जनपेक्षाविपरीत राज्यका सबै अङ्ग बेलगाम !

जनपेक्षाविपरीत राज्यका सबै अङ्ग बेलगाम !


राज्यको हरेक अङ्ग नैतिक आचरणमा अडिग हुनका लागि सर्वप्रथम राजनीतिक संस्कार नै नैतिक हुनुपर्छ, जबकि राजनीति गर्नेहरू एकाधलाई छोडेर बाँकी जम्मै जहिलेसुकै भ्रष्ट र बेइमानीको पर्याय बनिरहेका छन् !
  • राजबाबु शंकर, झापा

राज्यका सारा अङ्ग बेलगाम घोडा झैँ भएका छन् । राज्यका हरेक संयन्त्र राष्ट्रप्रति बफादार हुनुको सट्टा घृणित तवरले निहीत स्वस्वार्थमा निमग्न छन् । राजनीतिज्ञ, न्यायकर्मी, विकल, कर्मचारीगण सबैको नैतिकता प्रश्नको घेरामा परेको छ । जब केही सीमित व्यक्तिको मनोमानीमा संविधान एवम् विधिबाट बाहेक गरी देशलाई डो¥याइछ, तब जनताले शासकीय प्रणाली र राज्य व्यवस्थामाथि नै गम्भीर प्रश्न उठाउनु अन्यथा हुँदैन र केही वर्षयता भइरहेको त्यही छ ! यसले स्थापित राज्यप्रणाली र शासकीय स्वरुप नै यो देश लायक छैन कि भन्ने प्रश्न उठ्नु स्वाभाविक बन्छ ।

राज्यका तमाम अङ्ग जनताप्रति जवाफदेही बनिरहेका छैनन् । शासक र नेतागणको चरम व्यक्तिगत स्वार्थका कारण विकास, निर्माण र समृद्धि नै बन्धकमा परेको छ । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकादेखि कर्मचारी संयन्न्त्र समेत दलीय र निहीत स्वार्थमा रत्तिइरहेका छन् । राज्यको कुनै अङ्ग यस्तो छैन, जहाँ बेथिति, विकृति र विसंगतिले जरा नगाडेको होस् । जुन हुल्लडबाजी घोर निन्दनीय र भत्र्सनालायक छ ।

न्यायाधीश र वकिलहरू नै सडकमा ओर्लिन तयार भएका परिदृश्यको सार उनीहरू दलका कार्यकर्तासदृश बनेका उदाहरण हुन् । पूर्वप्रधानन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग्नु, त्यसपछि सर्वोच्च अदालतका दुई तिहाइ न्यायाधीशले त्यो मागमा सहमति जनाउनुले यो खेलमा स्वदेशी दलीय र अमुक विदेशी शक्तिहरूको कुस्वार्थमय चलखेल भएको बुझ्न कठिन छैन । त्यसमाथि न्यायपालिकामा देखिएका विचलनलाई नदोहोर्‍याउने विषयलाई लिएर बोलाइएको फूलकोर्टलाई नै बहिष्कार गर्नु न्यायाधीश जस्तो गरियामय पदलाई शोभा दिने विषय किमार्थ हुन सक्दैन ।

जुन जनताको भरोसालायक संस्था न्याय र समताका लागि निर्मित छ, त्यहाँकै न्यायाधीशहरू दलका कार्यकर्ता झैँ बन्नुको अन्तर्य स्वार्थसिद्ध गर्ने खेलबाहेक अन्य हुनै सक्दैन । हरेक राजनीतिक विवादलाई अदालतको ढोकासम्म लैजाने प्रवृत्तिले अदालतलाई स्वार्थी बनाउन घचेटिरहेको कुरा नजरअन्दाज गरिने खालको हुँदै होइन । राज्यको हरेक अङ्ग नैतिक आचरणमा अडिग हुनका लागि सर्वप्रथम राजनीतिक संस्कार नै नैतिक हुनुपर्छ, जबकि राजनीति गर्नेहरू एकाधलाई छोडेर बाँकी जम्मै (विशेषतः घुमिफिरी पटक-पटक शासनसत्तामा पुग्नेहरू) जहिलेसुकै भ्रष्ट र बेइमानीका पर्याय बनिरहेका छन् !

केही समययता एमसीसी नामक सहायता परियोजनामा देशको राजनीति घृणालाग्दो फोहरमा चोपलिएको छ । सत्तापक्षीय काङ्ग्रेस र मुख्य विपक्षीसमेत एमसीसीका एजेन्टसरह गतिविधिमा निर्लिप्त भइआएका छन् । प्रतिपक्षी एमालेको विरोध सत्ता गठबन्धनलाई भत्काउने नियतमा मात्रै केन्द्रित रहेर संसद् चल्न दिएको छैन । गठबन्धनका साझेदार माओवादी र नेकपा.एसको वर्तमानसम्मको रवैयाको परिणाम अन्ततः के हुन्छ- त्यसको सर्वाधिक प्रतीक्षा जनतामा छ । यसरी नै मुलुकको राजनीति हरदम गञ्जागोल गरिरहने नेताहरूको मूर्खता एवम् गद्दारीको भुक्तान प्रकारान्तरले देश र जनताले नै गरिरहनु परेको दुर्दशा यथावत छ ।

अबचाहिँ कहिले राजनीति इमान्दार र स्थिर हुने हो त ? त्यसका लागि नयाँ म्याण्डेट माग्न अब फेरि पनि जनतासमक्ष बेइमान र भ्रष्ट अनुहारकाहरू आउने नै छन् । तर, अब भने त्यस्ता बेलगाम गद्दारहरूको विकल्प खोज्न आम जनता तयार हुनैपर्ने समयको माग बनेको हामी सबैले मनन गर्न नसक्नु निश्चित रूपमा आत्मघाती हुनेछ । समयले सुझाएको यो सावधानी र खबरदारी हामी सबैलाई यतिबेलै चेतना भया !