माग पुरा नगरे आन्दोलनमा होमिने होटेल तथा पर्यटन श्रमिकको चेतावनी

माग पुरा नगरे आन्दोलनमा होमिने होटेल तथा पर्यटन श्रमिकको चेतावनी


  • सन्जिव दुलाल, काठमाडौं

होटेल तथा पर्यटन व्यवसायमा सेवाशुल्क अन्त्यसँगै श्रमिकहरू पलायन हुने अवस्थामा पुगेपछि पुनः कानुन बनाई सेवाशुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तीन वटा ट्रेड युनियनहरूले ‘हान’लाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

सेवाशुल्क कानुनी रूपमा प्राप्तिको निम्ति राष्ट्रिय स्तरका तीन वटा ट्रेड युनियन नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक सङ्घ, अखिल नेपाल होटेल क्या सिनो तथा रेस्टुराँ मजदुर सङ्घ र नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनले संयुक्त रूपमा हानलाई ज्ञापन पत्र बुझाएको हो ।

सेवाशुल्क लिँदा उपभोक्ता ठगिएको भन्ने व्याख्या गरियो तर अहिले होटेल तथा पर्यटन व्यवसायीले मेनुमा नै थप शुल्क लिएर श्रमिकहरूलाई भने वास्ता नगर्दा देशभरका लाखौं मजदुरहरूको रोजीरोटीमा भने हानी पुगेको भन्दै उनीहरूले हानलाई सेवाशुल्क लगायत विभिन्न ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको नेपाल पर्यटन तथा होटेलसम्बद्ध श्रमिक सङ्घका महासचिव सन्तोष थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालको होटेल तथा पर्यटन व्यवसायमा काम गर्ने श्रमिक सेवा शुल्क नपाउने भएपछि विदेश पलायनको अवस्थामा पुगेको बताउँदै यस्तै अवस्था हुने हो भने नेपालको होटेल तथा पर्यटन व्यवसाय नै धरापमा भएकाले आफूहरूले एक साथ हानलाई माग सम्बोधनका लागि ज्ञापन पत्र बुझाएको जानकारी दिए ।

श्रम ऐन २०७४ को दफा १०९क० र श्रम नियमावली २०७५ को नियम ३ बमोजिम नियमित रोजगारी भनिन्छ भनी परिभाषित गरेको अवस्थामा कोभिड १९ पछाडि होटेल क्षेत्रमा करार रोजगार सम्झौता वा श्रमिक आपूर्तिकर्तामार्फत शतप्रतिशत श्रमिक तथा कर्मचारी नियुक्ति गर्ने गरेको छ यसको अन्तका लागि आफूहरूले ज्ञापनपत्र बुझाएको उनले जानकारी दिए ।

नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक सङ्घ, अखिल नेपाल होटेल क्यासिनो तथा रेष्टुराँ मजदुर सङ्घ र नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनले संयुक्त रूपमा पर्यटन तथा होटेल क्षेत्रमा काम गर्ने श्रमिकको हक हितका लागि जस्तोसुकै आन्दोलन गर्न समेत तयार भएको थापाले बताए ।

पहिलो चरणमा होटेल सङ्घ नेपाललाई ६ बुँदे माग दाबीसहित ज्ञापनपत्र बुझाएका छौँ र, यसको सवालमा सुनुवाइ नभएमा होटेल तथा मजदुर श्रमिकहरूले देशभर आन्दोलनको घोषणा गरिने थापाको भनाइ छ ।

होटेल तथा पर्यटन क्षेत्रमा सर्भिस चार्ज मार्फत मेनुको १० प्रतिशत थप रकम लिइने गरिएको थियो । उक्त थप लिइएको १० प्रतिशतबाट ७२ प्रतिशत मजदुरहरूलाई दामासाही रूपमा वितरण गरिँदै आएको थियो । राम्रो चल्ने होटेल तथा पर्यटन व्यावसायिक संस्थाका कर्मचारीले एक महिनामा सर्भिस चार्जबाट पचास हजारसम्म थप सेवा सुविधा पाउँदै आएका थिए । उक्त सर्भिस चार्ज हट्दा हाल उक्त मजदुरले न्यूनतम तलब अर्थात् १७ हजार ३०० देखि माथिमात्र तलब पाउँदा श्रमिकहरू घर चलाउन नसक्ने अवस्थामा पुगेका र विदेश पलायन हुन बाध्य भएका छन् ।