विभिन्न आकारप्रकारका दल, तिनका नेता र प्रशासकहरूलाई प्रयोग-उपयोग गर्दै लक्ष्य भेदन गर्न नसकेको अवस्थामा आर्थिक रूपले असफल राज्य प्रमाणित गरेर काबुमा लिने या गृहयुद्धको चपेटमा पारेर शान्ति र स्थापना शीर्षकअन्तर्गत ‘उहाँहरू’को आगमन हुने पृष्ठभूमि यतिबेला बनिरहेको छ ।
- यादव शर्मा
वि.सं. २०४६ को राजनीतिक परिवर्तनले सर्वाधिक चोट पुऱ्याएको तत्कालिक राजा श्री ५ वीरेन्द्र र उनका हितैषीहरूलाई हो, तथापि राजा प्रत्यक्ष प्रकट भएर प्रजातन्त्रविरुद्ध कहिल्यै क्रियाशील भएनन् । बहुदलीय प्रजातन्त्रको विकल्प निर्दलियता र सक्रिय राजतन्त्रलाई मात्र ठान्ने राजा र उनका शुभचिन्तकहरू प्रजातन्त्रविरुद्ध प्रकट भएर क्रियाशील हुन सम्भव पनि थिएन र, सङ्गठनविहीन राजा र उनका समर्थकहरू सक्रिय राजतन्त्र र निर्दलिय राज्यप्रणालीलाई लक्ष्य बनाएर सङ्घर्ष गर्न सक्ने अवस्थामा पनि थिएनन् । त्यसैले प्रजातन्त्रविरुद्ध सङ्घर्ष गर्न माओवादीलाई तकिया (सिरानी) बनाएर एकथरि जमात अग्रसर भए/गराइए ।
नेपालमा राज्य-सत्ताका निम्ति हिंसात्मक क्रियाकलाप यसअघि पनि नभएका होइनन् । आधुनिक नेपालको स्थापनापछि राजेन्द्रलक्ष्मी र बहादुर शाहका बीचमा उत्पन्न टक्करले अन्ततः हिंसात्मक रूप धारण गरेको थियो । तर नेपालमा निरङ्कुश सत्ता र सत्ताको निरन्तरताका निम्ति हिंसाको सहारा लिने प्रथम व्यक्ति भीमसेन थापा नै हुन् । देशको एकीकरणमा महत्वपूर्ण योगदान पु¥याउने पाण्डेहरूलाई शासन सत्ताको वरिपरिबाट धपाउन भीमसेन थापाले हिंसालाई साधन बनाए । पछि (१९०३ मा) जङ्गबहादुर राणाले भीमसेनकै अनुकरण गरेका हुन् । आफ्नो निजी अभीष्ट पूरा गर्न हिंसालाई साधन बनाउने भीमसेन थापाले जीवनको उत्तराद्र्धमा चरम घृणा र अपमानको सामना गर्नुपऱ्यो । पत्नीलाई नग्न शरीरमा शहर घुमाइने र उक्त दृष्य आफूलाई समेत ‘नजर गराइने’ सूचना पाएपछि नजरबन्द रहेकै अवस्थामा उनले सेरिनुपऱ्यो । प्राण नगएर नौ दिनसम्म विष्णुमतिका किनारामा स्याल र गिद्धहरूका बीचमा तड्पिइरहँदा पनि भीमसेनलाई दयादृष्टि राख्ने एउटै नागरिक नभेटिएको शहर हो यो ।
