बल्ल बौरियो राप्रपा !

बल्ल बौरियो राप्रपा !


यसपटक राप्रपा बौरिएको महसूस भएको छ । यो कसरी सम्भव भयो भन्ने प्रश्नमा नपस्दा पनि अब राप्रपा मत नमिल्ने दल र त्यसका समर्थकहरूको निमित्त खतरा भएको छ ।

  • स्वयम्भूनाथ कार्की

राष्ट्र, राष्ट्रको परम्परा, संस्कृति आदिसँग जोडिनु र त्यसलाई माया गर्नु ठिक हो कि हैन भन्ने बहस धेरै पहिले शुरु भइसकेको हो । निम्नदेखि उच्च-मध्यम वर्गकाले आफ्नो मान्नाले नेपाली काङ्ग्रेस ‘मासबेस’ दल थियो । ‘थियो’ भनी भन्नुपर्ने अवस्था किन आयो भने बहुदलिय व्यवस्था पुनःस्थापनापछि कााङ्ग्रेसले त्यही मध्यमवर्गको गरीखाने साधनमाथि प्रहार गऱ्यो । बहुदल पुनःस्थापना भन्दा पहिलेका राजनैतिक सोचकाहरूले खोलेको दल जन्मदै जरासंध जस्तो दुई फ्याक भएको थियो थापा र चन्द पुच्छर जोडेर । ०३२ सालको संशोधनबाट अघोषित रूपमा एकदलीय भएका महापञ्चहरू इतर र भितर भनेर अरु कोही प्रतिद्वन्द्वी आउन सक्ने बाटो थुन्न तल्लिन थिए ।

पञ्चकार्यकर्ता भनेर सबै कार्यकर्तालाई समान व्यवहार गरेको संरचना नै तोडेका थिए । अझ जनमत सङ्ग्रहपछि मूलधारमा भाग लिन वर्गीय संगठनको सदस्य हुनुपर्ने ०३२ सालमा थपिएको प्रावधान हटाउन गरेको अनुरोधसमेत अस्विकार गरेर आफूलाई नै सर्वशक्तिमान ईश्वर ठान्न थालेका थिए । त्यसैले पहिलेका जनतामा भिजेका, जनताको ताली र गाली दुवै भेटेका कार्यकर्ताभन्दा भितरका कार्यकर्ताले पनि सहज भेट पाउन नसक्ने रूपमा परिवर्तित भइसकेका थिए महापञ्चहरू । राजाले अनवरत काम गर्नु पर्दछ भन्ने पूर्वीय मान्यता बोकेका राजाका छोराले बेलाइतको जस्तो केही नगरी मान र भत्ता खाएर बस्ने हो भन्ने पश्चिमा सोच ठिक मान्न थालेका थिए । त्यसैले जनता र राजाको बीचमा आएको महापञ्चलाई आफ्नो सहायक ठाने ।

तसर्थ अर्को विकल्प नेकाका मतदाताहरूलाई उपलब्ध भएन । नेकाले हिङ नभए पनि हिङ बाँधेको टालोको रूपमा मध्यम वर्गको साथ पाउँदै गयो, तर मुर्छित राप्रपाका नेताहरूले सत्ता र सुविधा प्राप्त हुने सबैतिर ठिक्कको नीति अपनाए । लगातारको समाजको आर्थिक ढाँचामा नेकाको नेतृत्वले गरेको प्रहारले विकल्पविहीन अवस्थाको विवशताले मात्र मतदान गरे । त्यो पनि नेकपा एमालेको जनताको बहुदलीय जनवादले नेका र एमालेमा खासै अन्तर देखिएन । यो कुरा हरेक निर्वाचनमा मतदाताले बदलिएको परिणामको रुपमा जनाइरह्यो, तैपनि राप्रपाले कतै आफ्नो मुद्धाको सम्बोधन गर्ला कि भनेर झिनो आश गरेको देखियो । यो कुराको लाभ उठाउन नसक्ने गरेर राप्रपाहरू भने जुट अनि फुटको खेलले सत्ता र सुविधाको भागिदार भइरहे । आफ्नो परिचय स्थापना गराइ दह्रो कुरा गरेर जोखिम नलिनु नै श्रेयस्कर भयो उनीहरूका निमित्त ।

