अहं ब्रह्मास्मि !

अहं ब्रह्मास्मि !


  • डिल्ली अम्माई

‘अहं ब्रह्मास्मि अर्थात् मेरो शरीर तथा चेतन शक्तिभित्र ब्रह्माण्डको सबै भौतिक तत्व र उर्जा समाहित छ । त्यसैकारण म ब्रह्मको अंश हुँँ ।’

वेदको यो महावाक्य ब्रह्म चेत तथा ब्रह्माण्डको भेदलाई बुझाउन काफी छ । ब्रह्माण्डका समस्त उर्जा तत्व र पदार्थ तत्वको सन्तुलनले जिवात्माको शरीर बनेको कुरालाई संस्कृतको शास्त्रीय बाक्यमा भनिएको छ, ‘अहं ब्रह्मास्मि’ । ब्रह्माण्ड आफै केन्द्रीकरण र फैलावको अन्तरसङ्घर्षले अन्तरिक्षमा नौकाको भाँती चलायमान छ । हाम्रो ब्रह्माण्ड अनन्त ब्रह्माण्डको एक सदस्य हो । यो स्वरुप, शक्ति र पदार्थको मापनमा पनि अज्ञात र अनन्त छ । त्यसैले ब्रह्माण्डको शक्ति तथा पदार्थको अनन्ततालाई कसैले मापन गर्न सक्दैन ।

ब्रह्माण्डको व्यापकतालाई अझै परिष्कृत र शास्त्रीय रुपमा ईश उपनिषदमा यसरी बताइएको छ-

‘ॐ पूर्णमद: पूर्णमिदं पूर्णात्, पूर्ण मुदच्यते,
पूर्णस्य पूर्णमादाय, पूर्ण मेवा वशिष्यते ।’

अर्थात्, इथरमा त्यो जो देखिँदैन त्यो आफैमा पूर्ण छ । किनकि पूर्णताबाटै सम्पूर्णताको उत्पत्ति हुने हो । देखिने ब्रह्माण्ड पनि पूर्णताभित्र अनन्त छ । त्यही अनन्त ब्रह्माण्डको पदार्थ र उर्जाले पृथ्वी, यसको वातावरण र जीव तत्व बनेको हो । आन्तरिक लय र बिलयको अन्तरसंघर्षको परिणाम स्वरुप सम्पूर्ण किसिमले ब्रह्माण्ड परिपूर्ण छ । त्यस सम्पूर्णताबाट पूर्णतालाई निकाल्दा पनि पूर्ण नै शेष रहन्छ ।

ब्रह्माण्डका पदार्थ र उर्जाका शुक्ष्मदेखि शुक्ष्म इकाईहरू, अन्तरसंघर्षबाट पैदा हुने नयाँ तत्वहरू, सबैको प्रमुख आधार दृश्य ब्रह्माण्ड (उर्जा र पदार्थ) हो । तर तत्वहरूको गठन, विघटन र रुपान्तरण पदार्थहरूको भित्र र बाहिर हुने गतिशिलताले निर्धारण गर्दछ । जसलाई अल्बर्ट आइष्टाइनको सुत्र E=mc2 (पिण्ड वा पदार्थ प्रकासको बेगमा गतिमान हुँदा उर्जामा परिवर्तित हुन्छ)ले प्रमाणित गरिसकेको छ । पदार्थको गतिसँग निरन्तर हुने हजारौँ फरक स्वभाव र चरित्रका अन्तरक्रियाले विशाल ब्रह्माण्डको साथै पृथ्वी तथा जीवहरूको सृष्टि भएको कुरालाई विज्ञानले स्विकार गरिसकेको छ ।

ब्रह्माण्डको लय र प्रलयको ध्वनी ‘ॐ’ :

‘कठोपनिषद्’मा लेखिएअनुसार ‘ॐ’लाई ब्रह्माण्डमा उर्जाद्वारा पदार्थको उत्पत्ति र विकासको कारक मानिएको छ । ‘ॐकार’ले ब्रह्माण्डको उत्पत्तिलाई अधर अरणि (पदार्थ) तथा उत्तर अरणि (उर्जा र शक्ति)तर्फ संकेत गरेको छ । ‘ॐकार’ एक अक्षरमा लेखिएको ब्रह्माण्ड रहस्यको सम्पूर्ण जानकारी हो भनेर पौराणिक वेद, खगोल तथा ज्योतिष शास्त्रमा समेत उल्लेख गरिएको छ ।

पौराणिक विज्ञानमा लेखिएअनुसार ‘अ’लाई समग्र स्थूल जगत् (दृश्य ब्रह्माण्ड) बुझाउने अक्षर मानिएको छ तथा ‘म’ लाई गति र उर्जास्वरुप मानिन्छ । उच्चारण गर्दा आउने ऊर्ध्व गतिको प्रभावबाट ‘ॐ’शब्द भित्रकोुमुकारले बिशाल ब्रह्माण्डको गतिलाई ध्वनिपूर्ण र लयबद्ध बनाउँछ । ‘ॐ’ शब्द उच्चारण गर्दा निस्कने ध्वनिमय गति र त्यसको कम्पनलाई संस्कृतमा अनुस्वार गति भनिएको छ ।

