‘मोबाइल’को लत र यसले निम्त्याएको दुष्परिणाम

‘मोबाइल’को लत र यसले निम्त्याएको दुष्परिणाम


छोराछोरीलाई ठुलो अफिसर वा ब्यापारी बनाउनुभन्दा असल मानव बनाउनुहोस् । घरमा मोबाइल कति समय कुन समयमा हेर्ने हो, त्यसको समय निर्धारण गर्नुहोस् । छोराछोरी पढ्ने समय आफू पनि मोबाइल बन्द गरेर केहि पढ्ने कोशिश गर्नुहोस् । सकिन्छ भने बेलुका ८ बजेबाट उता इन्टरनेट बन्द गरेर छोराछोरी तथा घर परिवारलाई समय दिनुहोस् ।

बिहानै ओछ्यानबाट उठेँ, अचानक छाती दुख्न थाल्यो । ‘मलाई मुटुको ब्यथा लागेको त होइन ?’ यस्तो सोच्दै म अर्को कोठा (बैठक रुम)मा गएँ । त्यहाँ पूरै परिवारजन आ-आफ्नो मोबाइलमा ब्यस्त देखिन्थे ।

मैले श्रीमतीतर्फ हेर्दै भनेँ- ‘आज छाती अरु दिनभन्दा धेरै नै दुखिरहेको छ .. डाक्टरसँग परामर्श लिएर आउँछु ।’

‘हुन्छ । जाँदा बिस्तारै जानुहोस्…, त्यस्तो केही परेमा कल गर्नु…’, श्रीमतीले आफ्नो मोबाइलमा औंला चलाउँदै भनिन् ।

म स्कुटीको चाबी लिएर पार्किङमा गएँ, मेरो शरीरमा पसिना धेरै आइरहेको थियो.., स्कुटी स्टार्ट भइरहेको थिएन ।

त्यही समय हाम्रो घरमा काम गर्ने हरि साइकल लिएर आयो । साइकललाई चाबी लगाउनेबित्तिकै उसले मलाई अगाडि उभिएको देख्यो र भन्यो- ‘के भयो सर ? स्कुटी स्टार्ट भएन ?’

मैले भनेँ- ‘अँ, अघिदेखि स्टार्ट गर्न खोजेको स्टार्ट नै भएन ।’

‘तपाईंको स्वास्थ्य ठिक छैन जस्तो छ हजुर.. तपाईंको शरीरबाट किन यति धेरै परिना आको ?… सर, यस्तो हालतमा स्कुटीलाई किक मार्नु हुँदैन… म किक मारेर स्टार्ट गरिदिन्छु ।’ हरिले एकै किकमा स्कुटी स्टार्ट गरिदियो । र, भन्यो– ‘सर एक्लै जान लाग्नुभाको ?’

मैले भनेँ- ‘हो ।’

उसले भन्यो- ‘यस्तो समयमा एक्लै हिँड्न हुँदैन बस्नुहोस्.. म पुऱ्याइदिन्छु ।’

मैले भनेँ- ‘तिमीलाई स्कुटी चलाउन आउँछ ?’

‘सर ! मसँग गाडिको लाइसेन्स छ… चिन्ता नगर्नुहोस्, मलाई समातेर पछाडि बस्नुहोस् ।’

नजिकै थापाथली नर्भिक हस्पिटलमा हामी पुग्यौँ । हरि दौडिएर भित्र गयो र, ह्विीलचेयर लिएर बाहिर आयो ।

‘सर, अब नहिँड्नुहोस्.. यो कुर्सीमा बस्नुहोस् ।’

हरिको मोबाइलमा लगातार फोन आइरहेको थियो, मैले अनुमान गरेँ- सायद मेरी श्रीमतीले गरेको हुनुपर्छ यतिबेलासम्म किन काम गर्न आइनस् भनेर !

