हिमानीको क्रियाकलापले राजसंस्थाका समर्थक निराश

हिमानीको क्रियाकलापले राजसंस्थाका समर्थक निराश


हिमानीलाई रेष्टुरेन्टहरूमा लगेर ट्रष्टका लागि पैसाको जोहो गर्न लगाउनुलाई कतिले धुर्मुस-सुन्तली मार्काको समाजसेवामा संलग्न गराइयो भन्ने टिप्पणी पनि गरेका छन् ।

नेपालको राजपरिवारमा पूर्वयुवराज्ञी हिमानी शाहप्रति नेपाली जनताको फरक दृष्टिकोण छ । पूर्वयुवराज पारससँग विवाह गरेका कारणले युवराज्ञी पद प्राप्त भए पनि उहाँलाई पारसभन्दा फरक रूपमा हेरिन्छ । हिमानी ट्रष्टको स्थापना गरी समाजसेवामा संलग्न भएपछि उहाँलाई हेर्ने दृष्टिकोण थप फराकिलो भएको हो । विश्वका विभिन्न मुलुकमा राजपरिवारका सदस्यहरू सदियौँदेखि समाजसेवामा संलग्न भए पनि नेपालको राजपरिवार भने यसअघि समाजसेवामा यो स्तरमा संलग्न थिएन । पतिको फरक जीवनशैलीका बीच बच्चाहरूको हुर्काइ र रेखदेख तथा समाजसेवा दुवैका कारणले हिमानीप्रति मानिसहरूको फरक दृष्टिकोण रहिआएको छ ।

चर्चामा रहे पनि खासै विवादमा नआएकी हिमानी शाहले आफ्नो नाममा स्थापना भएको ट्रष्टको सहयोगार्थ हालै गर्नुभएको अमेरिका भ्रमणलाई लिएर भने नेपालीहरूबीच विभिन्न चर्चा परिचर्चा सुरु भएको छ । छोरा हृदयेन्द्रलाई कलेज अध्ययनका लागि बस्टनमा भर्ना गरेर अमेरिकाको विभिन्न स्थानको भ्रमण गर्नुभएकी हिमानीलाई हेर्न नेपालीहरू निकै उत्साहित भएर जम्मा भएका थिए । कतिपय ठाउँमा टाढा-टाढाबाट विमान चढेर पनि आएका थिए । हिमानी ट्रष्ट युएसए बिस्तार तथा फण्ड रेजिङ उहाँको भ्रमणको मूख्य उद्देश्य थियो । अमेरिकामा डा. हरि शर्माको अध्यक्षतामा हिमानी ट्रष्टको स्थापना भएको छ भने पाँच वटा स्टेटमा ट्रष्ट बिस्तार गरिएको छ । जसमध्ये क्यालिफोर्निया च्याप्टर अध्यक्ष चीन थापा लेनदेनमा फसिरहने ब्यक्ति भएको र महासचिव आनन्दु लामाले फोन गरी-गरी नेपालीहरूसँग ट्रष्टका नाममा पैसा मागेर हैरान पारेको नेपालीहरूबीच चर्चा छ ।

हिमानीको उपस्थितिमा विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पाँच सय डलर र त्योभन्दा बढी सहयोग गर्नेहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । यो कुरालाई लिएर कतिपय नेपालीहरूले ‘५ सय डलर तिरेर हिमानीको मुख हेर्न पाइयो’ भन्नेसम्मको प्रतिक्रिया दिएका थिए । प्राप्त जानकारीअनुसार, पैसा सहयोग गरेबापत प्रमाणपत्र दिइए पनि रसिद भने दिइएको थिएन । प्रायः संघ-संस्थालाई सहयोग गर्दा हिसाबकिताब राख्न सहज होस् भनी कति रकम दिइएको हो त्यसको रसिद राख्ने चलन हुन्छ । रसिद नदिइएकाले त्यसको हिसाबकिताबको पारदर्शितामाथि कार्यसमितिमै बस्ने मानिसहरूले प्रश्न उठाउन थालेका छन् ।

