केही उन्मुक्तक

केही उन्मुक्तक


  • रामेश्वर राउत मातृदास

हारको पीर र जीतको दम्भ पाल्न हुँदैन
धर्मको धारलाई मनबाट कहिल्यै फाल्न हुँदैन
सुखम् दुःखम भवभावो नैबोपजायते
निराशाको भुङ्ग्रोमा आफूलाई बाल्न हुँदैन ।

०००

आफ्नो कदमलाई म घटाउँदै-घटाउँदिन
तिम्रो दापमा अटाउँदै-अटाउँदिन
हाम्रो बाटो बेग्लै यात्रा अलग-अलग छ
आफ्नो आस्था र निष्ठालाई र हटाउँदै-हटाउँदिन ।

०००

बीपीको हाँगो धर्मनिरपेक्षको राँगो
सङ्घीयता-गणतन्त्र सुकेर होलाझैं छ भाँगो
त्रिशूल-डमरु छन् भयंकर-महाङ्काल
धरती आकाश अग्नि वायु छन् जल पाँगो ।

०००

विचार र बौद्धिकता हारेको देश
विद्वानलाई लगाइन्छ ठेसैठेस
अत्याचारी माफियाहरूको साम्राज्यमा
बेइमानहरूले भत्काउँछन् न्यायको वेश ।

०००

समस्या हैन समाधान खोज्नुपर्छ
मृत्यु हैन संधै अमरत्व रोज्नुपर्छ
भाँड र ढाँडलाई समग्र बुझेर बढौं
सत्य धर्म न्याय र विवेकको सार बोक्नुपर्छ ।