त्यस्तै, हिंसाको बलमा सत्ता लिने र टिकाउने जङ्गबहादुर राणाका पनि सत्ता-सङ्घर्षका क्रममा होनहार युवा पुत्रहरूले ज्यान गुमाएका हुन् । सत्ता पाउन जङ्गबहादुरले जे गरे आखिर त्यस्तै सत्ता प्राप्त गर्ने क्रममा अरु कसैले जङ्गबहादुरका सन्तानको ज्यान र सम्पूर्ण सम्पत्ति लिइदियो । सत्ताका निम्ति हज्जारौँ निर्दोष नागरिकको ज्यान लिने प्रचण्डकै उत्तरार्द्ध पनि सामान्य रहेन । सत्ता त उनलाई मिल्यो, तर एक मात्र पुत्र उनले गुमाउनुपऱ्यो, त्यसअघि पुत्री पनि गुमाएकै हुन् । पत्नीको अवस्था कारुणिक छ, सूरक्षा घेराभन्दा बाहिर आधिघण्टा बाँच्न सक्ने विश्वास प्रचण्ड स्वयम्ले गुमाइसकेका छन् । बाँकी जीवनमा उनले केसम्म भोग्नुपर्ने हुन सक्छ भन्नेबारेमा अनुमान गर्नु उचित होइन, तर जनदृष्टिमा उनले अहिले नै सजाय पाइसकेका छन् ।
हिंसात्मक सङ्घर्ष काङ्ग्रेस र तत्कालिक नक्सलपन्थी (को.के.) हरूले पनि गरेका हुन् । यिनले एकतन्त्रीय राणाशासन र निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध हिंसात्मक सङ्घर्ष गरेका थिए । तर प्रचण्ड-बाबुरामहरूले प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीका विरुद्ध निर्दोष नागरिकलाई लक्षित गरेर हिंसात्मक सङ्घर्ष गरेका हुन् । विश्वका अन्य कतिपय मुलुकमा पनि कम्युनिष्टहरूले प्रजातन्त्रविरुद्ध हिंसात्मक सङ्घर्ष गरेका थिए । भारत, पेरु, कम्बोडिया, थाइल्याण्ड, इण्डोनेसिया आदि मुलुकको इतिहास अध्ययन गर्दा कम्युनिष्टहरू प्रजातान्त्रिक प्रणालीविरुद्ध सङ्घर्षमा उत्रिएका दृष्टान्त भेटिन्छन् । भारत, पेरु, इण्डोनेसिया, थाइल्याण्ड आदि मुलुकमा कम्युनिष्ट आन्दोलनलाई बल प्रयोग गरेर समाप्त गरिएको हो । तर नेपालमा कम्युनिष्ट आन्दोलनलाई वैधानिकता दिँदै त्यसको मूलप्रवाहीकरण गर्न खोजियो, जसको परिणाम अहिले मुलुकले भोगिरहेको छ ।
प्रचण्ड-बाबुरामहरूले प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीका विरुद्ध निर्दोष नागरिकलाई लक्षित गरेर हिंसात्मक सङ्घर्ष गरेका हुन् । विश्वका अन्य कतिपय मुलुकमा पनि कम्युनिष्टहरूले प्रजातन्त्रविरुद्ध हिंसात्मक सङ्घर्ष गरेका थिए । भारत, पेरु, कम्बोडिया, थाइल्याण्ड, इण्डोनेसिया आदि मुलुकको इतिहास अध्ययन गर्दा कम्युनिष्टहरू प्रजातान्त्रिक प्रणालीविरुद्ध सङ्घर्षमा उत्रिएका दृष्टान्त भेटिन्छन् ।
सिद्धान्ततः कम्युनिष्टहरू जातियता र क्षेत्रियतावादमा विश्वास गर्दैनन् । तर नेपालमा कम्युनिष्टहरूले नै जाति र क्षेत्रका नाममा राजनीति गरेर मुलुकलाई ‘यो’ अवस्थामा पुऱ्याएका हुन् । इथियोपियामा कम्युनिष्टलाई विस्थापित गर्न जातियता र क्षेत्रियतावादमा आधारित नियोजित सङ्घर्ष चलाइएको थियो, त्यहाँ सफलता पनि मिल्यो । देश विभाजित भए