अहङ्कार केको लागि र कहिलेसम्म ?

अहङ्कार केको लागि र कहिलेसम्म ?


जीवनमा अजम्बरी केही छैन । त्यसैले सबैभन्दा शक्तिशाली चीजको पनि म्याद समाप्त हुन्छ । आफूमा अहङ्कार छ भने मसानघाटको एक चक्कर लगाएर आउनुपर्छ- त्यहाँ मैहुँ भन्ने महान् व्यक्तिहरू पनि खरानी भएर माटोमा विलीन भएका छन् ।
  • डा. टेकनारायण पौडेल

अमेरिकामा एक पटक क्यालिफोर्नियाको सडकमा एक वृद्धलाई पिसाब गरिरहेको देखेपछि प्रहरीले उनलाई समातेर घरमा पु¥यायो । तिनलाई उनको श्रीमतीको जिम्मा लगाउँदै घरमै राखेर ख्याल गर्न र टाढा जान नदिन निर्देशन दिए । श्रीमतीले प्रहरीलाई धन्यवाद दिइन् र मायालु तरिकाले सम्हाल्दै वृद्ध श्रीमानलाई भित्र लगिन् ।

वास्तवमा ती वृद्ध मान्छे कसैलाई केही नभनी जहाँसुकै र जुनसुकै बेला आफै घरबाहिर निस्किन्थे । उनी कसैलाई चिन्दैनथे र आफूले के गर्दैछु भन्ने पनि हेक्का पाउँदैनथे ।

श्रीमतीले उनलाई बारम्बार सम्झाइरहन्थिन्- ‘तपाईंले आफ्नो ख्याल राख्नुपर्छ । यसरी नभनिकन बाहिर ननिस्कनु होला, अब तपाईं बुढो भइसक्नुभयो । तपाईँको गर्विलो इतिहास छ । सबैले हजुरलाई चिन्छन्, तपाईंले त्यस्तो लाज लाग्ने व्यवहार गर्नुहुँदैन ।

ती वृद्ध जसलाई प्रहरीले बीच बाटोबाट समातेर घरमा लगे, उनी कुनै समय अमेरिकाको चर्चित चलचित्रकर्मी थिए । मानिसहरू तिनको एक झलक पाउन लालायित हुन्थे ।

उनको लोकप्रियता यति थियो कि उनी एक्लै राजनीतिमा प्रवेश गरे र संसारको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा उदाए र एक दिन उनी अमेरिकाको राष्ट्रपति बने ।

उनको नाम ‘रोनाल्ड रेगन’ थियो ।

उनी सन् १९८० मा रेगन संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बने र, ८ वर्षसम्म उनी संसारको सबैभन्दा शक्तिशाली व्यक्ति रहे । राष्ट्रपति हुँदा उनीमाथि गोली प्रहार भएको थियो, अस्पतालमा धेरै दिन बिताएर ह्वाइट हाउस फर्किएपछि उनको लोकप्रियता दोब्बर भएको थियो । रेगन आफ्नो समयमा अमेरिकाको सबैभन्दा लोकप्रिय नाम थियो ।

जब उनले राष्ट्रपतिको कार्यकाल सके र आफ्नो व्यक्तिगत सामान्य जीवनमा फर्किए, त्यसैको केही दिनसम्म सबै ठीकठाक चलिरहेको थियो, तर केही दिनपछि उनलाई अल्जाइमर्स भएको पत्ता लाग्यो, उनको स्मरणशक्ति कमजोर हुँदै गयो ।

शरीर थियो । कुनै सम्झना थिएन । तिनले बिर्सिए कि एक समय थियो, मानिसहरू उनको एक झलकको प्रतीक्षामा घन्टौँ कुरेर बस्ने गरेको ।

आफ्नो सुरक्षा संसारकै उच्चतम श्रेणीको हो भनेर बिर्सिए, अवकाशपछि उनले सबै कुरा बिर्सिए, तर यो अमेरिकाको घटना थियो । सबैको अगाडि आयो ।

एक समय संसारमा शासन गर्ने यो व्यक्ति याददाश्तले छोडेर गएपछि उसँग केही रहेन उनी जीवित भए पनि जीवन सकिएको थियो ।

त्यसैले सबैभन्दा शक्तिशाली चीजको पनि म्याद समाप्त हुन्छ । जीवनमा अजम्बरी केही छैन । आफूमा अहङ्कार छ भने मसानघाटको एक चक्कर लगाएर आउनुपर्छ- त्यहाँ मैहुँ भन्ने महान् व्यक्तिहरू पनि खरानी भएर माटोमा विलीन भएका छन् । समाजका दिग्गज ठालुहरू पनि समय सकिएपछि मुन्टो लुकाइ लुरुलुरु हिँडेका पनि छन् ।

आखिर यो अहङ्कार केको लागि र कहिलेसम्म ?