ह्रासोन्मुख मानवीय चरित्र : शान्ति र स्थिरताको बाधक

ह्रासोन्मुख मानवीय चरित्र : शान्ति र स्थिरताको बाधक


समाजमा इमान्दारीताको भावना जगाउन सक्नु नै वास्तविक शिक्षा हो । फोस्रो गफ, भाषण र हजारौँ पन्नाका दस्तावेजहरूबाट समाजमा कुनै परिवर्तन आउनेवाला छैन ।

  • उद्धवप्रसाद भटृराई ‘चैतन्यदीप’

वर्तमान समयमा भौतिक शिक्षाले जति चरमोत्कर्ष लिए पनि नैतिकता र चारित्रिक शिक्षाको आधार ज्यादै कमजोर हुँदै गएको छ । जसको कारण मानिसमा नैतिकता, चरित्र, धर्म र संस्कृतिप्रतिको सोचमा ह्रास हुँदै गएको छ । उच्च चेतनाको विस्तार समाजमा हुन सकेको छैन । भ्रष्टाचार, अनियमितता, छाडापन र मनगढन्ते चरित्रले प्रश्रय पाउँदै गएको छ । मानवमा वास्तविक सच्चरित्रको विकास हुन सकेको छैन ।

मानव चरित्र निर्माणसँग सम्बन्धित शिक्षा, दीक्षा र ज्ञानको प्रचार-प्रसार नागरिक समाजबाट स्वःस्फूर्त रूपमा कतै-कतै भएको भए पनि त्यसले समाज एवम् राष्ट्रमा कुनै असर पारेको जस्तो देखिँदैन । शिक्षाले व्यक्तिको व्यक्तित्व विकासमा सहज परिवर्तन हुनुपर्नेमा शिक्षित जनशक्ति नै धन, मान, प्रतिष्ठा र सम्मान कमाउनेतिर मात्र बढी प्रेरित हुँदै गएको कारण सच्चरित्रको बाटो कमजोर भएको देखिन्छ ।

मानव चरित्रको ह्रास दिनानुदिन हुँदै गएको देखेर पनि देश टुलुटुलु हेरिरहेको आभास हुन्छ । यस सन्दर्भमा केही सज्जन आत्माहरूले सशक्त आवाज उठाइरहेका छन् । तर यसमा सरोकारवालाहरूले कसैको आवाजलाई पनि सुनुवाइ गरिराखेको अवस्था छैन । मानव चरित्र निर्माणप्रति समयमा सजग हुनुपर्छ भनि स्वामी विशुद्धदेव महाराजले नेपालमा आजभन्दा दुई दशकअगाडि नै आवाज उठाउनुभएको थियो । स्वामीले मष्तिस्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारीको मन्त्रलाई समग्र मानव समुदायबीच पुऱ्याउनु पर्छ भन्नुभएको थियो । त्यसमा केही राजनेताहरूले समर्थन जनाए पनि कार्यक्रम भने अघि बढ्न भने सकेन ।

मानव मानवबीचमा समझदारीको विकास गर्न सके, देश र मानवीयताप्रति कर्तव्यनिष्ठताको जागरण ल्याउन सके, हरेक व्यक्तिमा इमान्दारिताको भावना जगाउन सकेमा मात्र शान्ति र समृद्धिको कल्पना गर्न सकिने कुरा हो । तर यस विषयमा हामी चुक्दै गएका छौँ ।

भौतिक सुख, सुविधाका अलौकिक साधनहरू निर्माण गर्नमा विज्ञान सफल भए पनि शान्ति प्राप्तिको मामिलामा विज्ञान पछि नै छ । मानव हृदयमा रहेको शान्ति र आनन्दको ज्ञान शक्तिलाई पहिचान गर्नतिर मानिस लागेका छैनन् । बाह्य संसारमै शान्तिको खोजमा अल्मलिनु दुर्भाग्य हो ।

वर्तमान युग ज्ञान, विज्ञान र भौतिक विकासको चरम अवस्थामा प्रवेश गर्दै गरेको समय हो । भौतिक ज्ञानको विकास यति भइसक्यो कि जुन कुरा मानिसको कल्पनाभन्दा ज्यादै बाहिर छ । यसो हुँदा हुँदै पनि आज संसारमा मानवीय समस्या र भौतिक जटिलताले विकराल रूप लिँदै गएको छ, जसको कारणले भयानक अशान्तिको वातावरणलाई मानवले खेप्नु नपर्ला भन्न सकिन्न ।

वैज्ञानिकहरूले भौतिक विकासको चरमतालाई छोए । बाह्य संसारको खोज र अनुसन्धानलाई महत्व दिए । तर उनीहरूले मानवीय चरित्रको आन्तरिक संवेदना, उद्वेग, मानसिक क्लेस, मनोचिन्तनका विषयमा गहन अध्ययनतर्फ त्यत्ति चासो दिएका छैनन् । विकासले मानिसको अहङ्कारलाई पुष्ट गर्दै लगेको छ ।

मानिसले खोजेको कुरा त शान्ति, आनन्द र एकाग्रता हो, तर राग, द्वेष र अहङ्कारको भावनाले त्यो कुरा पाउन सकिँदैन । शान्तिको बाटोलाई यथार्थरूपमा समात्न नसकेको कारण कुनै दिन यो संसार विष्फोट हुन सक्ने सम्भावना बढ्दै गएको छ । विकासले विनास जन्माउँछ भनेजस्तै मानवीय मनको आन्तरिक पक्षमा डर, त्रास, भय, चिन्ता भने संसारमा अझ बढ्दै गएको छ । जसको कारण एउटा देशले अर्को देशप्रति पूर्णरूपमा विश्वास गर्न सकेको अवस्था छैन । कुनै पनि बेला के हुन्छ र कुनै पनि देशले के कदम चाल्ने हुन् अन्यौल यथावत् छ ।

