‘खोजी’को खोजिनीति

‘खोजी’को खोजिनीति


  • लुमडी आचार्य

‘खोजी’- यो कुनै विषय वा वस्तुविशेषको खोजी नभएर यसै वर्ष सार्वजनिक भएको निश्चल घिमिरेबाट सिर्जित कविता विधाकै साहित्यिक पुष्प ‘मुक्तक सङ्ग्रह’ हो । उमेरको हिसाबले दुई दशक मात्र पार गरेका युवा स्रस्टा घिमिरेको यो पहिलो पुस्तक हो । यति कलिलो उमेरमै साहित्यतर्फ यतिबिघ्न चासो राख्दै सिर्जनातर्फ निश्चल भएर व्यक्तिएका श्रृङ्गार रशयुक्त मुक्तकहरू पुस्तकमै समावेश गरेर पाठकसमक्ष पस्कनुमा उनको परिवार नै साहित्यानुरागी हुनु पनि हो भन्ने लाग्छ । यस प्रकारका सामाजिक परिवेशहरू फाट्फुट नै मेटिएलान् नेपाली समाजमा, जबकि निश्चलका पिता राजेन्द्र घिमिरे ‘सागर’ र दिदी रविना घिमिरे ‘जिज्ञासु’ पनि साहित्यकार नै हुनु हो । मुक्तककार निश्चल घिमिरेबाट सिर्जित प्रस्तुत कृतिमा दिदी रविनाले पनि सन्देशमूलक शुभकामना व्यक्त गरेकी छन् । हेरुँ भावोद्गारको एउटा अंश- ‘तपाईंका रचना नियाल्दा कतै प्रेमिल युवा, कतै विद्रोही युवा कतै फुरुङ्ग भएको मन, कतै दिग्दारीपन, कतै बालहृदय र कतै पाको अनुभव भेटिन्छ… ।’

रविनाको भाइ निश्चलको साहित्यप्रतिको चरम चासो र क्षमताको ठम्याइ स्वभाविकै लाग्छ । जबकि यी युवतीले निकै वर्षअघि नै ‘जुन पोखिएको आकाश’ कविता सङ्ग्रह लोकापर्ण गरिसकेकी छन् । यसमा राष्ट्रकवि माधव घिमिरे र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेतीज्यूको शुभकामना पनि छँदैछन् । त्यस्तै साहित्यिक जमघटमा गइरहँदा केही वर्षअघि राष्ट्रकविले नातिनीसरहको भावोद्गार व्यक्त गर्दै आल्हादित भएर रविनालाई काखैमा लिएको झझल्को पनि आउँछ पङ्क्तिकारलाई ।

पूर्वप्राथमिक, प्राथमिक, माध्यमिक हुँदै आधुनिक कालमा प्रवेश गरेयता नेपाली साहित्यको विविध विधामा लेखिएका कृतिहरूमा सघनता छँदैछ । यद्यपि कविता विधा अन्तर्गतकै काव्यमय रचनाहरूमध्ये गजल र हाइकूभन्दा मुक्तकीय काव्यकृतिहरू अलि कमै प्रकाशित भएजस्तो लाग्छ । हाइकू जस्तै मूक्तक पनि पूर्वीय तथा पाश्चात्य दुवैबाट नभइ यसको उद्गम फारसी साहित्यबाट भएको मानिन्छ । नेपाली साहित्यमा चारदेखि एघार पंक्तिसम्म तन्किएका मुक्तकहरू धेरै भेटिन्छन् । खासमा चार पंक्तिमा व्यक्तिएका मुक्तकहरू नै बढी चल्तीमा भएको पाइएकै छ । यहाँ चर्चा गर्न लागिएको मुक्तक सङ्ग्रह ‘खोजी’ पनि यस्तै हो । मुक्तक काव्यकृतिको मुख्य उद्देश्य समाजमा विद्यमान् सामाजिक विसङ्गतिप्रति व्यङ्ग्यात्मक प्रहार पनि हो भन्ने लाग्छ । किन्तु युवा मुक्तककार निश्चल घिमिरेबाट ‘खोजी’मा अभिव्यक्त काव्योद्गार भने प्रेमिकाप्रतिको आकर्षण र कतै चरम निरुत्साही बन्दै स्नेह र सुझावयुक्त सन्देशका साथै श्रृङ्गाररसमा बेगिएको अनुभूत हुन्छ । एक सय तीस खण्डसम्म तन्किएका मुक्तकहरू मध्ये नवौँ खण्डमा अभिव्यक्त मुक्तकांश पनि श्रृङ्गगार र करुणरस प्रधान, निक्कै घतिला र चोटिला लाग्छन् –

यो मुटुमा आउँछ हलचल तिमी नजिक आँउदा
हेरिरहुँ लाग्छ हर्पल, तिमी नजिक आउँदा
आज त भन्छु मनको कुरा भन्दा
पसिना आउँछ खलखल् तिमी नजिक आउँदा !

प्रस्तुत कृतिमा रत्नप्रसाद अनाममणि श्रेष्ठबाट व्यक्तिएको मूलतः पाँचवटा अभिव्यक्तिबाट पनि निश्चलको साहित्यप्रतिको मोह र निश्चलता प्रस्टिएकै छ । त्यस्तै डा. शैलेन्दुप्रकाश नेपालको यस कृतिप्रतिको मार्गनिर्देशनले पनि खासमा युवा पुस्तालाई साहित्यप्रति आकर्षित हुन र जीवनोपयोगी विविध क्षेत्रमा सफलताप्राप्तिका लागि निश्चल भएर रहन सुझाव दिएको अनुभूत हुन्छ, ‘खोजी’ मूक्तक सङ्ग्रहको विषय र परिवेशमा दृष्टिगोचर भएपछि । कविको परिचय सबन्धमा नेपाली साहित्यको सेरोफेरो नियाल्दै उत्तर आधुनिकालसम्म आइपुग्दा विभिन्न धारणाहरू भेटिन्छन् । तीमध्ये एउटा लोकोक्ति यस्तो छ-

कवि द्रस्टा र स्रस्टा दुवै हो । यहाँ सान्दर्भिक मुक्तककार निश्चलको काव्यिक हैसियत आभ्यासिक स्तरको लाग्छ । रविना दिदी र निश्चल भाइ भए पनि ‘खोजी’मा शुभकामना व्यक्त गर्दा रविनाले भाइलाई ‘तपाईं’ शब्द प्रयोग गरेकी छन् । यहाँ भाइको हैसियतले होइन आम कविमध्येको एक ठानेर एउटी पाठकको हैसियतले सम्मानित शब्द नै प्रयोग गरेकी होलिन् जिज्ञासुले ।
शुरुदेखि अन्त्यसम्म श्रृङ्गार रसमै सजाइएको खोजीको सेरोफेरोमा कतै-कतै सामान्य व्याकरणात्मक त्रुटी नभेटिने होइनन् । निश्चलबाट अब सिर्जना हुँदै जाने विविध सिर्जनाहरूमा यस्ता कमी-कमजोरीहरू नहुन् ! उनको कलम साहित्य सिर्जनातर्फ बेगिइरहोस् ।