तत्वहरूको रुपान्तरण बस्तु वा पिण्डको गतिशिलताले निर्धारण गर्ने कुरा प्रमाणिक सत्य हो । पदार्थको गतिसँग हुने हजारौं अन्तरक्रियाले बिशाल ब्रह्माण्डको साथै पृथ्वी तथा जीवहरूको सृष्टि भएको हो । कठोपनिषदमा लेखिएअनुसार ‘ॐ’ लाई ब्रह्माण्डमा शक्तिद्वारा पदार्थको उत्पत्ति र विकासको कारक मानिएको छ ।

त्यसैले आदिम खगोल शास्त्रमा ब्रह्माण्डको उत्पत्ति, विकास र अन्त्यको कारण समेत ‘ॐ’ लाई मानिएको हो । छोटकरीमा भन्दा, पौराणिक वेद उपनिषद्हरूमा लेखिएको ‘ॐ’ वास्तवमा ब्रह्माण्डका क्रिया प्रतिक्रियाहरूको सांकेतिक भाव–ध्वनी हो ।

‘अहं ब्रह्मास्मि’को व्युत्पत्ति र भाव :

कृष्ण यजुर्वेदीय उपनिषद ‘शुकरहस्योपनिषद’ (बृहदारण्यकोपनिषत् अध्याय १, ब्राह्मणम् ४, मंत्र १०) मा महर्षि वेदव्यासको आग्रहमा तात्कालिक खगोल गणितज्ञ सदाशिवले व्यासपुत्र शुकदेवलाई चार वाक्यमा ब्रह्माण्डको रहस्यस्वरुप दिएको उपदेशमध्ये एक हो ‘अहं ब्रह्मास्मि’ (म ब्रह्म हुँ) । त्यसपछि वेदमा बताइएका ब्रम्ह ज्ञान हुन् । तत्त्वमसि (तिम्रो चेतन शरीर), अयमात्मा (चेतना र जीव तत्व) र प्रज्ञानं (प्रमाणित/सिद्ध ज्ञान) सबै ब्रह्मका शुक्ष्म रूप हुन् ।

खगोल विज्ञानको विकासमा पौराणिक कालका खगोलविद् र ऋषिमुनिहरूको ठुलो योगदान रहेको कुरा हामीले पौराणिक उपनिषद्बाट थाह पाउन सक्छौँ । वेद उपनिषद्का चार महावाक्यमध्ये एक ‘अहं ब्रह्मास्मि’ पनि हो । अहं ब्रह्मास्मिलाई अलग गरेर अर्थ बुझ्दा ‘अहं ब्रह्म अस्मि’ हुन्छ । नेपालीमा त्यसको अर्थ हुन्छ- ‘म ब्रह्म हुँ ।’ यसलाई यसरी पनि बुझ्न सकिन्छ कि म, ऊ, त्यो सबै जिवात्मा ब्रह्मका प्रतिरुप हुन् ।

कपिल मुनिले परापूर्व कालमा शाङ्ख्य सुत्रमा संकेत गरेको प्रकृति र पुरुषको रुपमा जीव तथा प्रकृतिको उत्पत्ति र सम्बन्धलाई बताएका छन् । मुनिले महत्व दिएको जीव र प्रकृतिको अन्तरसम्बन्धलाई ब्यापक रुपमा लैजाँदा ब्रमाण्डको पदार्थ र शक्तिको रुपमा बुझ्न पनि सकिन्छ । पौराणिक दर्शन तथा साहित्यमा खगोलका पाँच भौतिक महातत्व (पाँच महाभूत)लाई उत्पत्तिको आधारको रुपमा व्याख्या गरिएको छ ।

यसमा कुनै शङ्का छैन कि जीवको उत्पत्तिको प्रमुख आधार पनि प्रकृतिप्रदत्त पदार्थ नै हो । खास रुपले जीव खगोलीय रसायनको सन्तुलनबाट सृष्टि भएको हो । उत्पति कालको जीव एक कोषीय र सरल बनावटको भए पनि जीव विकास क्रमशः सरलताबाट जटिलतातर्फ गइरहेको छ ।

मानिसको सृजना ब्रहमाण्ड तथा जीव-जगतको सबैभन्दा जटिल प्रक्रियाबाट विकास भएको हो । मानिसमा पदार्थको भौतिकी समिश्रणका साथै जैविक शक्तिको समेत विकसित रुप छ । ति दुवैको रासायनिक प्रतिक्रियाले मानिसभित्र जटिल मानसिक तहहरूको निमाण गरेको छ । त्यसमा मानिसको अनुभवको लामो शृंखला तहगत रुपमा संग्रहित छ । त्यसले मानिसको बंशाणुगत अरुबाट भिन्न र विशेष बनाएको छ । किनकि मानव शरीर पनि खगोलीय पदार्थकै प्राकृतिक तत्व संयोजन सुत्रद्वारा सृजना भएको हो ।

