अतिवाद र मिथ्यावादले ग्रसित राजनीति

अतिवाद र मिथ्यावादले ग्रसित राजनीति


यहाँ नबुझेका मानिस कोही छैनन् । सबैले बुझेका छन् । यहाँ ज्ञानले काम गरेको छैन । सबैलाई स्वार्थले घुमाइराखेको छ ।

  • उद्धवप्रसाद भटृराई ‘चैतन्यदीप’

संसारमा जति पनि परिवर्तनको इतिहास छ त्यसलाई नियाल्दा अतिवाद हाबी भएको पाउँछौँ । अतिवादले हिंसालाई जन्म दिन्छ, हिंसाले प्रतिहिंसा जन्माउँछ अनि शान्तिको चाहना टाढिँदै जान्छ । राजनीतिभित्र अतिवादी चरित्र घुस्यो भने त्यहाँ जुनसुकै व्यवस्था ल्याए पनि सफल हुन सक्दैन । अतिवादले नैतिकता, चरित्र र अनुशासनलाई तोड्छ । जसले संयमता र सन्तुलन गुमाइ अहमतालाई महत्व दिन पुग्छ ।

हामी विश्वको सर्वश्रेष्ठ व्यवस्था लोकतन्त्र भन्छौँ, त्यसैको गुण गाउँछौँ र नारा दिन्छौँ । तर त्यही लोकतन्त्रमा अतिवाद, मिथ्यावाद र हीनवादले जरा गाड्यो भने त्यस्तो लोकतन्त्र पनि जनताको लागि अभिशाप हुन सक्छ । नेपालको लोकतन्त्रलाई कतै अतिवाद, मिथ्यावाद र हीनवादले ग्रस्त त पार्दै छैन ? सोच्नुपर्ने बेला आएको छ । लोकतन्त्रको गहना भनौँ वा खम्बा भनौँ व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हो । यी तीनै शक्ति-सन्तुलनका खम्बाहरू अतिवाद र मिथ्यावादबाट चल्न थाले भने व्यवस्थाको के गति होला !

अहिले नेपालको राजनीतिक चरित्रलाई हेर्दा कहिले व्यवस्थापिकामा अतिवाद, कहिले कार्यपालिकामा मिथ्यावाद त कहिले न्यायपालिकामा अतिवादले कार्य गरेको हो कि भन्ने शङ्का छ । कुनै पनि समस्यालाई व्यक्तिवादी अहमताले छोयो भने त्यहाँ बर्बादी शुरु हुन्छ । कोही पनि व्यक्ति सबै कुरामा पूर्ण हुँदैन । त्यो नहुने भएकोले नै सामुहिक चिन्तनको विकास गर्नुपर्छ भनेर दार्शनिकहरूले बहुलवादी सोच र सिद्धान्तको विकास गरेका हुन् । उच्च पदमा बस्ने व्यक्तिको दोष हुन सक्छ, तर पदको दोष हुँदैन । कसैले गल्ती गऱ्यो भने त्यो गल्तीलाई पक्डेर विनाशको मार्ग लिन हुँदैन ।

जिम्मेवार व्यक्तिहरू विधिको विधानअनुरुप चल्नुपर्छ, तब जनता त्यो मार्ग अलम्बन गर्न वाध्य हुन्छन् । यहाँ त विधिको शासनलाई समाप्त पार्ने कोशिस गरिन्छ । यहाँ मैले भन्न खोजेको के कुरा हो भने नेपालको राजनीतिलाई नेतृत्वले वर्वाद पार्दैछन् भने न्यायिक क्षेत्र विद्धान्हरूले वर्वाद बनाउँदैछन् । राजनीति र विधिको शासनमा आँच पुग्यो भने बाँकी केही रहँदैन । भन्न खोजेको कुरा के हो भने कुर्सीमा बस्नेले गल्ति गर्दैमा कुर्सीको मर्यादामाथि नै आँच पुग्ने काम कसैले पनि गर्नु हुँदैन ।

कतिले आफ्नो चरित्र, व्यवहार निम्न सामन्ती बुर्जुवा भए पनि समाजवाद वा प्रजातान्त्रिक समाजवादी हुँ भन्न मनपराउँछन् । तर जुनसुकै दर्शन, सिद्धान्तका कुरा छाँटे पनि वा जेसुकै नाम राखे तापनि आफ्नो व्यवहार, चरित्र, प्रवृत्ति र मानसिकताको मापन कहाँ र कुन अवस्थामा छ ? त्यो चाहिँ गम्भीर समीक्षा गर्न जरुरी छ ।

