शक्तिश्रोत जनता हुन्, सबैमा चेतना रहोस्

शक्तिश्रोत जनता हुन्, सबैमा चेतना रहोस्


  • स्वयम्भूनाथ कार्की

जतिखेर बाइसे-चौबीसे राज्यलगायत तीन शहरका शासकहरू मोजमस्ती तथा भोगविलासमा मस्त थिए त्यही समयमा बीसवर्षे गोरखाली ठिटो राजा भएपछि निरन्तर जनताको सल्लाह-सुझाव र सहयोगको निमित्त भौँतारिरहेको थियो । बीसे नगर्चीको सल्लाहअनुसार जनताबाट सहयोग र साथको आकाङ्क्षा लिएर भौँतारिएको राजालाई जनताले निरास बनाएनन्, बरु शक्ति थपिदिए र नै आधुनिक नेपालको एकीकरणकर्ताका रूपमा श्री ५ पृथ्वीनारायण शाहको नाम कायम भयो । तुलनात्मकरूपमा कमजोर तथा सानो राज्य गोरखाले आफूभन्दा शक्तिशाली र ठुला राज्यलाई नेपालमा मिलाउन सफल हुनुमा जनताबाट उनलाई प्राप्त शक्तिको भूमिका छ ।

विजित राज्यका सत्ता र शक्तिको नजिक रहेका बाहेक सर्वसाधारण रैतीको स्नेह पाउन उनले पनि तिनको मान राखेका थिए । त्यसैले त अरुणपूर्वका लिम्बु सरदारहरूले सेन राजा र राई मन्त्रीको झगडामा हुन लागेको आफ्नो दुर्गति रोक्न नेपाललाई नै सम्झे। कन्काई माइसम्म आएको सिक्किमलाई धपाएर टिस्टा पुऱ्याउने नेपाललाई लिम्बु सरदारहरूले वरण गरेकै हुन्, उनका वंशज रहुन्जेल ।

दुई वर्षको उमेरमा पहिलो शिशुराजा भए रणबहादुर शाह, जसको नायवीको कलहमा शक्तिको श्रोत जनतामा हुन्छ भन्ने सत्य नकारियो र भारदार वा कुलीन वर्गको गुट र उपगुटहरूमा शक्तिको श्रोत हुन्छ भन्ने गलत मान्यताले जरो गाड्यो । यसको असर त हुनु नै थियो- भयो, कहिले थापा कहिले पाण्डेको कलहमा फसेर सर्वसाधारण जनता समेतका पुर्खाको रगत-पसिनाले बनेको मुलुकमा राजाहरू सय सवा सय वर्ष खोपीमा थुनिन बाध्य भए । राजा राज्यच्यूत भएर आफ्नो छोराको वैधानिक सत्तामा पनि जेलमा थुनिन बाध्य भए । यदि राजेन्द्रविक्रम शाहले सर्वसाधारण जनता शक्तिका श्रोत हुन् भन्ने तथ्य बेलैमा स्विकारेका भए राजा सुरेन्द्रका नाममा जङ्गबहादुरले उनलाई जीवनको उत्तरार्द्धमा जेल हाल्न सक्ने थिएन ।

यो कुरा माने पनि जनतालाई भागबण्डा लगाउने परिपाटी शुरु भयो । यी हाम्रा जनता यी विरोधिका जनता भनेर जनतालाई टुक्रा पार्ने त्यतिखेर शुरु भएको अपराध अहिलेसम्म कायम नै छ । दलहरूलाई आ-आफ्नो धुनमा मस्त रहन छोडेर फेरि युगपछि राजा महेन्द्र सर्वसाधारण जनतासँग शक्ति प्राप्त गर्न जनताको घर-दैलोमा पुग्न थाले । जनता शक्तिका श्रोत हुन् भन्ने सत्य बोध भएका उनले अत्याधिक बहुमतप्राप्त सरकारको ठाउँमा आफैंले सत्ता सञ्चालन गर्ने हिम्मत गर्न सके । पछिल्ला एघार वर्ष उनको कार्यकालमा जनता जनताबीच भिन्नता हैन एकता ल्याउने प्रयत्न गरे । जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्ने कामलाई महत्व दिएका कारण उनको त्यो एघार वर्षको कार्यकालमा कुनै ठुलो विरोध खेप्नु परेन ।

यो अवस्था उनीपछि भने कायम रहन सकेन, भाइ-भारदार नातेदार वा प्रभावाशाली मानिएकाहरूले बनाएको घेरा राजतन्त्रले चिन्न सकेन । राजा र जनताको प्रत्यक्ष सम्पर्कको कुरो त परै जाओस् सामान्य दर्शनभेटमा पनि पोशाक, दरबारिया भाषाजस्ता व्यवधान खडा गरेर राजा र जनताबीचको पर्खाल झन् मजबुत बन्दै गयो । अन्ततः सर्वसाधारण जनताबाट टाढा भएको परिवार पारिवारिक कलहकै कारण मृत्यु वरण गर्न पुग्यो । यो तथ्यमा कसैले आरोपको रुपमा अगाडि सारेको पात्र होस् वा छानविन समितिको प्रतिवेदन होस् दुवैले परिवारभित्रबाट नै हत्याकाण्ड मच्चिएकोतर्फ औंल्याउछन् । त्यसैले जनताबाट टाढा भएर आफैं र आफ्ना सीमित घेरामा बाँधिएको राजपरिवारले विभत्स रक्तपातको शिकार हुनुपरेको भने तथ्य हो ।

यो जनताबाट शक्ति लिने काम ‘राजा’ले पनि गर्न सक्ने हो । जुन बेला राजकाज चलाइँदै थियो त्यो बेला देशभित्रको मात्र हैन बाहिरको पनि ख्याल राख्नुपर्ने थियो । तर पाखा लागिसकेपछि शक्ति त केवल जनताबाट नै प्राप्त हुने हो । कुनै राजाको जीवनमा आइपर्ने सबैभन्दा कठिन र पीडादायक अनुभव ‘जनताबाट शक्ति लिन आफू र जनताको बीच अवरोध हुनु हुँदैन’ भन्ने तथ्य बटुलेका राजा ज्ञानेन्द्रलाई थाहा छैन होला भनेर मान्न सकिने कुरा हैन । तर मात्र वक्तव्यबाहेक प्रत्यक्ष जनसम्पर्कमा आउन नसकेको हो वा नचाहेको हो यो त कि उनै जानुन् कि राष्ट्रदेव श्री पशुपतिनाथ नै ।