त्यसैले जीवको भौतिक परिचय भनेकै ब्रमाण्डका रसायनहरूको प्राकृतिक सुत्रबद्ध संयोजन हो भन्न सकिन्छ । शरीरलाई पदार्थको जैविक सन्तुलनले जटिलता प्रदान गरेको छ । त्यहि जटिलताको संयोजनबाट जीवभित्र प्राण तत्वको विकास भयो । त्यो पदार्थको शक्ति र शक्तिको जैविक तत्वमा रुपान्तरणबाट संयोगवश सम्भव भएको हो । मानिस अरु जीव भन्दा भौतिक रुपमा कत्तिपनि फरक छैन । तर मानिसलाई आफूभित्र विकास गरेको निरन्तरको जिज्ञाशु गुण, गतिशिलता तथा अनुभवको संग्रहले युगान्तरमा भिन्न किसिमले रुपान्तरण गर्दै लग्यो ।

त्यसैले मुनिहरूले संकेत गरेको ब्रह्म पदार्थ भन्नाले त्यसको भौतिक रुप मात्र नभएको बताउँदै द्रष्टा, दृश्य, दर्शन भन्दा बाहिरका शक्ति र तरङ्गहरू पनि ब्रह्म हुन् भनेका छन् र उर्जाको भाव पक्षलाई पनि ईथरको परिभाषाभित्र समेटेका छन् । मानिसको दिमाग र हृदयबाट चल्ने क्वान्टम तरंगको छाल र त्यसले सृजना गर्ने भावले हाम्रो दिमागद्वारा ज्ञान, विवेक, सम्झना र भावनाको रुपमा निरन्तर शरीरलाई नेतृत्वदायी प्रभाव पारिरहन्छन् भन्ने कुरालाई पनि पौराणिक उपनिषद्हरूमा उल्लेख गरिएको पाइन्छ ।

जैविक विकास र ब्रह्माण्डको सम्बन्धबारे डार्विन, आइष्टाइन, न्युटन, हकिङलगायत धेरै भौतिकशास्त्रीहरूले धेरै खोज तथा अनुसन्धान गरिसकेका छन् । त्यसैगरी महर्षि विश्वामित्र, कपिल मुनि, चार्वाक, शुकदेव, बुद्ध, खगोलशास्त्री आर्यभट्ट ९४७६ (५५० एडी), ब्रह्मगुप्त ९५९८ (६६८एडी) भाष्कर, मार्क्स, सुक्रेटसहरूले समाज विकासलाई पदार्थको विकास र रुपान्तरणमुखी भौतिक धारबाट व्याख्या मात्र गरेनन् । सोच र बिचारको क्षेत्रमा युग रुपान्तरणको सैद्धान्तिक नेतृत्व समेत गरे । यसरी मानव जिनको विकासमा उत्कृष्ट चरणले उनीहरूको चेतानाकोशको विकास भयो भन्ने कुरा डार्विनको विकासवादी सिद्धान्तले समेत पुष्टि गरिसकेको छ ।

सबै मानिसमा चेतनाको उही तहमा किन विकास हुन सकेन भन्ने एउटा सोझो जिज्ञासा राख्न सकिन्छ । मानसिक तहमा एकै नासको विकास कहीँ पनि सम्भव छैन र त्यसलाई भौतिकवादी दृष्टिकोणबाट हेर्दा पनि सहज मानिँदैन ।

त्यसको एउटा कारण के हुन सक्छ भने, मानसिक सक्रियताले हरेक मानिसको जैविक र चेतनाको स्तरलाई निकै प्रभावित पार्दछ । परापूर्व कालदेखि नै केही मानवहरूले समेत दिमागलाई त्यति सक्रिय बनाएनन् र शारीरिक श्रममै जीवन बिताए । ति समुदायका मानिसले आफूलाई सदैव सामान्य नै राखे । यसको मतलव गिदीभित्र रहेको सम्पूर्ण कस्मिक रसायनलाई जिज्ञासाको गतिशीलताले निरन्तर अघि बढाउन नसक्ने मानिस वा जीव नै किन नहुन् सामान्य अवस्थामै रहे भने मानिसको मानसिक सक्रियतासहित तीव्र गतिमा रहेको शारीरिक गतिसमेत तापसँगको अन्तर संघर्षले चेतन शक्तिमा रुपान्तरित हुँदै गयो ।

जीवमा अन्य पदार्थको तुलनामा गतिशीलता तीव्र हुन्छ र गतिको तीव्रताले ऊभित्र ताप र पदार्थबीचको संघर्षलाई तेजिलो बनाउँछ । त्यही संघर्षले करोडौँ वर्षको अन्तरालमा मानिसभित्र अन्तर्निहीत प्रकृतिको उत्कृष्ट चेतना जन्मेको हो ।

