गैरआवासीय नेपाली सङ्घलाई कहिलेसम्म पार्टीगत राजनीतिक चक्रब्युहमा पारिरहने ?

गैरआवासीय नेपाली सङ्घलाई कहिलेसम्म पार्टीगत राजनीतिक चक्रब्युहमा पारिरहने ?


कुल आचार्य र डा. बद्री केसीलाई सुझाव

गैरआवासीय नेपाली सङ्घ सबैको हो । सङ्घलाई नेपाली दिशाहीन पार्टीगत राजनीतिबाट अलग राख्दा मात्र यसको अस्तित्व जीवित रहन्छ भन्ने विषयमा सबै सचेत बनौँ, तब मात्र गैरआवासीय नेपाली सङ्घ सबैको बन्नेछ ।

  • सागर सुवेदी, अष्ट्रिया

राजा ज्ञानेन्द्रले कसरी सोचे थाहा भएन, तर विदेशमा बसोबास गर्ने नेपालीहरूलाई नेपालसँग जोड्नुपर्ने सोचका साथ तत्कालिन गैरआवासीय ब्यापारी उपेन्द्र महतोलाई ‘विदेशमा बसोबास गर्ने नेपालीहरूलाई एकै मालामा गाँस्न’ आग्रह गरेअनुरुप आजको गैरआवासीय नेपाली सङ्घ अस्तित्वमा आएको हो ।

सुरुवाती दिनमा यहाँ (गैरआवासीय नेपाली सङ्घभित्र) कुनै राजनीति भएन, जसले यसको संजाल तयार गर्न सुझाव दिएका थिए, उनी नै आज नारायणहिटीबाट बाहिरिए । राजा हुँदासम्म अनुशासित बनेका नेपाली दल तथा त्यसका नेताहरू आज छरपस्ट देखिएजस्तै पहिलेको अनुशासित सङ्घ आज नेपालको पार्टीगत राजनीतिझैँ बिना लगामको घोडा बनेको र, गन्तव्यविहीन भएर गइरहेको हामी महसूस गरिरहेका छौँ । समयक्रममा यसमा विकाश गरिएका प्रणालीहरूलाई आज धोति लगाइएको छ !

ब्यापारीहरूको मात्र, साथै कालो धनलाई सेतो बनाउने क्रियाकलापमा लागेको आरोप लगाइएको हिजोको सङ्घ (भलै यसको ठोस रूपमा पुष्टि भएको चाहिँ छैन) आज ‘हरेकको हुने’ बाटोमा छ । तर आज पर्दापछाडिको चरम चलखेलका कारण नेपालको पार्टीगत राजनीतिको घृणित सिकार बनेको छ यो संस्था । मजस्ता ठुलो मात्रामा पैसा खन्याउन पनि नसक्ने तथा कथित राजनीतिक ‘लबिङ’ पनि गर्न नसक्ने ‘एनआरएन’हरू तमासे बनेर चलिरहेको खेलको दर्शक बनिरहेका छौँ । मात्र फरक यहाँ छ, मनोरञ्जनका लागि खेल खेलिने भए पनि सङ्घभित्रचाहिँ गन्हाउने खेल खेलिएको प्रस्टै देखिन्छ ।

हिजो पर्दापछाडि भइरहेका राजनीतिक हस्तक्षेप आज सतहमै आएर पोखिएको छ भने पहेँला पत्रकार तथा मेडिया हाउसका नाम खोलिएका दलाल पत्रकारहरूले कमाउने मौका पनि प्रशस्त पाइरहेका देखिन्छ । सिधै प्रमाण नहुँदा यसले यति नै खायो भन्न नसकेता पनि नेपालमा कसैले नपढ्ने कुनै दैनिक पत्रिका तथा यसका सम्पादकको बारम्बार विदेश भ्रमण, त्यसै पत्रिकामा कुनै एकै व्यक्ति या समूहलक्षित एकतर्फी नकारात्मकता मात्र फैलाउने समाचारहरूले आफै प्रस्ट बताइरहेका देखिन्छन् कि त्यस्ता अनलाइन हुन् या पत्रिका त्यहाँ लेखिएका हरेक शब्द किनबेच गरिएका हुन् !

