राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रबारे

राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रबारे


  • केशवप्रसाद भट्टराई

१. २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम सरासर गलत थियो ।
आफ्नो अप्रजातान्त्रिक र निरङ्कुश कदमको औचित्य सावित गर्न, त्यसलाई वैधता दिन मात्रै उनले राष्ट्रियताको नारा उरालेका थिए ।
आफ्नो सत्ता महत्वाकांक्षा टिकाउन बहुलवादी प्रजातन्त्र र राष्ट्रवाद सँगै जान सक्दैन भन्ने एक किसिमको वाम राष्ट्रवादको भावना उनले जनतामा उराले ।

२. जनताले ठूलो बहुमतबाट जिताएका वीपी कोइरालालाई आठ वर्ष थुनियो, संविधानबारे राजनीतिक दलहरूलाई आफ्नो राय व्यक्त गर्ने समेत अवसर नदिएर (संविधान घोषणा हुनु अघि आम चुनावमा उम्मेदवारको नामांकन गर्ने र आम निर्वाचनको सात दिन अघि मात्र संविधान घोषणा भएको अवस्था)
राजाले आफैँले लेखे/लेखाएको संविधानअनुसार निर्वाचित प्रधानमन्त्रीलाई विना कुनै अपराध त्यत्रो वर्ष थुनिदाको पीडाको केही स्वाभाविक अभिव्यक्तिका कारण फेरि अर्को आठ वर्ष निर्वाशन भोग्न वाध्य बनाए ।

भारतमा भएको सिक्किम विलयबाट चिन्तित भएर मृत्यु भोग्नु परे पनि परोस अव राष्ट्रले राजा र प्रजातन्त्रवादी शक्तिबीचको द्वन्द्वलाई राष्ट्रिय स्वतन्त्रता र सुरक्षाको स्थितिले धान्न सक्दैन भनेर राजा र मेरो घाँटी जोडिएको छ,

राजामाथि हुने कुनै प्रहार भन्दा पहिला त्यो प्रहार ममाथि हुने छ भनेर मुलुक फर्किएका वीपीलाई फेरि अर्को चार वर्ष थुनामा राखे राजा वीरेन्द्रले ।
यौटै चुनाव चिन्ह देऊ, वर्गीय संगठनको सदस्यताको अर्थहीन व्यवस्था राखेर हाम्रो राजनीतिक अपमान नगर हामी पञ्चायतकै चुनाव लड्छौँ भन्ने वीपीको एक सुनिएन ।

उनको निधन भयो !

३. वीपीको निधनपछि काङ्ग्रेस अलमलियो ।
वीपीको जस्तो त्यो चिन्तनको स्तर, राजनीतिक मनोवल र साहस वीपीका उत्तराधिकारीहरूमा थिएन ।
त्यसैले गणेशमानजी र किसुनजी पनि अलमलिनुभयो ।
गिरिजाबाबुले केही साहस गर्नुभयो तर गणेशमानजी र किसुनजी सामू उहाँको केही लागेन ।
राजाले विकल्प खोज्न भने तर जब गिरिजाबाबु मेची महाकाली दौडेर केही निष्कर्ष पार्टी सामु राख्दै हुनुहुन्थ्यो..
राजाले एउटा सन्दर्भमा त्यसको उपहास गरिदिए पछि गिरिजाबाबुले आत्मसमर्पण गर्नुभयो- गणेशमानजी र किसुनजीसामु ।
परिणाम काङ्ग्रेसले भोग्यो, गणेशमानजी र किसुनजीले पनि भोग्नुभयो ।
राजा वीरेन्द्रले पनि भोग्नुभयो ।

४. अत्यन्त प्रतिकूल अवस्थामा गद्दीमा बस्नुभएका राजा ज्ञानेन्द्र,
राजकाज र राजनीतिको कुनै अनुभव नभएका राजा ज्ञानेन्द्रसामु अत्यन्त सीमित विकल्प थिए ।
राजा वीरेन्द्रको पालादेखिनै नेपालको दरबारमा र नेपाली राजनीतिमा कुण्डली मारेर बसेको बाह्य शक्तिका हाँक, दबाब, प्रभाव र द्वन्द्व स्थितिमा राजा ज्ञानेन्द्रले बाटो पहिल्याउन नसकेका मात्रै हुन् ।
उनको नियतमा कुनै खोट थिएन ।
दलहरूले आफ्नो दुनो सोझ्याउन मात्रै उनलाई अखानोमा पारेका हुन् ।
प्रचण्ड र बाबुरामहरूले उनलाई दानवको रूपमा चित्रण गरेर आफ्नो दानवी चरित्रलाई छोप्न खोजेका मात्रै हुन् ।
एकातिर प्रचण्ड र बाबुरामहरूले एमाले र काङ्ग्रेस समेतको सहमतिमा भारतीय र युरोपेली युनियनका राष्ट्रहरूको रणनीतिअनुरूप राजनीतिक गन्तव्य निर्धारण गर्दा र,
राजा महेन्द्र र राजा वीरेन्द्रका अप्रजातान्त्रिक र दुर्दमनिय सत्ता महत्वाकांक्षाका दुष्परिणामहरूले आकार ग्रहण गर्दा राजा ज्ञानेन्द्रको पालामा आएर नेपालको राजसँस्थाले भोगेको हो ।
राजा ज्ञानेन्द्रलाई नियतिले निमित्त मात्रै बनाएको हो ।

५. अनि आज मुलुक यस अवस्थामा छ ।
सबैले म.. म भनेर आफ्ना विगत र वर्तमानका सम्भव हुने जति गल्ती, अभाव, छुद्रता र दुष्टताहरूबाट मुक्त हुन सके र त्यसरी मुक्त गराउने राजनीतिकरसामाजिक परिवेश निर्माण गर्न सके मुलुकले सुरक्षित गन्तव्य पाउन सक्छ भन्ने चाहिँ लाग्दछ ।