लय र विलयको सृङ्खला :

हाम्रो शरीरको अन्तिम रूप पदार्थ हो । पदार्थको एक सृङ्खला लयमा जान्छ र जीव तत्वको उत्पत्ति गर्छ । अर्को सृङ्खला विलयमा समाहित हुन्छ । जैविक सक्रियतापछिको मृत्यु आखिर जीवनको त्यही विलय हो । निरन्तरको फ्युजनबाट ताराहरूमा हाइड्रिजन सकिए जस्तै मृत्युपछि जीव तत्व शरीरबाट सकिन्छ र शरीरका अवशेषहरू पनि अणु-परमाणुमा बिच्छेद हुन्छन् । पानी वाष्पीकरण भएर उड्छ । यो प्रक्रिया ब्रहमाण्डमा पनि निरन्तर चलि रहन्छ । विशाल ताराहरू नाभकीय गुरुत्व केन्द्रीकरण र उर्जाको निष्कासनबीचको द्वन्द्वले महाविष्फोट हुन पुग्दछन् । त्यसपछि त्यहाँबाट विकिरणयुक्त उर्जाको साथै हाइड्रोजन ग्याँसको विशाल बादल बाहिर फैलिन्छ । त्यही बादलबाट अर्को चरणका ताराहरूको जन्म हुन्छ भने बीचको गह्रौँ पदार्थबाट न्युट्रन तारा बन्दछ । त्यो तारा आफ्नै असीमित गुरुत्वाकार्षण र गतिका कारण लयबाट विलयमा समाहित हुन्छ । त्यो गह्रौँ तारा आफ्नै केन्द्रमा खुम्चिएर अदृश्य हुन्छ र असिमित गुरुत्व भएको बलशाली कालो छिद्र (हिरण्यगर्भ) बन्दछ ।

ब्रह्माण्डको नियम र शारीरिक प्रणालीबीचको सम्बन्ध :

माथि नै भनियो, जीव सृष्टिको विशिष्ट तथा क्लिष्ट संरचना हो । हाम्रो शरीरको रचना जटिल ब्रह्माण्डीय रासायनिक प्रक्रियाबाट भएको कुरामा कसैले शङ्का गर्नु आवश्यक छैन । खगोलशास्त्रीहरू भन्दछन्, ‘जीवात्माको शरीर सिङ्गो ब्रह्माण्डको संक्षिप्त नमुना हो ।’ जीवात्माको शरीरमा पनि ब्रहमाण्डको जस्तै चक्र हुन्छ । जीवात्माको जीवनचक्रका नियमहरू पनि ब्रहमाण्डका नियमसँग मिहीन रुपमा मिल्दाजुल्दा नै छन् ।

जसरी हामीले खाएको खाना आमाशयमा जम्मा हुन्छ, खानारुपी पदार्थको केन्द्रीकरणपश्चात हुने रासायानिक प्रतिक्रियाले शरीरभित्र पाचनप्रक्रिया शुरु गर्न थाल्छ । जीवात्माको शरीरले खानालाई पचाउनको लागि आवश्यक ताप शरीरले आफूभित्रबाटै उत्पन्न गर्दछ । त्यहाँ शारीरिक गति र रासायनिक प्रतिक्रियाको उचित तालमेल हुन्छ । परिणामस्वरुप खाना उर्जामा रुपान्तरण हुन्छ । त्यही शक्तिले हो शरीर र मस्तिष्कलाई क्रियाशील गराउने । त्यो सबै ब्रहमाण्डको भौतिक नियमअनुशार नै हुन्छ ।

ब्रहमाण्डको बीच हुने कालो असीमित गुरुत्व भुमरी (ब्ल्याक होल)ले पनि ठिक त्यसैगरी आफ्नो पाचनप्रक्रिया पूरा गर्छ र नयाँ निहारिकाको सृजनामा भाग लिन्छ ।

ब्रह्माण्डीय परिचक्रमा पनि जीवात्माको शरीरमा झैँ अणु र परमाणुहरूको लय र विलय भइरहन्छ । पदार्थ उर्जा बन्दछ भने उर्जाले एक चक्र पूरा गर्दै पुन तीव्र प्रतिक्रियामार्फत पदार्थमा आफ्नो रुप फेर्दछ । खगोल विज्ञानले प्रमाणित गरिसकेको छ कि ब्ल्याक होलले पनि पिण्ड र कस्मिक बादलमा भएको पदार्थ खाएर ठोस पदार्थलाई कस्मिक किरणहरूमा रुपान्तरण गर्दछ । त्यसलाई भौतिक कस्मोलोजीमा ‘हकिङ रेडिएसन’को नामले बुझिन्छ ।