हरिले मलाई डाक्टरले गर्नुपर्ने व्यवहारजस्तै गरिरहेको थियो । उसलाई मैले नभने पनि बुझिसकेको थियो कि मलाई हार्टअटैकको समस्या छ भनेर । लिफ्ट हुँदै ह्वीलचेयर आईसीयू हुने ठाउँतिर लिएर गयो..।

डाक्टरको टिम तयारी थियो, मेरो समस्या सुनेपछि सबै परिक्षण चाँडै गरियो ।

डाक्टरहरूले भने- ‘तपाईं समयमा नै आइपुग्नुभयो.. ह्वीलचेयर प्रयोग गर्नुभएको रहेछ.. यो तपाईंको लागि धेरै फाइदाजनक भयो ।

अब अरुको बाटो कुर्नु भनेको तपाईंको लागि धेरै हानिकारक छ, त्यसैले ढिलो नगरी मुटुको अप्रेसन गरी ब्लकेजबाट छिट्टै छुटकारा पाउनुहोस् ।

यो फर्ममा तपाईंको आफन्तको हस्ताक्षर चाहिन्छ ।

मैले सोधेँ- ‘हरि तिमीलाई हस्ताक्षर गर्न आउँछ..?’

उसले भन्यो- ‘सर, यति ठुलो जिम्मेवारी ममाथि नलगाउनुहोस् !’

हरि तिम्रो कुनै जिम्मेवारी छैन.. तिमी मेरो रगतको नाता नभए पनि मैले केही नभनी मलाई यहाँसम्म ल्याएर आफ्नो जिम्मेवारी पूरा गरेका छौँ । त्यो जिम्मेवारी वास्तवमा मेरो परिवारको थियो । एउटा थप जिम्मेवारी पूरा गरिदेउ हरि । म तल लेखिदिन्छु अप्रेसन गर्दा भुलवश केही भएमा म आफै जिम्मेवार हुनेछु भनी लेखिदिन्छु ।’

यति भनेपछि हरिले हस्ताक्षर गऱ्यो ।

अनि घरमा फोन गरेर मेरो बारेमा सुनाइदेउ भनेँ मैले ।

यत्तिकैमा हरिको मोबाइलमा मेरी श्रीमतीको फोन आयो; उ चुपचाप उनको कुरा सुनिरह्यो.. ।

केही समयपछि हरिले जवाफ दियो- ‘मेडम मेरो तलब काट्ने भए पनि काट्नुस्, घरबाट निकाल्ने भए पनि निकाल्नुस्, तर यहाँ अप्रेसन सुरु गर्नु अगाडि नै अस्पताल आइपुग्नुहोस् । मेडम मैले सरलाई यहाँ थापाथली नर्भिक हस्पिटल लिएर आको छु, डाक्टरले अप्रेसनको तयारी गर्दैछन् छिटो आउनुहोस् ।’

मैले भनेँ- ‘हरि, घरबाट फोन आकोथ्यो हो ?’

हरि : ‘हो, हजुर !’

मनमनै श्रीमतीका बारेमा सोचेँ- तिमीले कस्तो तलब काट्ने कुरा गरेकी ? तिमिले कस्तो घरबाट निकाल्ने कुरा गरेकी ? आँखाभरि टिलपिल आँसु पारेर हरिको काँधमा हात राखेर भनेँ- ‘बाबु.. चिन्ता नगर ! म तिमीलाई एउटा संस्थामा पठाइदिन्छु, त्यहाँ वृद्धहरूलाई सहारा दिइन्छ । त्यहाँ तिमी जस्तै ब्यक्तिको आवश्यक छ ।’

‘तिम्रो काम भाँडा माज्ने कपडा धुने होइन, तिम्रो काम त समाजसेवाको हो । हरि.. त्यहाँ तिमीले राम्रो तलब पाउनेछौ । त्यसैले चिन्ता नगर !’

अप्रेसनपछि होसमा आएँ । मेरो अगाडि मेरो पूरा परिवार नतमस्तक शिर निहुरी पारेर उभिएका थिए । मैले आँखाभरि आँसु पारेर भनेँ- ‘हरि कहाँ छ .. ?’