लोकतन्त्र उत्कृष्ट व्यवस्था भनेर हामीले ल्याएका थियौँ, तर यही व्यवस्थामा किन यत्रो वितण्डा मच्चिरहेछ ? राम्रो व्यवस्था त राम्रै हुनुपर्छ नि ! किन जनताले दुःख झेल्ने ? यहाँ व्यवस्थाको कुरा होइनरहेछ । मानिसको प्रवृत्ति नै ठीक छैन भने जुनसुकै व्यवस्था ल्याए पनि यहाँ केही हुनेवाला छैन । विकल्पको खोज गर्नेहरूको कमी छैन । अब विकल्प पनि समस्या समाधानको बाटो होइन । जहाँ समस्या छ त्यहीँबाट समाधानको मार्ग खोज्नु बुद्धिमानी हुन्छ । देशमा प्रधानमन्त्री फेर्ने काम कतिपल्ट भए, त्यो फेरिएर आएका प्रधानमन्त्रीले के त्यस्तो परिवर्तनको अनुभूत जनतालाई गराए त ? त्यो त केही भएन । अहिले केही समयदेखि प्रधानन्यायाधीशको राजीनामा मागिँदैछ । प्रधानन्यायाधीश बहिर्गमन हुने विधि होला । तर त्यो विधिलाई नहेरेर सडकबाट राजीनामा मागिँदैछ । यहाँ नबुझेका मानिस कोही छैनन् । सबैले बुझेका छन् । यहाँ ज्ञानले काम गरेको छैन । सबैलाई स्वार्थले घुमाइराखेको छ ।

यदि हामी यथार्थमा लोकतन्त्र चाहन्छौँ भने विधिको शासनमा हिँडौँ । हरेक मानिसको आफ्नै मनोतर्क हुन्छ । राज्य चलाउने कुरा तर्कवितर्कले हुँदैन । मनोमानी तर्क गरेर, जबर्जस्ती गरेर देश चल्दैन । त्यसैले भगवान् बुद्धले दिएको शिक्षालाई शिरोधार्य गर्न जरुरी छ । बुद्धले त्यत्तिकै मध्यमार्गको चिन्तन दिएका होइनन् । बुद्धको समयमा पनि धर्म, राजनीति र सामाजिक परिवेश अतिवादले ग्रस्त थियो । त्यसैले बुद्धले सम्यक मार्ग अपनाउने शिक्षा दिँदै गए । बुद्धको अष्टाङ्गिक मार्ग संयमतामा आधारित मध्यमार्ग हो । जुन मार्गमा हिँडेर मान्छेले आफ्नो समाज र देशको निर्माण गर्न सक्छ । बुद्धले के भन्नुभएको छ भने अतिवाद, मिथ्यावाद र हीनतावादबाट टाढा बस । यही कुरा आधुनिक महर्षि विशुद्धदेवले पनि भन्नुभएको छ । बुद्धको अष्टाङ्गिक मार्गमा कति राम्रा विचार छन् । उहाँले भन्नुभएको थियो कि दृष्टिकोण, संकल्प, वाणी, कर्म, आजीविका, व्यायाम, स्मृति र समाधिज्ञानमा संयम हुनुपर्छ । अर्थात् यसमा अतिवाद वा मिथ्यावाद हुनु भएन । ऋषि पतञ्जलिले पनि यम र नियमको संयमित शिक्षा दिनुभएको छ । बुद्धको भनाइ के हो भने जीवनको हरेक कर्म र व्यवहारमा संयमता हुनुपर्छ । कुनै संकल्प गर्नु पऱ्यो भने अतिवाद हुनु भएन । बुद्धले सम्यक चिन्तन दिनुको अर्थ न त अतिवाद, न त हीनवाद र न त मिथ्यावाद कुनै पनि वाद-विवादमा नगइ मध्यमार्गलाई अपनाउनु हो । जसले व्यक्ति, समाज र देशलाई नै चरित्रशील बनाउँछ भनेको हो ।

अहिले राजनीतिक दलहरूमा नेतृत्व छान्ने होडबाजी चलिरहेको छ । नेतृत्व छान्नेमा असल मान्छेतिर ध्यान छैन, केवल हाम्रा मान्छे खोजिन्छ । आफ्ना मान्छे राम्रा नहुन सक्छन् । त्यसैले नेपालको राजनीतिमा त्यत्ति उच्च चेत आएको छैन । साथै नेपालका राजनीतिक दलका नेतृत्वहरू अक्सर उनीहरू सिद्धान्त र दर्शनका ठूलै कुरा गर्छन् । प्रजातन्त्र, लोकतन्त्र र समाजवादका कुरा गर्दछन् । तर उनीहरूको आफ्नै परिवार वा पार्टीमा त्यो सिद्धान्त लागू गर्न सकेका छैन । तिनीहरूले देशलाई कसरी बनाउँछन् ? कतिले आफूलाई कम्युनिष्ट भन्छन् तर व्यवहारमा भने सामन्तवाद, पूँजीवाद र दलाली काम गर्छन् । कतिले आफ्नो चरित्र, व्यवहार निम्न सामन्ती बुर्जुवा भए पनि समाजवाद वा प्रजातान्त्रिक समाजवादी हुँ भन्न मनपराउँछन् । तर जुनसुकै दर्शन, सिद्धान्तका कुरा छाँटे पनि वा जेसुकै नाम राखे तापनि आफ्नो व्यवहार, चरित्र, प्रवृत्ति र मानसिकताको मापन कहाँ र कुन अवस्थामा छ ? त्यो चाहिँ गम्भीर समीक्षा गर्न जरुरी छ । नेतृत्वमा बोली र व्यवहारको तालमेल मिलेको देखिँदैन ।