पदार्थबाट रुपान्तरित भएको ब्रहमाण्डको उर्जा (कस्मिक किरण र चुम्बकीय तथा विद्युतीय शक्ति) भन्नाले पदार्थका परमाणुको प्रोटोनमा भएको रुपान्तरण हो । पदार्थको शक्तिमा रुपान्तरणको यात्रामा गति र ताप निर्णायक हुन्छन् । शरीरमा जस्तै ब्ल्याक होलमा पनि इभेन्ट होराइजन (पदार्थमा हुने परिघटनाको अन्तिम क्षितिज)भित्र पदार्थको गतिको असीमिताताले ताप उत्पन्न गर्छ र त्यो अधिक ताप तथा गतिको अन्तरक्रियाले पदार्थको बाष्पीकरण हुन्छ ।

पदार्थको विलय भनेको शक्तिको उदय हो । ठोश पदार्थ गति र तापको उचित रासायनिक प्रतिक्रियाले एक्सरे किरण, रेडियो तरङ्ग, अवरक्त किरण, गामा- पराबैंगनी किरण, विद्युत चुम्बकीय विकीरण र दृश्य प्रकाशको रुपमा रुपान्तरित हुन्छ । त्यहि उर्जा र रेडिएसन वार्म होल हुँदै ह्वाइट होलमा प्रवेश गरेपछि अर्को निहारिका वा ब्रह्माण्डको कच्चा पदार्थ बन्दछ । अर्थात् त्यसैले पदार्थ निर्माणको लागि अर्को कस्मिक महासागरको सृजना गर्दछ ।

आधुनिक भौतिक विज्ञानले प्रकाशको परमाणु क्वान्टमको प्रवृत्ति र बनावटबारे समेत धेरै तथ्यहरू सार्वजनिक गरिसकेको छ । उर्जा र प्रकाशको सानो इकाई क्वान्टा तथा फोटोन (E=hv) र पदार्थको सबैभन्दा सानो इकाई परमाणु भएझैँ ब्रहमाण्डको सबैभन्दा सानो इकाई तरङ्ग र तार (स्ट्रिङ्ग)हरू मिलेर बनेको क्वार्क हो । परमाणुहरूमा प्रोटोन र न्यूट्रोनहरू मिलेर बनेको न्यूक्लियस हुन्छ र, तीन क्वार्कले इलेक्ट्रोन जस्तै कण बनाउँछ ।

स्ट्रिङ थ्योरीका अनुसार ब्रह्माण्डमा रहेका सबै कण वा तरङ्ग वा अन्य कुरा (एक आयामि कण) मिलेर बनेका हुन्छन्, स्ट्रिङहरू फरक-फरक प्रवृत्तिका हुन्छन् । तिनै इलोक्ट्रोनिक कम्पनहरूले पदार्थको निर्माण गर्ने हुन् । महाबिष्फोट पछि खर्बौं वर्षसम्म स्पेस कम्पनसहित गतिमान भयो । यो निरन्तर विष्फोटको धक्काले परमाणुहरूको निर्माण गर्दै फैलिइरह्यो । त्यो क्रम अझै जारी छ । यो साँचो हो कि ब्रह्माण्डमा अवस्थित सबै चीजहरू केवल महाबिष्फोटले उत्सर्जन गरेको उर्जा, रेडिएसन तथा त्यसको कम्पनबाट बनेका हुन् ।

त्यसैले सबैभन्दा सानो परमाणुमा पनि सदैव ब्रहमाण्डको नियम हाबी छ । परमाणुहरू प्रोटोन, न्यूट्रोन र इलेक्ट्रोन भनिने अत्यन्तै स-साना कणहरूबाट बनेका हुन्छन् । प्रोटोन र न्यूट्रोनहरू परमाणुको केन्द्रमा हुन्छन्, न्यूक्लियस बनाउँछन् । इलेक्ट्रोनहरूले न्यूक्लियसलाई घेरेका छन् । प्रोटोन र इलेक्ट्रोनमा चार्ज ठ्याक्कै एउटै तर विपरीत छ । इलोक्ट्रोनहरूमा नकारात्मक चार्ज र प्रोटोन सकारात्मक चार्ज हुन्छ । त्यसैले परमाणुभित्र हुने विपरीत चार्ज बीचको द्वन्द्वले त्यो परमाणुको भौतिक अस्तित्व निर्धारण गर्छ ।

कालो छिद्रको वरिपरि समस्त निहारिकाले चक्कर लगाएजस्तै इलोक्ट्रोनले पनि न्युक्लियसको निरन्तर चक्कर लगाइरहन्छ । जेफरसन ल्याबका अनुसार प्रारम्भिक परमाणुहरू मुख्यतया हाइड्रोजन र हेलियम थिए, जुन अझै पनि ब्रह्माण्डमा सबैभन्दा प्रचुर मात्रामा प्राप्त हुने तत्वहरू हुन् ।