श्रीमतिले भनिन्- ‘उ अहिले भर्खर मसँग बिदा मागेर उसको गाउँ गयो.. । भन्दै थियो उसको बुबा हार्टअटैक भएर स्वर्गवास हुनुभयो.. १५ दिनपछि आउँछु भनेर गको छ ।’

मैले बुझेँ कि उसले मभित्र उसको बुबा देखिरहेको थियो । हे भगवान् ! मलाई बचाएर उसको बुबालाई लिएर जानुभयो ?!

मेरो पूरै परिवार हात जोडेर मसँग माफी मागिरहेका थिए ।

०००

एउटा मोबाइलको लतले आफ्नो घरभित्रको मान्छेलाई कति टाढा पुऱ्याउँछ । घरका पूरै परिवार आ-आफ्नो कोठामा मोबाइलमा ब्यस्त हुन्छन्, को कहाँ गयो घरमा के भइरहेको छ कसैलाई वास्ता हुँदैन । मोबाइल नै कलहको कारण बनेको छ, आज घरमा के पाक्यो सासुले के भनिन्, जेठाजु ले के भने, ससुराले के भने, घरका सानातिना कुराहरू नयाँ बुहारीले तुरुन्तै माइतीघरमा आमा-बुबालाई सुनाउँछिन् । र, माइतीको आमाको सल्लाहमा घर-परिवारमा आमाले सिकाएअनुसार व्यबहार गर्दै जान्छिन्.. र फलस्वरूप कि लोग्ने-स्वास्नीमा झगडा भएर छोराछोरी च्यापेर माइतीघर गएर माइतीले सिकाएबमोजिम बस्छिन् कि बिसौँ वर्ष श्रीमान्को घरमा बस्दा पनि घरका पूरा परिवारलाई रिझाउन सक्दिनन् ।

डाक्टरले आएर भने- ‘सबैभन्दा अगाडि भन्नुहोस् त हरिभाइ तपाईंको नाताले के पर्नुहुन्छ ?’

मैले भनेँ- ‘डाक्टरसाव, कुनै-कुनै सम्बन्धको नाम र गहिराइमा नगएकै राम्रो… सम्बन्धको गरिमा रहन्छ ! अहिले यत्ति नै भन्छु कि उ मेरो आपतमा भगवान् बनेर आयो ।

छोरा राकेशले भन्यो- हामीलाई माफ गर्नुहोस् बाबा ! हरिले हाम्रो कर्तव्य पूरा गऱ्यो । यो हामी छोराछोरीको लागि लज्जास्पद छ । अबदेखि यस्तो गल्ती आउँदा दिनहरूमा कहिल्यै दोहोऱ्याउने छैनौँ ।

‘छोरा.. कारबाही र सल्लाह सुझाव त मान्छेलाई दिनकै लागि हुन्छ । जब लिने समय आउँछ मान्छेहरू तर्किने कोशिश गर्छन् ।’

‘अब रह्यो मोबाइलको कुरा…! छोरा… निर्जीव खेलौनाले जिउँदो खेलौनालाई दास बनाएको छ । यसको सीमित सदुपयोग गर्ने बेला आएको छ ।’

यदि होइन भने; परिवार समाज र राष्ट्रले गम्भीर परिणाम भोग्नुपर्नेछ र यसको मूल्य चुकाउन तयार हुनुपर्ने छ ।

शिक्षा :

छोराछोरीलाई ठुलो अफिसर वा ब्यापारी बनाउनुभन्दा असल मानव बनाउनुहोस् । घरमा मोबाइल कति समय कुन समयमा हेर्ने हो, त्यसको समय निर्धारण गर्नुहोस् । छोराछोरी पढ्ने समय आफू पनि मोबाइल बन्द गरेर केहि पढ्ने कोशिश गर्नुहोस् । सकिन्छ भने बेलुका ८ बजेबाट उता इन्टरनेट बन्द गरेर छोराछोरी तथा घर परिवारलाई समय दिनुहोस् ।

सामाजिक सञ्जालबाट