिठाइ किनेर खानु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तो हो । एकातिर पैसाको नास त्योभन्दा बढ्ता स्वास्थ्यको सत्यनाश !!
चाडबाड त व्यापारीहरूलाई लागेको छ । जस्तो मनलाग्यो त्यस्तै सामान बेचेका छन् । हामी उपभोक्ता पनि चाडबाडको नाममा गुणस्तरहीन सामान किनेर खाइरहेको छौँ । मिठाइ पसलेहरूले अनुगमन गर्ने टोलीलाई नै ‘खरिद’ गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गरेको प्रष्टै बुझिन्छ ।
उपभोक्ता मञ्चका अगुवाहरू जनता हाम्रो लागि देउता हुन् भन्दै ठुल्ठुला भाषण गर्छन् । जुनचाहिँ व्यापारीहरूले मञ्चका नेताहरूलाई पैसा दिएन त्यो व्यवसायीकोमा मात्रै छापा मार्छन् । जनता ठग्ने व्यापारीबाट पैसा पाइपछि यिनीहरूले त्यस्ता व्यापारीलाई खुल्ला छोडिदिन्छन् ।
पैसा नपाउञ्जेल मात्रै हुन् अनुगमन गर्ने पैसा पाइसकेपछि अनुगमन टोली र उपभोक्ता मञ्चका नेताहरू आफै बिलाउँछन् । अनुगमन टोली र उपभोक्ता मञ्चका नेताहरू बिक्दा पनि मँहगीले सीमा नाघिसकेको छ । गरिब जनता महँगीको भार थेग्न नसकेर मर्नुपर्ने स्थिति आएको छ ।
पहिले-पहिले दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउन चाहिने सामान सबै आफ्नै घरमा तयार पार्थे । सेलरोटीदेखि लिएर फुलका मालाहरू सबै आफ्नै घरमा बन्थ्यो । अरु केही नभएपनि कोसेलीस्वरुप डालाभर सेलरोटी बोकेर जान्थेँ । टीका लगाउने दिन दाजुभाइलाई खाना खुवाउन चामलसहित आफ्नै घरबाट लिएर जान्थे ।
आफ्नै घरदेखि तरकारी चामल लिएर माइती पुग्थे दिदीबहिनी । त्यतिखेर आफूले जे सकिन्छ त्यही खुवाउनपर्छ भन्ने मान्यता थियो । दिदीबहिनीहरूले पनि टीका लगाइदिएवापत दक्षिणाको आश गर्दैन थिए । पछिल्लो केही वर्षयता, दिदीबहिनीले ‘टीका लगाउन सामान किन्दा उठेको पैसा पनि दक्षिणा पाइएन’ भन्ने गुनासोहरू सुनिन्छ ।
पराम्परागत चालचलनलाई निरन्तरता दिने चाड हो तिहार । तर, सामान बेच्ने र किन्नलाई मात्र तिहार मनाएजस्तो देखिन्छ । दिदीबहिनी सामान बेच्ने, दाजुभाइ सामान किन्ने । हाम्रो मौलिकता नै हराएर गइसकेको छ । पैसा दिन नसक्ने दाजुभाइले त टीका लगाउन छोडिदिए पनि हुने स्थितिको सिर्जना भइसकेको छ ।
पहिलेको चालचलन र संस्कृति सबैले बिर्सिसकेको छन् । आजभन्दा केही वर्षअघिसम्म दिदीबहिनी दाजुभाइलाई टीका लगाउन दुईतीन दिनको बाटो हिँडेर माइती जान्थे । आफ्नो कर्तब्य निर्वाह गर्थे । अहिले त दिदीबहिनीले आफ्नो घरमा दाजुभाइ बोलाउछन् ।
चालचलन नै उल्टो भइसकेको छ । टिका लगाउन अहिले त दाजुभाइलाई दिदीबहिनीले आफ्नो घरमा बोलाउँछन् । अहिले बजारमा हरेकथोक पाइन्छ । थरिथरिका सामानहरू बजारमा बेच्न राखिएको छ । दिदीबहिनीहरूले जे-जे मनलाग्यो त्यही-त्यही उठाउने गरेको छन् । अनि आफूले खर्च गरेको पैसाचाहिँ दाजुभाइसँग उठाउन खोज्छन् । आफूले खर्च गरेको पैसा उठेन भने अर्को सालदेखि टीका लगाउन जाँदैनन् । दाजुभाइहरू पनि टीका लगाउन नपरोस् भनेर विभिन्न बहाना बनाउँछन् । पैसाको लागि टीका लगाउने सोचले गर्दा विकृति बढेको छ ।
यस्तै हो भने हाम्रो पराम्परा मासिन पनि बेर लाग्दैन । यो कुरालाई गहन रुपमा नहेरिदिने हो भने तिहार नै संकटमा पर्न सक्छ । बजारमा जे-जे पाइन्छ त्यो सबै किन्नपर्छ भन्ने छैन । आफूले जति सकिन्छ त्यति नै किन्ने । दक्षिणा पनि जति पाइन्छ त्यसमै खुसी हुनुपर्छ ।
केही वर्षअघिदेखि व्यापारीहरूले थोरथोर सामान हालेर मसलाका प्याकेट बनाउने र जनता ठग्ने काम गरिरहेको छन् । फलफुल, दुग्ध जन्य पदार्थ, माछामासु पसले हरूले पनि आफूखुसी भाउ रोखर जनता ठगेका छन् । व्यापारीहरू आफू कमाउने अनि दिदीभाइका सम्बन्ध बिगार्ने र चाड सङ्कटमा पारिदिने काम गरिरहेको छन् ।
नेपाल सरकार र हामी जनताले व्यापारीको पोलिसी बुझनौँ भने चाडबाड नै सङ्कटमा पर्छ । चाडबाड नै विस्थापन हुन सक्ने स्थिति आँउछ । आफ्नो घाँटी हेरेर हाड निल्नु भन्ने उखान अहिले पनि निकै प्रख्यात छ । टीका लगाउने नाममा कसैको सम्बन्ध नबिग्रियोस् ।
हाम्रो चालचलनलाई पैसामा बेच्ने र किन्ने काम कसैले नगरौँ । ऋण खोजेर टीका लगाउन पर्छ भन्ने छैन । जे सक्छौ त्यसमै खुसी हुन सिकौँ । देखासिकीको पछिलागेर बढी खर्च नगरौँ । आफ्नो संस्कृतिलाई विकृतिको रूपमा फैलाउने काम कसैबाट पनि नहोस् । यो समस्या निम्तिएको नै महँगी र फितलो अनुगमनले गर्दा हो । सरकारले चलाउनपर्ने देश व्यापारीले चलाएको कारण देशका जनता मर्नुपर्ने स्थिति आएको छ ।
प्रतिक्रिया