एक जीव र त्यसमा पनि मानव शरीरको सम्पूर्ण प्रणाली भौतिक, रासायनिक र जैविक चेतना तत्वको अद्भुत खगोलिय सृजना हो । जसमा ब्रहमाण्डका सबै ब्रह्म तत्वहरूको सन्तुलित समिश्रण छ । भौतिक ब्रमाण्डको सुक्ष्म रुप नै एक परमाणुलाई मानिएको छ । अहिले देखिने भौतिक ब्रहमाण्ड महाबिष्फोटको उर्जा र तापबाट सृजना भएको हुनाले परापूर्व कालदेखिकै खगोल शास्त्रीहरूले शक्तिलाई पदार्थको कारण मानेको हुनुपर्छ ।

पूर्वीय दर्शनमा खगोलीय ज्ञानको धार :

प्रोफेसर विन्टर निट्जका अनुशार पूर्वीय खगोलविदहरूले इशापूर्व २०००–२५०० काल देखिने खगोलसम्बन्धी खोज शुरु गरेको मानिन्छ । ऋग्वेदमा लिखित ३० भन्दा बढी ऋचाहरू (श्लोकहरू)ले ब्रहमाण्डसम्बन्धी पौराणिक खोजलाई स्पष्टसँग प्रमाणित गरेको छ । गृतसमदका छोरा शौनक ऋषिले ऋग्वेदको बश्कला र शाकला शाखालाई जोडेर एउटा बनाउने कार्य गरेको मानिन्छ । उनले दश हजार विद्यार्थी पढाउने गुरुकुल स्थापना गरेका थिए । जसलाई गुरुकुलका पहिला कुलपति पनि भनिन्छ ।

परापूर्व कालको अध्यायन पद्धति खोज तथा अनुसन्धानमुलक थियो र गुरुकुलहरू तात्कालिक अनुसन्धानका केन्द्र थिए । शिक्षक विद्यार्थी सबैले तपस्या (सामर्थ्य)बाट प्राप्त ज्ञान शिपलाई सर्बोपरि मान्थे । जसको ज्ञानचक्षु जागृत हुन्छ, उसलाई ऋषि भनिन्छ । जसको दिव्यचक्षु जागृत हुन्छ, उसलाई महर्षि भनिन्छ भने जसको परमचक्षु जागृत हुन्छ उसलाई ब्रह्मर्षि भनिन्छ ।

ब्रह्मर्षीहरूले हिरण्यगर्भलाई उर्जा र पदार्थको प्रमुख केन्द्र हो र त्यसैबाट ब्रह्माण्डको उत्पत्ति र अन्त्यको स्रोत मानेका थिए भने अहिलेका बैज्ञानिकहरूले हिरण्यगर्भलाई व्हाइट होल तथा ब्ल्याक होल नामाकरण गरिदिएका छन् । भृगु, अंगिरस, अत्री, विश्वामित्र, कश्यप, वशिष्ठ, शाण्डिल्य, दधिची, भारद्वाज, जमदग्नि, गौतमलगायतका ऋषिमुनिहरू ब्रह्मर्षि हुन् जसले कठिन तपस्या र लामो अनुसन्धानबाट संसारलाई ब्रह्माण्डका धेरै रहस्यहरूबारे जानकारी दिएका थिए । त्यो बेला ब्रह्मर्षिहरूलाई खगोल बेत्ता, ब्रह्म ज्ञानी र ब्रह्मज्ञाता पनि भनिन्थ्यो । उनीहरूले आफ्ना अनुसन्धानहरू पुष्टि गर्न र विमर्शको लागि बेला-बेलामा अन्तराष्ट्रिय स्तरका ब्रह्मसभाहरू पनि गरिरहन्थे । गुरुकुलमा उनीहरूको आफ्ना बेग्लै अध्ययन मण्डली पनि हुन्थ्यो भने अन्तर्राष्ट्रिय स्तरको आधुनिक नासा जस्तै ब्रह्मसभा पनि बनाएका हुन्थे । तात्कालिक इन्द्रका सभाहरूमा समेत गुरु बिह्रस्पतिद्वारा ब्रह्माण्डको बारेमा चर्चा गर्न ब्रह्मसभाहरू बोलाएका धेरै उदाहरणहरू उपनिषद्हरूमा पाइन्छ ।

ऋषिहरूको खोज अन्वेषणमा अवरोधको शुरुवात :

पौराणिक खगोल विदहरूले तारा वा ग्रहहरूको अवस्थिति, गति, ऋतुचक्रबारे धेरै कुरा पत्ता लगाएका थिए । तर मध्येयुगमा खगोल विज्ञानको विकास विभिन्न कारणले अरिुद्ध भयो र पुरानो खगोल विज्ञानलाई धार्मिक अन्धतासँग जोडेर विकृत बनाइयो । ऋषिमुनिहरूले बहस तथा अनुसन्धानको लागि धेरै स्थानमा बहस अनुष्ठान तथा प्रयोगशाला निर्माण गरेका थिए । पछिल्लो चरणमा धार्मिक अन्धताको आगोले जलेर ति सबै केन्द्रहरू खरानी भए । ऋषि चार्वाक लगायतका प्रायः सबै भौतिकवादी र खगोलिय उपकरणसहित अनुसन्धानका धेरै निष्कर्षहरू जलाइए । धार्मिक अन्धताकै कारण पछिल्लो चरणसम्म बचेको हाल पाकिस्तानमा रहेको तक्षशिला गुरुकुल विश्व विद्यापिठ तथा अनुसन्धान केन्द्र पनि समाप्त पारियो ।

