माओवादी र माधवले विपक्षमा मत दिए पनि एमालेका कारण ‘एमसीसी’ अनुमोदन !

माओवादी र माधवले विपक्षमा मत दिए पनि एमालेका कारण ‘एमसीसी’ अनुमोदन !


वर्तमान सत्ता गठबन्धन कायम रहेसम्म नेकपा एमालेले एमसीसीका पक्षमा मतदान नगर्ने भनी प्रधानमन्त्रीलाई जानकारी गराएको छ । एमसीसीको पक्षमा मतदान नगर्ने स्थितिमा शेरबहादुर देउवाले माओवादी र माधव समूहलाई सरकारबाट हटाउने निश्चित छ । देउवाले उनीहरूलाई हटाइदिएमा एमाले सरकारमा सहभागी नभए पनि देउवा सरकारलाई समर्थन र एमसीसीको पक्षमा मत दिने अवश्यम्भावी छ ।

माओवादी केन्द्र र माधव नेपाल समूहले विपक्षमा मतदान गरे पनि झिनो मतले एमसीसी अनुमोदन हुने स्थिति बनेको छ । माओवादी अध्यक्ष प्रचण्ड एमसीसीको विरोध गर्दै मतदान प्रक्रियामा भाग नलिएर काङ्ग्रेस र मधेशकेन्द्रीत समूहमार्फत एमसीसी अनुमोदन गराइदिने रणनीतिमा थिए । तर पार्टीका सबैजसो नेताहरू एमसीसीको विपक्षमा मतदान गर्ने अडानमा रहेपछि प्रचण्ड विपक्षमा मतदान गर्ने निर्णयमा सहमत हुन बाध्य भएका छन् । कम्तिमा दुईदेखि बढीमा दश मतान्तरले एमसीसी अनुमोदन हुने स्थिति छ । यदि उपेन्द्र यादवको टीमले समेत अनुमोदनको पक्षमा मतदान गरे भने थप नौ मतसमेतको अन्तर हुने देखिएको छ ।

अहिलेसम्म उपेन्द्र यादव पनि प्रचण्ड झैँ दोहोरो भूमिकामा रहँदै आएका छन्, प्रचण्डको ‘ग्रीन सिग्नल’ जसका पक्षमा हुन्छ उपेन्द्र यादव सोही पक्षमा उभिने विश्वास गरिन्छ । प्रचण्ड आफू अनुमोदनको विपक्षमा मतदान गर्न बाध्य भए पनि उनी वास्तवमा के चाहन्छन् भन्ने बुझ्न उपेन्द्र यादवलाई हेर्नुपर्ने ठानिन्छ । अहिलेसम्म त यादवको टीम अनुमोदनको विपक्षमा देखिएको छ र, जसपामा त्यस्तो सङ्ख्या नौ भएको बताइन्छ । जसपाभित्र उपेन्द्र यादव सबभन्दा बलियो र बाबुराम भट्टराई सबैभन्दा कमजोर भए पनि एमसीसी प्रकरणमा यादवभन्दा भट्टराई बलियो हुन पुगेका छन् ।

भट्टराइले जसपाका कुल उन्नाइसमध्ये तेह्र सांसद एमसीसीको पक्षमा मतदान गर्न तयार रहेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएका छन् । यादवले भने भट्टराईका पक्षमा दश जनाभन्दा बढी सांसद नपुग्ने ठानेका छन् । ती दशमध्ये पनि कम्तिमा पाँच सांसद राजकिशोर यादवको पक्षमा भएको बताइन्छ । माधव नेपालको समूहका केही सदस्यले एमसीसीको पक्षमा मतदान गर्न सक्ने ठानिएको छ । माधव नेपालसमर्थक सबै सांसद, माओवादी, नेमकिपा, राप्रपा, जनमोर्चा र एमालेको भीम रावलका समर्थक बढीमा सातसहित कुल अठहत्तर मत एमसीसीको विपक्षमा जाने देखिन्छ । त्यसमा उपेन्द्र यादवको नौ मत थपियो भने जम्मा सतासी (८७) मत पुग्ने छ ।

उता एमसीसीको पक्षमा काङ्ग्रेसको एकसठ्ठी, लोसपाको तेह्र र जसपाको भट्टराई पक्षका दश गरी चौरासी (८४) मत रहेको छ । यसमा दुई स्वतन्त्र सांसदको मत थपिँदा छयासी पुग्ने छ । हृदयदेश त्रिपाठी र वृजेश कुमारले पक्षमा मतदान गर्ने बताइन्छ । त्यस्तै माधव नेपाल समूहका कम्तिमा तीन जनाले एमसीसीको पक्षमा मतदान गर्ने ठानिएको छ । त्यसो हुँदा एमसीसी अनुमोदनको पक्षमा उनान्नब्बे (८९) मत पुग्नेछ । माधव पक्षका तीन जना अर्कोतर्फ जाँदा अनुमोदनको विपक्षमा जम्मा बढीमा चौरासी र कन्तिमा ७८ मत बाँकी रहनेछन् ।

नेकपा एमाले एमसीसी अनुमोदनको पक्षमा रहेको छ । पक्षमा भए पनि उसले मतदान प्रक्रियामा सहभागिता जनाउने सम्भावना यो समाचार तयार पार्दा (२०७८ फागुन १०, मंगलबार) सम्म छैन । एमालेले मतदानमा भाग नलिए पनि उक्त पार्टीका नेताहरू भीम रावल, घनश्याम भुसाल र झपट रावललगायत कम्तिमा पाँचदेखि बढीमा सात सांसदले अनुमोदनको विपक्षमा मतदान गर्ने निश्चित मानिन्छ । तर भीम रावलले एमालेका तेह्र सांसदको मत विपक्षमा पर्ने दाबी गर्दै आएका छन् । यसरी एमसीसी अनुमोदन हुने या नहुने भन्ने कुराको निर्धारण एमालेका कति सांसदले रावललाई साथ दिन सक्छन् र, उपेन्द्र यादवले के गर्छन् भन्ने कुरामा निर्भर रहेको छ ।

सिङ्गो एमालेले मतदान गर्दा सजिलै अनुमोदन हुन सक्ने भए पनि वर्तमान सत्ता गठबन्धन कायम रहेसम्म नेकपा एमालेले एमसीसीका पक्षमा मतदान नगर्ने भनी प्रधानमन्त्रीलाई जानकारी गराएको छ । एमसीसीको पक्षमा मतदान नगर्ने स्थितिमा शेरबहादुर देउवाले माओवादी र माधव समूहलाई सरकारबाट हटाउने निश्चित छ । देउवाले उनीहरूलाई हटाइदिएमा एमाले सरकारमा सहभागी नभए पनि देउवा सरकारलाई समर्थन र एमसीसीको पक्षमा मत दिने अवश्यम्भावी छ । अहिलेसम्मको गणितीय स्थिति हेर्दा एमालेको मत नपरे पनि झिनो मतले एमसीसी अनुमोदन हुन सक्ने देखिएको छ ।