पचास सातापछि पृथ्वीमा प्रलय !

पचास सातापछि पृथ्वीमा प्रलय !


संसारमा समय-समयमा साना-ठूला प्रलयकारी घटना घट्दै आएका छन् । यसलाई प्रकृतिको सामान्य नियमका रूपमा लिइन्छ । सामान्यतया कतिबेला कहाँ कस्तो घटना घट्नेवाला छ भनेर पूर्वानुमान गर्न सकिन्न । तथापि, कैयन् घटना यस्ता पनि घटेका छन् जसबारे कैयन् वर्षअघि नै भविष्यवाणी गरिएका थिए । माया सभ्यताकालीन भविष्यवाणीहरू यस सर्न्दर्भमा विशेष चर्चामा रहन्छन् । यही माया सभ्यताकालीन भविष्यवाणीका अनुसार पृथ्वी घोर प्रलयको चपेटामा पर्दै छ र त्यो दिन अब धेरै टाढा छैन । अर्को वर्ष अर्थात् सन् २०१२ को डिसेम्बर २१ का दिन पृथ्वीमा घोर विध्वंशकारी प्राकृतिक विपत्ति निम्तिने दाबी गरिएको छ । सो प्रलयको प्रमुख केन्द्रचाहिँ दक्षिणपूर्वी मेक्सिको हुने पनि भविष्यवाणीमा उल्लेख छ । यो भविष्यवाणीबारे परिचित मेक्सिकोवासीहरूले प्रलयबाट बच्ने उपायको खोजी गर्नुको साटो अबको पचास साता पूरै मोजमस्ती र उत्सव गरेर बिताउने योजना बनाएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
क्यान्सरको चमत्कारी औषधि
एकातिर अनेक प्रकृतिका घटनाका कारण पृथ्वीमा प्राणीजीवन खतरामा पर्दै आएको छ भने अर्कातिर जीवनदायी औषधि तथा उपचार विधिको नयाँ-नयाँ खोज-अन्वेषण पनि वैज्ञानिकहरूले गर्दै आएका छन् । यही क्रममा क्यालिफोर्निया विश्वविद्यालयको नेतृत्वमा अनुसन्धान कार्यमा जुटिरहेको एक अन्तर्राष्ट्रिय अनुसन्धाताको समूहले क्यान्सरको कोशिकाहरू नष्ट तुल्याउने औषधि पत्ता लगाएको दाबी गरेको छ । केजी-५ नाम दिइएको औषधिको प्रयोगले ट्युमरको कोशिका बढ्ने क्रमलाई पूरै नियन्त्रण गरिदिने सम्बन्धित वैज्ञानिकहरूले दाबी गरेका छन् । क्यान्सर नष्ट तुल्याउने चमत्कारिक औषधिका रूपमा लिइएको केजी-५ ले खतरनाकभन्दा खतरनाक क्यान्सर जरोदेखि नै निमिट्यान्न पार्ने दाबी गरिए पनि ट्युमर तथा क्यान्सरका बिरामीका लागि यो अबको पाँच वर्षपछि मात्र उपलब्ध हुने बताइएको छ ।
यसैगरी, महिलाको स्तन क्यान्सरको जाँच अब जम्मा आठ सेकेन्डमै हुने भएको छ । बेलायतको ब्रिस्टल युनिभर्सिटीको एक अनुसन्धानकर्ता समूहका अनुसार स्तन क्यान्सरको जाँच गर्ने एएमआरआईए नामको उक्त उपकरण परम्परागत मेमोग्राम एक्स-रेको तुलनामा अत्यधिक सुविधानजनक छ भने कुनै पनि उमेरका महिलाको जाँच गरी आठ सेकेन्डभित्रै क्यान्सर लागे-नलागेको पत्ता लगाउन यो सक्षम छ ।
अन्र्टार्कटिकामा डाइनोसोरको अन्तिम वंशज
पृथ्वीको दक्षिणी गोलार्द्धस्थित अन्र्टार्कटिका महाद्वीपलाई युगौँदेखिको बाँझोभूमिका रूपमा लिइन्छ । पृथ्वीको सृष्टि भएदेखि नै मोटो हिउँको पत्रले ढाकिएको स्थानका रूपमा व्याख्या गरिँदै आएको भए पनि यथार्थ त्यस्तो नभएको, बरु त्यो ठाउँ कुनै बेला रूख-बिरुवाले भरिपूर्ण र शाकाहारी डायनोसोरहरूका लागि उर्वर भूमि रहेको पछिल्लो शोधले देखाएको छ । अर्जेन्टिनाका राष्ट्रिय वैज्ञानिक एवम् टेक्निकल शोध परिषद्का डा. इग्नासियो अलेक्सान्ट्रो सेर्दाको अनुसन्धानले यो पुष्टि भएको द साइन्स अफ नेचर पत्रिकाले जनाएको छ । सौरापोडा भनेर चिनिने शाकाहारी डायनोसोरको उत्पत्ति नै क्रेटेसिएस कालमा अन्र्टार्कटिकामा भएको थियो भन्ने कुराको हालै त्यहाँ प्राप्त सौरापोडाको अवशेषले पुष्टि गरेको डा. सेर्दाको दाबी छ । डाइनोसोरको अत्यन्त विकसित प्रजातिको एक सदस्य मानिएको टाइटेनोसोरस जातको डाइनोसोरको उक्त अवशेषलाई डाइनोसोरको अन्तिम वंशज भएको दाबी पनि गरिएको छ ।
लिंड्सेले तोडाइन् प्लेब्वाईको रेकर्ड
केही महिनाअघि हलिवुडकी आकर्षक एवम् बहुचर्चित अभिनेत्री लिंड्से लोहानलाई विश्वविख्यात पत्रिका ‘प्लेब्वाई’ले आवरणका लागि नाङ्गो तस्बिर खिचाउन प्रस्ताव गर्दा लिंड्सेले सोबारे आफ्नी आमालाई सोधेर मात्र निर्णय लिने जवाफ दिएकी थिइन् । यसरी अप्ठ्यारो मानेर आमालाई सोध्दा उनकी आमाले कुनै सोचविचारै नगरी नाङ्गो तस्बिर खिचाउन स्वीकृति दिएकी थिइन् । हुन पनि दश लाख डलर पारिश्रमिकसहितको उक्त प्रस्ताव इन्कार गर्न त्यति सजिलो कहाँ थियो र ! यसरी लिंड्से प्लेब्वाईका लागि नाङ्गिन तयार भएकी थिइन् । आज २५ वर्षीय लिंड्सेको आवरण तस्बिर सजिएको प्लेब्वाई पत्रिकाले आफ्नो इतिहासकै बिक्री रेकर्ड तोकेको छ । अमेरिकामा मात्र नभई संसारका विभिन्न सहरमा यसको रेकर्डतोड बिक्री भइरहेको छ । तर, जसको तस्बिरले यस्तो तहल्का मच्चाइरहेको छ, उनै लिंड्से भने यतिबेला चर्को व्यक्तिगत समस्यामा परेकी छिन् । सार्वजनिक स्थलमा अवैधानिक नशालु पदार्थ सेवन गरेको मुद्दामा लिंड्सेले पटकपटक कारबाही व्यहोरिसकेकी छिन् ।