विश्वका कतिपय राष्ट्र आन्तरिक कलहमै अल्झेका छन् । बाह्य र आन्तरिकरूपका आतङ्कवादले त्रसित बन्दै गएका शक्तिशाली राष्ट्र रक्षा, सुरक्षा र शान्ति स्थापना गर्ने बहानामा युद्धको मानसिकतातर्फ उन्मुख छन् । हरेक देशलाई मानवीय चेतनाले नै चलाउने हो । यदि त्यो मानवीय चेतनाको आन्तरिक चरित्रमा गडबडी आयो भने कुनै पनि बेला संसार नै ध्वस्त हुने सम्भावना नरहला भन्न सकिन्न । भौतिक सुख, सुविधाका अलौकिक साधनहरू निर्माण गर्नमा विज्ञान सफल भए पनि शान्ति प्राप्तिको मामिलामा विज्ञान पछि नै छ । मानव हृदयमा रहेको शान्ति र आनन्दको ज्ञान शक्तिलाई पहिचान गर्नतिर मानिस लागेका छैनन् । बाह्य संसारमै शान्तिको खोजमा अल्मलिनु दुर्भाग्य हो ।

संसारमा ज्ञानी, प्राज्ञ, सन्त, विद्वान् एवम् साधुहरू चुप भए भने दुष्टहरूले शिर ठाडो पार्नेछन् र जसको कारण अनिष्ट आउने सम्भावना बढ्दै जान्छ । आज देशले धार्मिक, सामाजिक, शैक्षिक तथा राजनैतिक क्षेत्रमा जुन परिवर्तत र सुधारको खाँचो महशुस गरेको छ त्यो मानव चरित्रको निर्माणले मात्र सम्भव छ ।

बाहिर संसारको विकासले मात्र विश्वमा शान्ति हुन सक्दैन । शान्ति नभइकन मानिस सुखी हुन पनि सक्दैन । त्यसैले मनुष्यले जीवन पाएर शुद्ध, बुद्ध र मुक्त अवस्थालाई समेत अनुभव गरि आनन्दपूर्वक जीवन बिताएर संसार छोडेमा त्यो जीवन सफल हुन्छ । यस्तो शक्तिलाई जान्ने र बुझ्ने माध्यम योग, ध्यान र प्राणायाम नै हो भन्ने कुरा हाम्रा ऋषिमुनिहरूले छोडेर गएको ज्ञान र साधनाले प्रमाणित गर्दछ । आफूले आफैंलाई नियन्त्रण नगरिकन संसार नियन्त्रणमा आउनेवाला छैन । त्यसैले मनलाई जथाभावी छोड्नु हुन्न । अनियन्त्रित र विचलित मनले आफूलाई त समाप्त पार्छ-पार्छ, यो सँगै समाजलाई पनि अशान्त र ध्वस्त बनाउँछ । त्यसैले आन्तरिक मन, बुद्धि र चित्तको शुद्धिकरण गरी आफूलाई नियन्त्रण गर्नु नै मानव चरित्रको यथार्थ मर्म हो ।

विद्धानहरू भन्दछन्, संसारी विचारहरूबाट मुक्त भइ त्याग र आदर्शमा प्रवेश गर्नुपर्दछ । जसद्वारा मन शुद्ध हुन्छ र मानिस महान् सोचको संसार प्रेम, करुणा र दयाको मार्गमा विचरण गर्न थाल्दछ । जसको विचार पवित्र छ एवम् हृदय शुद्ध, सात्विक र निर्मल छ, उसैको हृदयमा तमाम महानताहरू प्रकट हुन थाल्दछन् । त्यही महानताले स्वयम् आफू र संसारलाई शान्ति र प्रेमको मार्गमा हिँड्न प्रेरणा गरिरहन्छ । यसै तथ्यलाई हृदयङ्गम गरि सज्जन र सजग आत्माहरू चारित्रिक चेतना जागरण अभियानतर्फ लाग्नु श्रेयस्कर होला ।

संसारमा ज्ञानी, प्राज्ञ, सन्त, विद्वान् एवम् साधुहरू चुप भए भने दुष्टहरूले शिर ठाडो पार्नेछन् र जसको कारण अनिष्ट आउने सम्भावना बढ्दै जान्छ । आज देशले धार्मिक, सामाजिक, शैक्षिक तथा राजनैतिक क्षेत्रमा जुन परिवर्तत र सुधारको खाँचो महशुस गरेको छ त्यो मानव चरित्रको निर्माणले मात्र सम्भव छ । मुलुकको उच्च ओहदामा रहनेहरूले आदर्श र सच्चचरित्रलाई देखाउन सक्नुपर्छ । अग्रजले जे गऱ्यो त्यही कुरा बाँकी अरुले सिक्ने हो । समाजमा इमान्दारीताको भावना जगाउन सक्नु नै वास्तविक शिक्षा हो । फोस्रो गफ, भाषण र हजारौँ पन्नाका दस्तावेजहरूबाट समाजमा कुनै परिवर्तन आउनेवाला छैन । यदि हामी परिवर्तित र जागरुक समाज चाहन्छौँ भने मानवीय चेतनाको स्तरमा नै आमूल परिवर्तन ल्याउनु जरुरी छ । परिवर्तनको अर्थ जे मनमा आयो त्यो लागू गर्नु होइन । सत्यनिष्ठामा आधारित चेतनाको विस्तार नै समाज र देशको मार्ग हो । यसमा सबै जागरुक, सचेत र गम्भीर हुन अति जरुरी छ ।