खै… कहाँ र कस्तो छ सरकार ?!

खै… कहाँ र कस्तो छ सरकार ?!


आउँदा चुनावहरूमा निर्लज्ज भएर घर-दैलामा टुप्लुकिने बेइमान र गद्दारहरूलाई बहिष्कार गर्ने आत्मबल हरेक मतदाताहरूले राख्न अत्यावश्यक भएको छ । फेरि पनि आफू पछुताउनु पर्ने निर्णय गर्ने वा नगर्ने- अब प्रत्येक मतदाताको आत्मा बोलोस् ।
  • राजबाबु शंकर

केही समययता आर्थिक सङ्कट शुरु भएको छ र प्रायशः नागरिकलाई यो सङ्कटले छोएको छ, जसका कारण मानिसहरूमा निराशा शुरु भएको छ । एकातिर कोरोना महामारी, अर्कोतर्फ आर्थिक सङ्कट । वास्तवमै गरिखाने वर्गका नागरिकहरूमा जीविकोपार्जनको समस्या आउने अवस्था देखिन्छ ।

दैनन्दिनको अत्यावश्यकीय उपभोग्य सामग्रीहरूको भाउ बढेकोबढ्यै छ । निरन्तर महँगीले जनजीवन आक्रान्त हुँदै गर्दा सरकार नै महिनाको २ खेप इन्धनको मूल्य बढाउने गर्छ । वास्तवमै सर्वसाधारणदेखि लिएर निम्न-मध्यमवर्गीय नागरिकहरूले कठोर जीविका धान्दैछन् । आर्थिक संकटकै कारण व्यापार-व्यवसायमा खलल पुगेको छ । वित्तीय संस्थाहरूले ऋृण दिन सक्दैनौँ भनेर हात उठाइरहेका छन् । यो देशमा सरकार छ कि छैन- नागरिकले भेउ पाउन छोडेका छन् !

जनताका यस्ता पीरमर्काप्रति सरकार त केही गरिरहेकै छैन भने प्रतिपक्षले पनि आफूइतरका दलका मनुवाहरूलाई गाली गरेर समय घर्काउनुभन्दा अरू केही गर्न जान्दैन ! कसैलाई सत्तामा टिकिरहनु परेको छ भने कसैलाई सत्ताधारीहरूलाई घोक्रेठ्याक कसरी लाउन सकिन्छ भन्ने दाउपेच गर्नमै फुर्सद छैन ! अर्थात्, जनताको दुहाई दिने सत्तासीनहरू र प्रतिपक्ष सबैको महत्वाकांक्षा केवल पदप्राप्तिमा थुरिएको छ । जनताको सकसप्रति तिनलाई किञ्चित चिन्ता छैन ।

सङ्घीयताको प्रतिदानस्वरूप नागरिकहरूले ३ तहको सरकारबाट करको भार र महँगीको मारबाहेक राहत पाएको महसूससम्म गर्न पाइरहेका छैनन् । जनजीविकाको सवालमा यी तीन तहकै सरकार लगभग ५ वर्ष पुग्नै लाग्दा पनि आम नागरिकका हकमा राहतप्रदायक बन्न सकेनन् । जनराहतको सवालमा जनता आफैले असंगठित रूपमा भए पनि बाध्य भएर नाराबाजी, जुलुस, धर्ना, विरोध प्रदर्शन गरिरहेकै छन् । तर, तिनै जनताको भोट पाएर ‘जनप्रतिनिधि’ बन्न पुगेका अमुक-अमुक दलका कथित नेतागणलाई जनताको पीडाप्रति कुनै चासो र चिन्ता छैन ! संगठित रूपमा त केवल पार्टीगत भेला, सम्मेलन, गठन, विघटन, नियुक्ति, मनोनयन आदि-इत्यादि मात्रै हुने गर्दछ । यसबाहेक स्वतन्त्र भनिएका र सामाजिक अगुवा/अभियन्ताको बिल्लाधारी कतिपय समेत दलकै निर्देशनमा चल्ने झुण्ड भइदिएको वास्तविकता लुकेको छैन ।

नागरिकहरूको आवाज कहीँकतै कसैले सुनुवाइनगर्ने कस्तो सरकार र दलहरू छन्- यो देशमा ? यो सरकार चैं कसको हो र यसले क-कसका निम्ति चैँ काम गर्छ वा गर्दैछ त ? केही संख्याका इमानी, जनताप्रति जवाफदेही र जनताका समस्याहरूप्रति गम्भीर एवम् संवेदनशील जनप्रतिनिधि तथा नेताहरू बाहेक यहाँ बहुसंख्यक चैँ कस्ता जनप्रतिनिधिहरू निर्वाचित भएका छन् ? त्यसैले अब आउँदा चुनावहरूमा निर्लज्ज भएर फेरि घर-दैलामा टुप्लुकिने चिनिएका धेरैजसो त्यस्ता बेइमान र गद्दारहरूलाई बहिष्कार गर्ने आत्मबल हरेक मतदाताहरूले राख्न अत्यावश्यक भएको छ । फेरि पनि आफू पछुताउनु पर्ने निर्णय गर्ने वा नगर्ने- अब प्रत्येक मतदाताको आत्मा बोलोस् । बेलैमा चेतना भया !