विडम्बनाका साथ भन्नुपर्छ, नेपालको दलीय छाडा राजनीतिको शिकार आज गैरआवासीय नेपाली सङ्घ बन्यो । कुनै ठाउँलाई ध्वस्त नै बनाइयो भने त्यसलाई सुधार्न कतिसम्म कठिन हुन्छ या त्यसलाई सही बाटोमा लाउन कतिसम्म नोक्सान हुन्छ भन्ने बुझेको कोहि व्यक्ति हुन्थ्यो भने आज सङ्घलाई यसरी पङ्गु बनाउने बाटोमा लगिने थिएन । जे गरिए गलत गरिए, जे भयो गलत भयो र जे भइरहेको छ गलत भइरहेको छ । पछिल्लो समय सङ्घको विधान राम्रोसँग नपढेको कुनै परराष्ट्रको सह–सचिवले सङ्घलाई पठाएको पत्र त्यसको उदहारण हो ।

वर्तमान अध्यक्ष कुमार पन्तबाट गल्ती सुरु भयो, आफूनिकट कथित पत्रकारलाई आफ्नो गुणगान गराउन तथा फेरि अध्यक्ष दोहिरिने मनसाय राखेर लेख्न लगाएको लेख, लेखमा प्रयोग भएका शब्दहरू र त्यसमा पन्तलाई देवत्वकरण गरिएका विवरण पढ्दा पन्त कुनै प्लानमा छन् भन्ने पङ्क्तिकारलाई पहिला नै लागेको थियो । समयक्रममा जब अध्यक्ष पन्तलाई उहाँको योजना सफल हुँदैन भन्ने बोध भयो, बिग्रेको अवस्थालाई सुधार्न ढिलो भइसकेको थियो । आज जे-जस्तो अवस्थामा बचेको सङ्घ छ, यसलाई ट्रयाकमा ल्याउन सकिन्छ कि भनेर जुन प्रयास पन्तबाट भइरहेको छ, यही प्रयास सुरुवाती चरणदेखि नै भुइँमा दह्रो खुट्टा टेकेर निर्णय गरी अगाडि बढेका हुन्थे भने आज सङ्घमा नयाँ नेतृत्व आइसकेको हुने थियो ।

अर्कोतर्फ, सङ्घमा केही गर्ने खुबी नभएका, सङ्घको विधानसमेत राम्रोसँग नबुझेका, साथै वर्तमान विधान संशोधन गरिने बेलामा सहमतिका साथ विधान निर्माणमा साथ दिएका केही अमुक व्यक्तिहरूको समूहले परराष्ट्र मन्त्रालयमा निवेदन हाले, उजुरी हाल्ने नाम एकातिर, निवेदन लेख्ने अर्कोतिर, यतिसम्म लेखियो कि आफै बसेको देशमा कुनै विवाद नहुँदानहुँदै पनि कृत्रिम विवाद बनाइएर परराष्ट्रमा पठाइयो । (भलै यसमा सम्बन्धितले गलत गरेका भनेर सम्बन्धित एनसिसिलाई भुलसुधार गरेको विषय संजालमा पढ्न पाइएको थियो) त्यसले सङ्घमा खासै केही फरक पर्ने पक्कै थिएन, किनकि परराष्ट्रमा उजुरीका खात छन्, थिए ।

