नेपालबाट रामानियामा हस्तकलाका सामग्री निर्यातको वातावरण बनाउन आग्रह

नेपालबाट रामानियामा हस्तकलाका सामग्री निर्यातको वातावरण बनाउन आग्रह


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तरको सहयोगका लागि रोमानिया सरकारप्रति आभार व्यक्त गरे ।

मन्त्री भण्डारीले भने, ‘रोमानिया र नेपालबीच सन् १९६८ देखि कूटनीतिक सम्बन्ध रहेको छ, नेपाल सरकारले नेपाल र रोमानियाबीच विद्यमान यी सम्बन्धलाई मित्रता, सहयोग र जनताको सम्पर्कको बलियो बन्धन बनाउँछ ।’ नेपालले युरोपेली सङ्घ र अन्य मञ्चहरूमार्फत रोमानियाली सरकारबाट प्राप्त महत्वपूर्ण सहयोगलाई उच्च रूपमा स्वीकार गर्ने पनि उनले बताए ।

भण्डारीले भने, ‘नेपालले रोमानियालगायत हाम्रा द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूको समर्थन र सद्भावनामा भरोसा गर्न जारी राखेको छ । रोमानिया प्रमुख व्यापार साझेदार बनेको छ, नेपालले मुख्यतया ‘कोटेड फ्ल्याट रोल्ड’ फलाम, विभिन्न कपडा र मुख्यतः प्याकेज गरिएका औषधि, कम्प्युटर र अन्य अत्यावश्यक वस्तु आयात गर्छ, हामी पारस्परिक आर्थिक लाभका लागि हाम्रा मार्ग फराकिलो बनाउने लक्ष्य राख्दै हाम्रो व्यापार सम्बन्धलाई थप अन्वेषण र विस्तार गर्न इच्छुक छौं ।’

नेपाल-रोमानिया सम्बन्ध आगामी दिनमा थप सुदृढ हुदैं जानेमा विश्वास व्यक्त गर्दै उनले दिगो विकासका लक्ष्यहरु सन् २०३० सम्ममा प्राप्त गर्न नेपाल प्रयासरत रहेको बताए । साथै कोभिड-१९ पछिको आर्थिक पुनरुत्थान गर्न नेपालले व्यापार र लगानीलाई उच्च प्राथमिकता दिएको उनले जानकारी गराउनुभयो ।

हालै सम्पन्न लगानी सम्मेलनले लगानीका क्षेत्र पहिचान गरेको र लगानीमैत्री नीतिगत तथा कानुनी व्यवस्था गरेको मन्त्री भण्डारीले राजदूत तानेलाई जानकारी गराए । सो अवसरमा उनले भने, ‘म महामहिम मार्फत रोमानियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आब्हान गर्दछु, व्यवसायी-व्यवसायी बीचको आर्थिक सम्बन्धको सुदृढीकरण गरी द्विपक्षीय र निजी क्षेत्रको अगुवाइमा आर्थिक क्षेत्रको समृद्धि हासिल गर्न सरकार प्रयत्नरत छ, नेपालको व्यापार पूर्वाधार र अन्य प्राथमिकताका विकास क्षेत्रमा थप युरोपेली लगानी आउनेमा म आशावादी छु ।’

सो क्रममा राजदूत तानेले रोमानियाले नेपालमा कृषि, उर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको जानकारी दिए । रोमानियामा हस्तकलाका सामग्रीको बजार राम्रो रहेको जानकारी गगराउँदै उनले नेपालबाट रामानियामा हस्तकलाका सामग्री निर्यातको वातावरण बनाउन मन्त्री भण्डारीलाई आग्रह गरे ।