पूर्वीय दर्शनको प्रयोगात्मक भौतिकवादी धार त्यसपछि छिन्नभिन्न हुँदै गयो । भारतवर्षमा प्रज्ञानं ब्रह्म, अनात्मा ब्रह्मका अन्वेषक र समर्थकहरूले नास्तिकको आरोपमा ज्यान गुमाए । उनीहरूको दोष भनेकै इन्द्रिय गम्य अनुभवलाई ज्ञानको रुपमा मान्नु थियो, अर्थात् प्रज्ञानलाई नै ब्रह्मको रुपमा स्वीकार गर्नु थियो ।

आदिम साम्यवादी गुरुकुल प्रणालीका प्रमुख शत्रु इन्द्रलगायत देवता र दानव थिए । देवताका राजा इन्द्रलाई गुरुकुलले समेत आफ्नो भाग दिनु पर्दथ्यो भने माताहतका राज्यहरू देवता र दानवको केन्द्रिकृत औपनिवेशिकतामा थिचिएका थिए ।

ब्रमाण्डमा सूर्यको गतिको मापनपछि सुर्यले निहारिकाको पूर्ण परिक्रमा गर्ने समय (ब्रह्म वर्ष)को समेत मापन गर्न थालिएका ती पौराणिक अनुसन्धान केन्द्रहरूलाई तात्कालिन राक्षसरुपी राजाहरूले तहसनहस पारेका, ऋषिमुनिहरू मारिएका प्रसङ्गहरूबारे पूर्वीय उपनिषद्हरूले धेरै ठाउँमा उल्लेख गरेको छ । त्यसपछि खगोल तथा भौतिक विज्ञानकको विकासले आफ्नो लय समात्न युगौँको समय कुर्नुपऱ्यो ।

ऋषिहरूको आफ्नै परिषद् हुन्थ्यो र आफ्नै परिषद्का नियमअनुशार मण्डली सञ्चालन गरिन्थ्यो । उनीहरूले राजाहरूद्वारा थोपरिएका नीति-नियमहरूलाई अस्विकार गर्दथे ।

स्वर्गका राजा नहुसको शासनपछि ब्रह्मर्षिलाई दण्डित गर्ने श्रृङ्खला अझै बढेर गएको कुरा भागवत पुराणमा छ । राजा नहुसले इन्द्रको पत्नी सचीसँग विवाह गर्न सप्त ऋषिद्वारा बोकिएर उनको निवासमा जाँदा अगस्त्य मुनिलाई लात्तीले हानेको प्रसङ्गले त्यो बेलाका ऋषिमुनिहरूमाथि कति अत्याचार थियो भनेर अनुमान गर्न सकिन्छ ।

दासयुगको शुरुवातपछि धेरै निरङ्कुश राजाहरूले आफूलाई ईश्वर घोषणा गरे । ब्रह्मसभाको विरुद्ध राजाहरूले धर्मसभालाई मान्यता दिन थाले । ब्रह्मऋषि मण्डलीले उनीहरूको निरंकुशतालाई अस्विकार गऱ्यो । तात्कालिन राजा दक्ष प्रजापतिहरूले आफूबाट मानव र आफ्ना पिताबाट पृथ्वीलगायत ब्रह्माण्डको सृष्टि भएको लेखाउन चाहन्थे तर ऋषिहरूले हिरण्ड्यगर्भ (आधुनिक ब्ल्याक होल) बाट ब्रह्माण्डको सृजना भएको कुरा लेखे । त्यसपछि ऋषिहरूका प्रयोगशाला र अनुसन्धान केन्द्रमाथि राजाहरूले आक्रमण बढाउँदै लगे । ऋषिमुनिहरूले सञ्चालन गरेका बहस र अनुसन्धान केन्द्र नामेट पारिए । दास युगपछि राजालाई भगवान मान्ने भक्तिप्रथाको शुरुवात भयो, ज्ञान र तपस्याको युग सकियो ।

बुद्ध तथा कपिल मुनिद्वारा प्रतिपादित सिद्धान्तले बताउँछ कि पदार्थ (इथर) बिना उर्जा वा शक्तिको अस्तित्व रहँदैन, जीव तत्वको उत्पत्ति पनि प्राकृतिक समीकरणले सम्भव भएको हो । चेतना वा आत्माको छुट्टै परिचय खोज्नेहरू मुर्ख हुन् ।