पनि माओवादी सत्ताको विस्थापन गर्न जाति र क्षेत्रियतावादी अवधारणाले इथियोपियामा काम गरेको थियो । टर्कीमा त्यहाँका माओवादी कम्युनिष्टहरूले आफ्नो हिंसात्मक सङ्घर्षसँग जातीय आन्दोलनलाई जोडेका थिए । सङ्घर्षलाई नयाँ उचाइमा पुऱ्याउन कम्युनिष्टहरूले जातीय र क्षेत्रियतावादी मुद्दा उठाएका थए । कालान्तरमा जातीय सङ्घर्ष यसरी उचालियो कि माओवादी कम्युनिष्टहरूले चलाएको सर्वहारावादी सङ्घर्ष नै ओझेलमा पऱ्यो, अर्थात् आफैंले उठाएको जातिवादी आन्दोलनको शिकार टर्कीका कम्युनिष्टहरू बने ।
जहाँ प्रजातान्त्रिक प्रणाली छैन त्यहाँ प्रजातन्त्र स्थापनाका निम्ति शुरु हुने सङ्घर्षमा कम्युनिष्टहरू सक्रिय सहभागिता जनाउँछन् । र, प्रजातन्त्र स्थापना भइसकेपछि त्यसैका विरुद्ध सङ्घर्षको मैदानमा उत्रन्छन् । २०४६ सालमा काङ्ग्रेसका नेताहरूले निर्दलिय पञ्चायतका विरुद्ध कम्युनिष्टलाई समेत परिचालन गर्न सकेको ठानेका थिए, तर वास्तवमा त्यतिबेला कम्युनिष्टहरूले काङ्ग्रेसलाई पञ्चायतविरोधी सङ्घर्षमा उपयोग गरेका थिए । त्यसैले प्रजातन्त्र स्थापना भएर त्यसको जग नबस्दै माओवादी कम्युनिष्टहरू हिंसात्मक सङ्घर्षमा उत्रिए । २०४६ देखि २०६३ को परिवर्तनसम्म कम्युनिष्टहरूले काङ्ग्रेसलगायतलाई ‘ट्याक्टीकल्ली’ प्रयोग-उपयोग गरेका हुन् । दुवै आन्दोलन र परिवर्तनमा बाह्य शक्तिसमेत जोडिएका थिए ।
२०४६ को परिवर्तन निरङ्कुशताविरुद्ध प्रजातान्त्रिक शक्तिको नेतृत्वमा भएकोले परिवर्तनलगत्तै मुलुकमा सकारात्मक सङ्केतहरू देखिएका थिए । संविधान बनेर पहिलो आमनिर्वाचन भइ काङ्ग्रेसको नेतृत्वमा सरकार गठन भएको वर्षदिनभित्रै आर्थिक विकासको गति ह्वात्तै बढ्यो र, साढे सात प्रतिशतसम्म वृद्धिदर पुगेको थियो । तर २०६३ को परिवर्तनपछिका डेढ दशक राजनीतिक दृष्टिले अस्थिर, सामाजिक दृष्टिले अराजक र आर्थिक दृष्टिले सकसपूर्ण हुँदै जानुको कारण बुझियो भने भयावह चित्र हाम्रो सामुन्ने प्रकट हुन्छन् । ०४६ को परिवर्तन निरङ्कुशताविरुद्ध थियो भने ०६३ को परिवर्तन राष्ट्रियताविरुद्ध केन्द्रित हो । २०४६ सालको परिवर्तनले संवैधानिक राजसंस्थासहित संसदीय प्रजातन्त्र, हिन्दूराष्ट्र, खुला अर्थतन्त्र र समृद्धिका निम्ति पूँजीको विकास जस्ता अवधारणालाई समेटेको थियो भने ०६३ को परिवर्तनले जातियतावाद, क्षेत्रियतावाद, सार्वभौमिकताको विभाजन (सङ्घीयता), धर्मनिरपेक्षता र गणतन्त्रसहितको समाजवादउन्मूख अर्थ-व्यवस्थालाई महान उपलब्धि मानेको छ ।
