कमल थापाद्वारा छुट्टै भेलाको आयोजना

कमल थापाद्वारा छुट्टै भेलाको आयोजना


राजा छोड्ने, राजेन्द्रलाई नछोड्ने !

वनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई असफल तुल्याउन कमल थापा सक्रिय भएपछि थापालाई पार्टीको साधारण सदस्यताबाट पनि हटाउनुपर्ने दबाब लिङ्देनमाथि परेको छ । र, उपयुक्त समय आएपछि कमल थापा, बुद्धिमान तामाङ र पशुपति शमशेर राणालगायतलाई कारबाही गरी पार्टीबाट निष्काशन गर्ने मानसिकता अध्यक्ष लिङ्देनले बनाएको थाहा हुन आएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनले नेतृत्व परिवर्तन गरेपछि ‘पञ्च’ कित्तामा बढेको उत्साह कमल थापाका कारण ‘बर्बाद’ हुने अवस्था पैदा भएको छ । अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा राजा ज्ञानेन्द्रप्रति आक्रोशित बनेका छन् र, राप्रपाले अब ‘राजा बोक्न नहुने’ विचार उनले सार्वजनिक गर्दै आएका छन् । पार्टी महाधिवेशनमा राजाले हस्तक्षेप गरेर आफूलाई हराएको विषयमा पार्टीले छानविन गर्नुपर्ने माग समेत थापाले गरेका छन् ।

यसैबीच यही पुस २७ गते कमल थापाले राजधानीमा आफ्नो पक्षका मानिसहरूको छुट्टै भेला आयोजना गरेका छन् । महाधिवेशनबाट निर्वाचित पदाधिकारीबाहेक आफ्नो पक्षका सबै नेता–कार्यकर्ताहरूलाई भेलामा सहभागी हुन थापाले आग्रह गरेका छन् । राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा विजय हासिल गरेपछि आफूलाई उचित सम्मान नदिएको भन्दै असन्तुष्ट बनेका पशुपतिशमशेर राणाले थापाद्वारा आयोजना गरिने भेलामा सहभागिता जनाउने बताइएको छ । उक्त भेलामा राप्रपाले राजसंस्था पुनर्स्थापनाको एजेण्डा परित्याग गरी हिन्दूराष्ट्रको एजेण्डा मात्र बोक्ने विषयमा छलफल हुने बुझिएको छ ।

काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजना गरिने भेलामा दुई हजार भन्दा बढी नेता कार्यकर्ता जुटाएर ‘आफ्नो शक्ति देखाइदिने’ योजना कमल थापाले बनाएका छन् । भेलाको लगत्तै आफ्नो टोली लिएर थापा देश दौडाहामा निस्कने तयारीमा रहेका र, जिल्ला-जिल्लामा पुगेर आफूलाई राजाले कसरी पराजित गराए भन्ने विषयमा कार्यकर्ता र मतदाताहरूलाई विस्तृत जानकारी गराउने कार्यक्रम बनाएको बुझिएको छ । पार्टीको नेतृत्व तहमा रहेकाहरूलाई पार्टीभित्रै लिङ्देन र राजाविरुद्ध सङ्घर्ष गराइ लिङ्देनलाई अप्ठ्यारोमा पार्ने, आफूले चाहिँ मैदानमै उत्रिएर सङ्घर्ष गर्ने योजना कमल थापाको छ । राजेन्द्र लिङदेनले मंगलबार पार्टीको केन्द्रीय समितिमा ३१ जना सदस्य मनोनित गर्दा कमल थापानिकटका एक जना पनि परेनन् । पशुपति शमशेर राणानिकटको भनी चिनिएका ठाकुरप्रसाद शर्माबाहेक अन्य सबै आफूनिकटका मानिसलाई लिङ्देनले केन्द्रीय समितिमा समेटेका छन् ।

महाधिवेशनमा पराजित व्यक्तिहरूलाई समेत केन्द्रीय समितिमा मनोनयन गरिएपछि थापा पक्षले लिङ्देनविरुद्ध कडा कदम चाल्ने तयारी गरेको छ । यसरी नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई असफल तुल्याउन कमल थापा सक्रिय भएपछि थापालाई पार्टीको साधारण सदस्यताबाट पनि हटाउनुपर्ने दबाब लिङ्देनमाथि परेको छ । र, उपयुक्त समय आएपछि कमल थापा, बुद्धिमान तामाङ र पशुपति शमशेर राणालगायतलाई कारबाही गरी पार्टीबाट निष्काशन गर्ने मानसिकता अध्यक्ष लिङ्देनले बनाएको थाहा हुन आएको छ ।

राप्रपाभित्र उत्पन्न तनाव र विवादले उक्त पार्टीलाई मात्र नभइ सिङ्गै राष्ट्रवादी कित्तालाई समेत असर पर्ने देखिएको छ । २०४७ सालमा राप्रपा स्थापना भएयता पञ्चहरू स्थायी तनाव र विवाद तथा पटक-पटक विभाजनको अवस्थाबाट गुज्रँदै आएका छन् । लिङ्देनको नेतृत्वमा उक्त पार्टी गुमेको हैसियत पुनःप्राप्ति गर्न सफल हुने विश्वास बढाएको थियो । थापालगायतका केही नेताले पैदा गरेको विवाद र झमेलाका कारण राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि कुनै उपलब्धि हासिल गर्न नसक्ने सङ्केतहरू देखिएका छन् । लिङ्देनलाई असफल तुल्याउन पुराना पञ्चहरू नै पर्याप्त रहेको अर्थ विश्लेषकहरूले लगाएका छन् । तर राजा र राजेन्द्र लिङ्देनविरुद्ध क्रियाशील भए पनि थापा तत्काल पार्टी विभाजनको पक्षमा भने नरहेको बताइन्छ । छुट्टिएर भन्दा पार्टीमै रहेर लिङ्देनलाई असफल बनाउन सकिने भएकोले पनि कमल थापा पार्टी नछुट्याइकन ‘लड्ने’ मानसिकतामा भएको बुझिएको छ ।