पूर्वयुवराज्ञी हिमानी अमेरिका आउने भन्ने टुङ्गो लागेपछि ट्रष्टलाई सहयोग गर्न इच्छुक कतिपयले जहाँ राखे पनि ‘फण्ड रेजिङ डिनर’ भनी एउटै कार्यक्रम राखौँ, निश्चित रकम तिरेर मानिसहरूले डिनरमा सामेल भइ फण्ड जम्मा गर्छन् भन्ने सुझाव दिएका थिए । तर पछि विभिन्न स्थानमा रहेका फरक-फरक रेष्टुरेन्टमा उहाँलाई प्रस्तुत गरेर कार्यक्रम राखियो । कतिपय कार्यक्रममा उहाँ ढिलो आएर नेपालीहरूले लामो समय पर्खिनु पऱ्यो भने कतिपय कार्यक्रममा उहाँ समयभन्दा अगाडि नै हिँड्नुभयो । लोक तिवारीले मेरिल्याण्डमा सञ्चालन गरेको घोरे कवाव रेष्टुरेन्टबाट उहाँ कार्यक्रम पूर्ण रूपमा नसकिँदै हिँड्नुभएको थियो ।

उक्त कार्यक्रममा रहँदा हिमानीको अनुहार अँध्यारो देखिएकोले प्रत्यक्षदर्शीहरूका बीच कारणको खोजी भएको थियो । कतिपयले त्यहाँ उहाँलाई सम्बोधन गर्दा पूर्वयुवराज्ञी भनिएकाले असहज मान्नुभएको हुन सक्ने अड्कलबाजी गरेका थिए । अमेरिकाका विभिन्न समारोहमा ‘श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी सरकार’ भनी सम्बोधन गरिएको थियो । हिमानी ट्रष्टका कार्यक्रममा ‘श्री ५ युवराज्ञी’ भनेरै सम्बोधन गर्ने गरिएको छ । उहाँको नामबाट वितरण गरिएको ५ सय डलरवाला प्रमाणपत्रमा पनि हर रोयल हाएनेस क्राउन प्रिन्सेस हिमानी राज्यलक्ष्मी देवी शाह भनी लेखिएको छ । प्रमाणपत्रमा उहाँका अलावा महासचिव आनन्दु लामा र युएसए अध्यक्ष हरि शर्माको हस्ताक्षर रहेको छ ।

हिमानीलाई अमेरिकाका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारीसँग भेटघाट गराउनका लागि केही नेपालीहरूले प्रस्ताव गरेका थिए । ह्यारी राजनीतिकर्मी मात्र नभइ अमेरिकामा नेपालीका लागि सबैभन्दा भरपर्दो समाजसेवी पनि मानिन्छन् । नेपालीहरू मर्दापर्दा ह्यारीकै सहयोग लिने गर्छन् । तर ह्यारीसँग हिमानीको भेट गराइएन । भेट नगराउनुमा आयोजकले ‘प्रोटोकल’ नमिल्ने भनी हास्यास्पद तर्क दिएका थिए । हिमानीलाई रेष्टुरेन्टहरूमा लगेर ट्रष्टका लागि पैसाको जोहो गर्न लगाउनुलाई कतिले धुर्मुस-सुन्तली मार्काको समाजसेवामा संलग्न गराइयो भन्ने टिप्पणी पनि गरेका छन् । राजसंस्थालाई तटस्थ भएर हेर्ने र राजसंस्थाका समर्थक दुवैथरीलाई यस्तो कामचाहिँ हिमानीले नगरिदिएको भए हुन्थ्यो भन्ने लागेको छ ।

अमेरिकामा बस्ने धेरै नेपालीलाई आफ्नै खर्च धान्न गाह्रो छ, खाडीका नेपालीको जस्तो सहयोगी भावना रहेको पनि ठानिँदैन, अमेरिका समाजसेवाका लागि पैसा उठाउने ठाउँ होइन भनेर कतिले ग्रुप म्यासेजहरूमा लेखिरहेका छन् । हिमानीले चाहनुभयो र आह्वान गर्नु भयो भने नेपालमै सहयोग जुटाउन सकिने उहाँका शुभचिन्तकहरूलाई लागेको छ । हिमानीको अमेरिका भ्रमणले ट्रष्टका लागि केही हजार डलर जुटाउन सफल भए पनि राजसंस्थाका लागि भने सम्मानोचित नभएको देखिएको छ ।