जब त्यसमा ‘माथिको दबाब’ भन्दै परराष्ट्र मन्त्रीलाई नै बाइपास गरी परराष्ट्रका सहसचिवले सङ्घलाई पत्र काटे, त्यसलाई अध्यक्ष पन्तले मानिरहन आवश्यक थिएन । नेपालमा दर्ता भयो भन्दैमा सङ्घले परराष्ट्रले भनेको हुबहु मानिरहन पर्छ भन्ने थिएन । विषलाई ब्याख्या गर्ने तरिका हरेकका आ-आफ्ना होलान्, दृष्टिदोष भएकाहरूले सहीलाई गलत र गलतलाई सही भन्न सक्लान्, तर आखिर सत्य त्यही हुन्छ जो सत्य हो । परराष्ट्रको सामान्य आग्रहरुपी पत्रलाई थेगेर निर्वाचनमा नजानु अध्यक्ष पन्तको कमजोरी देखिन्छ ।

आज अवस्था धेरै अगाडि आइसकेको देखिन्छ । म अध्यक्षका प्रत्यासी कुल आचार्य र डा. बद्री केसीलाई एकदमै गम्भीर बनेर संस्था जोगाउने बाटोमा अघि बढ्ने एक मात्र विकल्पबाहेक अरु केही देख्दिनँ । हुन त एनसीसी बिनाको आइसीसी भनेको हावामा बनेको घर जस्तो हो । एनसीसीहरू नहुँदा आइसीसीको केही अस्तित्व नहुने स्पष्टै देखिन्छ ।

आज एनसीसीमा जे भइरहेको छ त्यस विषयहरूलाई पारदर्शी पाराबाट समाधान गरी एक अनुशासित एनसीसी बनाइएको खण्डमा स्वतः आइसीसी अनुशासित हुने पङ्क्तिकारको बुझाइ छ । आजसम्म जे भए सबै अहम् र तिक्ततालाई वार्ताको माध्यमबाट समाधानउन्मुख बाटोमा लगेर सङ्घलाई बचाउने जिम्मेवारी दुवै अध्यक्षका प्रत्यासीको विवेकमा अन्तरनिहीत रहेको मेरो बुझाइ छ, छिट्टै पहल पनि होस् ।

अध्यक्षका प्रत्यासी कुल आचार्यले पनि बुझ्नपऱ्यो, २०१९-२०२१ मा टिकट नपाएको कारण काठमाडौं नगएकाहरू आज उहाँको लागि ‘ज्यान नै दिन्छु’ किन भनिरहेका छन् ? डा. शेष घलेका कारण कुनै अमुक व्यक्तिलाई फेर्दा निर्वाचनमा कसरी धक्का लाग्यो ? साथै डा. बद्री केसीले पनि बुझ्नपऱ्यो कि तपाईंको आजसम्मको योगदान साथै तपाईंलाई जसरी समाजमा घृणा फैलाउन मात्र बाँचेका व्यक्तिहरूले आइएलओ प्रकरण भन्दै अझै आरोप लगाइरहेका छन्, ती तमाम व्यक्तिहरूलाई कामको माध्यमबाट जवाफ दिन, तपाईंको नेतृत्व क्षमतालाई प्रदर्शन गर्दै, आजसम्म सङ्घका लागि बगेको तपाईंको पसिना र लगानीको बारेमा चिन्तित बनेर सुझबुझपूर्ण निर्णय लिनुहुनेछ भन्ने आशामा छु ।

अन्त्यमा, गैरआवासीय नेपाली सङ्घ सबैको हो । सङ्घलाई नेपाली दिशाहीन पार्टीगत राजनीतिबाट अलग राख्दा मात्र यसको अस्तित्व जीवित रहन्छ भन्ने विषयमा सबै सचेत बनौँ, तब मात्र गैरआवासीय नेपाली सङ्घ सबैको बन्नेछ । किनकि हामी सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई सङ्घको आवश्यकता छ ।

(पङ्क्तिकार गैरआवासीय नेपाली सङ्घ २०२१-२०२३ युरोप क्षेत्रअन्तर्गतका उप संयोजकका उम्मेदवार हुन् । -सं.)