राज्य र राष्ट्रियता कमजोर बनाउने अन्तरवस्तुहरू समेटेर संविधान जारी गराइसकेपछि अदृष्य शक्तिहरू नेपाललाई चिरस्थायी ढङ्गले काबुमा लिन अनेक तरहले कसरतरत छन् । रूप र विषय अनेक देखिए पनि उनीहरूको समग्र क्रियाकलाप नेपाललाई रुग्ण तुल्याएर नियन्त्रणमा राखिरहने अभिप्राय र योजनाबाट प्रेरित छ ।
उल्लिखित सबै एजेण्डा नेपालको वस्तुस्थिति र नेपालीको भावनाप्रतिकुल छन् । जो-जसले माओवादीको हिंसात्मक सङ्घर्ष र २०६३ को परिवर्तनमा सहभागिता जनाए, तिनको अभीष्ट भिन्न थियो । प्रचण्डहरूमा एकपटक देशको प्रधानमन्त्री बन्ने स्वप्नभूत चढेको थियो, उनीहरू आफ्नो सपना पूरा गर्न जोसुकैसँग जस्तासुकै सम्झौता गर्न तयार थिए । बाह्यशक्ति यिनकै महत्वाकाङ्क्षामा सवार भएर नेपाली राष्ट्रियता, राज्य र समाज भताभुङ्ग बनाइदिने योजनामा थिए । पन्ध्र वर्षभित्रका कार्य र परिणामले हामीलाई थप बर्बादीतिर धकेल्दैछ । राज्य र राष्ट्रियता कमजोर बनाउने अन्तरवस्तुहरू समेटेर संविधान जारी गराइसकेपछि अदृष्य शक्तिहरू नेपाललाई चिरस्थायी ढङ्गले काबुमा लिन अनेक तरहले कसरतरत छन् । रूप र विषय अनेक देखिए पनि उनीहरूको समग्र क्रियाकलाप नेपाललाई रुग्ण तुल्याएर नियन्त्रणमा राखिरहने अभिप्राय र योजनाबाट प्रेरित छ ।
विभिन्न आकारप्रकारका दल, तिनका नेता र प्रशासकहरूलाई प्रयोग-उपयोग गर्दै लक्ष्य भेदन गर्न नसकेको अवस्थामा आर्थिक रूपले असफल राज्य प्रमाणित गरेर काबुमा लिने या गृहयुद्धको चपेटमा पारेर शान्ति र स्थापना शीर्षकअन्तर्गत ‘उहाँहरू’को आगमन हुने पृष्ठभूमि यतिबेला बनिरहेको छ । त्यसैले नेपालमा हाल राजनीतिक सत्तामा रहेका सबै दलहरू नेपाली राष्ट्रियता र यसको मौलिकतासँग वैरभाव राख्छन्, राष्ट्रवादी शक्ति र व्यक्तिलाई मूख्य बैरी देख्छन् । काङ्ग्रेस, कम्युनिष्ट, राप्रपा, मधेशकेन्द्रीत समूह आदिले नेपालमा शत्रु कसैलाई देखेका छन् भने त्यो राष्ट्रवादी र देशभक्तहरूलाई नै हो । यही राजनीतिक प्रणाली र संविधान, यिनै दल र यस्तै नेताहरूको जिम्मा लगाएर देश बन्ने सपना कसैले देखेका छन् भने ती पृथ्वीका सबैभन्दा दिग्भ्रमित व्यक्ति हुन्, दुर्भाग्यवश नेपालमा दिग्भ्रमितहरूकै बाहुल्य हुन पुगेको छ । त्यसैले अब नेपाल बन्ने होइन बच्ने स्थिति मात्र बनाउन सकियो भने पनि त्यसैलाई महानतम् उपलब्धि मान्नुपर्ने अवस्था छ । जय मातृभूमि !
प्रतिक्रिया