बुद्धशिक्षाको माध्यमले चीन, जापान र श्रीलङ्काले कति विकासको पाइला टेक्यो तर बुद्ध यहीँ जन्मेर पनि हामीले अतिवादलाई छोड्न सकेनौँ । सत्य, अहिंसा र सयमको मार्गलाई मिथ्यावादमा परिणत गर्दै लग्यौँ । जसले देशलाई बर्बाद बनाउँछ त्यसलाई हामी सत्यमार्ग भनिराखेका छौँ ।

बुद्धले भनेजस्तै नेतृत्वमा सम्यक चरित्र छैन । नेपालमा केही राम्रा-राम्रा पक्षहरू पनि थिए । त्यो पनि विस्तारै समाप्त हुँदैछन् । नेपालमा नेपाली काङ्ग्रेसले शुरुको समयमा मध्यमार्ग पक्डेको थियो । बिस्तारै काङ्ग्रेसले पनि आफ्नो मूलबाटो बिराउँदै गयो र अतिवादी चिन्तनलाई साथ दियो । धर्मलाई खतम गरिदिए । जसले गर्दा समाजमा अनुशासन बिग्रिँदै गएको छ । अहिले त अतिवादी चिन्तनले कुनै पार्टीलाई पनि छोडेको छैन । यहाँसम्म कि न्यायिक क्षेत्र पनि त्यसबाट अछुतो रहेन । अन्याय, अत्याचार, विकृति र विसङ्गति बढ्दै गयो भने नेपाल जननी विचरी विष्णुको शरणमा जान बाध्य हुनै पर्दछ । यसमा नेपाल आमाका सच्चा पुत्रहरूले सोचौँ र विचार गरौँ ।

हाम्रो संस्कार र संस्कृति उच्च भए पनि विकृति भित्रिएको कारण जनताले बारबार धोका खानु परेको छ । द्वन्द्व र गरिबीले पिल्सिएका विश्वका कैयौँ मुलुकहरू महापुरुषहरूले दिएको शिक्षाले जुरुक्कै माथि उठेका निकै उदाहरण छन् । कसैले स्वतः उठाइदिएका होइनन् । त्यो कुराको उदारहण खोजेमा हामीले पाउन सक्छौँ । त्यस्तै, बुद्धशिक्षाको माध्यमले चीन, जापान र श्रीलङ्काले कति विकासको पाइला टेक्यो तर बुद्ध यहीँ जन्मेर पनि हामीले अतिवादलाई छोड्न सकेनौँ । सत्य, अहिंसा र सयमको मार्गलाई मिथ्यावादमा परिणत गर्दै लग्यौँ । जसले देशलाई बर्बाद बनाउँछ त्यसलाई हामी सत्यमार्ग भनिराखेका छौँ । राजनीतिक नेताहरू समाजवादका कुरा गर्दछन् । प्रजातन्त्र, समाजवाद र समतामूलक समाज निर्माणका कुरा गर्दछन् । तर आचार-विचार र चरित्रमा चुक्दै गएका छन् । कुनै पनि दर्शन मुखले भन्न सजिलो छ त्यसलाई व्यवहारमा उतार्न कति कठिनाइ छ ।

मध्यमार्गलाई समाजवादी दार्शनिक चिन्तनको पुनर्जागरण ल्याउने आधारको रूपमा लिने गरिन्छ । नेपाली समाजमा धेरै सामाजिक विभेद, अपमान, तिरष्कार छ भन्ने मनोविज्ञानको विकास गरिएको पाइन्छ । यो वास्तवमा राजनीति गर्नेहरूले आफ्नो स्वार्थ सिद्ध गर्न ल्याएको नारा हो । यथार्थमा यो चिन्तनको थप अनुसन्धान गर्नु जरुरी छ । एकले अर्कोलाई किचिरहने, थिचिरहने, दलिरहने र कुल्चिरहेने हिंसाग्रस्त सोचको विकास गलत मनोगत प्रवृत्तिबाट आएको हो । सनातन वैदिक चिन्तन र बुद्धशिक्षालाई राम्ररी बुझ्न सकेमा समाजले खोजेको समाजवाद आउन समय लाग्दैन । जिम्मेवार व्यक्तिहरूले जिम्मेवारीलाई इमान्दारीपूर्वक व्यवहारमा लागू गर्न सकेमा कसैप्रति पनि छल र धोका हुँदैन । तब समाज र मुलुक बन्दछ ।