चर्वाक जो गुरु बृहस्पतिको शिष्य मानिन्थे, दास युगको प्रारम्भिक चरणमा प्रचलित मान्यताभन्दा फरक मत राखे । उनले अनिश्वरवादी मत राखे अथवा त्यतिखेरको समाजले मान्दै आएको भन्दा बुद्धले जस्तै फरक भौतिकवादी मत राखे । उनले पदार्थलाई ब्रह्मको आधार माने । उनले बोधगम्य अस्तित्वलाई ज्ञानको विशुद्ध-रूप, बुद्धि-रूप, मुक्त-रूप और अविनाशी-रूप माने । उनी समाजबाट खेदिए ।

अनिश्वरवादी मतको प्रचार गर्ने क्रममा बुद्धसमेत धेरै पटक भाग्यमा आफ्नो भविष्य खोज्ने रुढिवादी मतवालाहरूको आक्रमणमा परे । किनकि उनी पनि मानव दुःखको कारण खोज्न निस्केका अनिश्वरवादी दार्शनिक थिए ।

चर्वाक दर्शनले ज्ञानको उचित स्रोतको रूपमा प्रत्यक्ष धारणा, अनुभववाद र सशर्त निष्कर्ष निकाल्ने पद्दतिलाई मान्दछ । दार्शनिक चार्वाक मतले हरेक विचारमा शंका गर्न सिकाएको छ र यसले अनुष्ठानवाद, तिलस्मी कल्पनावाद र अलौकिकतावादलाई अस्वीकार गर्दछ । ऋषि चार्वाकको आदिम भौतिकवादी धारणालाई प्राचीन भारतमा एक लोकप्रिय विश्वास प्रणालीको रुपमा लिइन्थ्यो । यो दर्शनले पुनर्जन्म र मोक्ष जस्ता काल्पनिक अवधारणाहरूलाई पनि पूर्ण रुपमा अस्वीकार गऱ्यो । ऋषि चार्वाकद्वारा प्रतिपादित ज्ञान दर्शनले स्पष्ट रुपले बताउँछ कि जब कसैले अवलोकन वा अनुभवबाट सत्यताको अनुमान गर्छ, उसले शंकालाई स्वीकार गर्नुपर्छ, अनुमानित ज्ञानलाई सशर्त रुपमा मात्र स्वीकार गर्नुपर्छ ।

यद्यपि चार्वाकको भौतिकवादी सिद्धान्त मध्ययुगीन धार्मिक पाखण्डकालमा नियोजित रुपमै गायब पारियो । यसको दीर्घकालिक ऐतिहासिक महत्वलाई बौद्ध र हिन्दू दार्शनिक ग्रन्थहरूमा समेत अज्ञात लेखकको नाममा कतै-कतै उतारिएको छ ।

भनिन्छ, बुद्ध दर्शनको ज्ञानको मुख्य स्रोत चार्वाक दर्शनबाट प्रभावित छ । ईसापूर्व प्रथम सहस्राब्दीमा काल्पनिक ईश्वरवाद, बलीप्रथा, मुर्तिपुजा र तिलस्मीवादको विरुद्ध विभिन्न प्रकारले विद्रोह समेत भयो । त्यही अवधिको आसपास जैन धर्मको पुनरुत्थान अभियान २३औँ अरिहन्त पार्श्वनाथद्वारा पुनः संगठित भएको थियो साथै, त्यो भन्दा अगाडिबाटै गौतम बुद्धद्वारा बौद्ध धर्मको स्थापना भएको थियो ।

निष्कर्षमा भन्नुपर्दा, जसरी नेगेटिभ र पोजेटिभ विद्युतीय धारहरूको अन्तरक्रियाबिना बजुली बल्दैन, प्रकाशको अस्तित्व दुई विपरीत विद्युतीय धारमा निर्भर भए झैँ आत्मा वा चेतनाको अस्तित्व पनि शरीर रहुन्जेल मात्र हो । प्रमुख सिद्धान्तकार ऋषि याज्ञवल्क्यले सबैभन्दा पुरानो उपनिषदमा, ब्रहदारण्यक (ईसा पूर्व ७००) को अध्याय २ मा आफ्नी विद्वान् शिष्या मैत्रेयीसँगको एक छलफलमा भनेका छन्- ‘त्यहाँ कुनै परलोक छैन, कुनै धर्म छैन, त्यसैले म भन्छु, मृत्युपछि चेतना वा आत्माको छुट्टै अस्तित्व रहँदैन ।’

माथिको भनाइले नै, जैविक र परजैविक अस्तित्वको प्रमुख आधार भौतिक पदार्थ हो, भौतिक पदार्थभित्र गति तथा उर्जाको कारणले निरन्तर अन्तरसंघर्ष भइरहन्छ, अन्तरक्रिया र संघर्षबिना ब्रह्माण्डको अस्तित्व सम्भव थिएन तथा अस्तित्वबिना भाव पक्ष रहँदैन भन्ने कुरालाई पुष्टि गर्दछ ।