भित्रभित्रैको जनउभार देखेर गणतन्त्र पक्षधरहरूका बाहुबलीहरूले शाररिक बल मात्र प्रयोग गरेनन्, प्रशासनको डण्डा पनि चलाए ।

उधारो गणतन्त्र र धर्मनिरपेक्षता घोषणा भएपछि घेरैलाई यो प्रिय लागेन । गणतन्त्रको विरोध गर्न सक्ने धारले दल नै खोल्न नपाओस् भनेर १० हजारको सहीसहित आउनुपर्ने प्रावधान राखियो । भ्रष्टाचार निवारण शाही आयोगले दिनुसम्म हण्डर दिएका रविन्द्रनाथ शर्मा गणतन्त्रको पक्षमा उभिएनन् । अर्थात् आफूलाई राजाले बनाएको आयोगले दुःख दिए पनि राजसंस्था अपरिहार्य माने, जसरी सुन्दरीजलमा बन्दी हुँदा पनि बीपीले मुलुकको अस्तित्वको निमित्त राजसंस्थाको आवश्यकता देखेका थिए । त्यसैले १० हजारको ठाउँमा पचासौँ हजार सही संकलन भयो । राप्रपा नेपालका कार्यकर्ता खोजी-खोजी जनताले आफूले संकलन गरेको सही हस्तान्तरण गरे । यो भित्रभित्रैको जनउभार देखेर गणतन्त्र पक्षधरहरूका बाहुबलीहरूले शाररिक बल मात्र प्रयोग गरेनन्, प्रशासनको डण्डा पनि चलाए । रविन्द्र शर्मालाई बेइज्जत गरियो, बद्री मण्डललगायत सयौलाई निरुत्साहित गरियो । त्यसै क्रममा रविन्द्रनाथ शर्मालाई कुना लगाएर राप्रपा नेपालको अध्यक्ष भएका कमल थापा पनि तारोमा परे ।

त्यसपछि राप्रपा नेपाल पनि राप्रपाकै अनुशरण गर्न थाल्यो । तर यस पटक राप्रपा बौरिएको महसूस भएको छ । यो कसरी सम्भव भयो भन्ने प्रश्नमा नपस्दा पनि अव राप्रपा मत नमिल्ने दल र त्यसका समर्थकहरूको निमित्त खतरा भएको छ । साथै राप्रपाको जस्तै आस्था राख्नेहरू त्यसलाई सहयोग गर्न अगाडी बढ्दैछन् । अहिलेसम्म कहिले संसद्-निर्वाचित राजा, कहिले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था भन्न छोडेर अब राप्रपाले प्रष्ट भन्न थालेको छ – राष्ट्रको अभिभावक राजसंस्था, प्रत्येक्ष निर्वाचित प्रधानमन्त्रीद्वारा मुलुकको शासन सञ्चालन र व्यवस्थापिका र कार्यपालिका अलग गरेर शक्ति सन्तुलन अर्थात सांसदहरू कार्यपालिकाको भाग हुन नपाउने । यो कुरा गरेवापत पछि सत्ता र शक्तिमा भागिदारी नपाउन सक्ने अवस्था होला कि भनेर धक मानेको छैन । हुन सक्छ बिलाएर जाओस् वा परम्परा, संस्कृतिसँग आफूलाई देख्ने मध्यमवर्गको माया पाओस् । कुनै पर्वाह नगरी आफू बौरिएको घोषणा गरेको छ । अब जनतासँग सबै किसिमको विकल्प छ ।