राष्ट्रवादीहरूलाई नेपालीबीच भावनात्मक एकता सदैव कायम राख्नु छ, राष्ट्रघातीलाई त्यो एकता एक पटक भए पनि तोड्नु छ । हिन्दुहरूले ‘वशुधैव कुटुम्वकम्’ भनेर संसारभरिका धर्म-सम्प्रदायलाई कुटुम्व बनाउनु छ, तर षडयन्त्रकारीलाई एक पटक भए पनि धार्मिक युद्ध गराउनु छ ।
- स्वयम्भूनाथ कार्की
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’- साल नखुलाइएको नेपालको संविधानले गरेको राष्ट्रको परिभाषा हो यो । अपवाद बाहेक विश्वका सबै राष्ट्रलाई यो परिभाषा उपयुक्त हुन्छ, अर्थात् यो परिभाषा नेपाल राष्ट्रलाई मात्र हैन । यी विविधताहरू नै कुनै पनि राष्ट्रका प्राण हुन् । यी विविधतालाई एक्लाएक्लै पारियो भने सबैको समुल नास हुन्छ, त्यसैले यी सबै एक सुत्रमा आबद्ध रहनुपर्छ । यो भने शाहवंशले स्थापित गरेको मान्यता हो ।
जनता राष्ट्र हुन् अर्थात् राष्ट्र भनेको नै जनता हो जो राष्ट्रिय स्वतन्त्रता र अखण्डताप्रति आस्थावान छ । राष्ट्रको यो परिभाषा २०१९ को संविधानदेखि नै वर्तमान संविधानसम्म निरन्तर छ । यही राष्ट्रप्रतिको माया, आस्था अनि गौरव राष्ट्रप्रेम हो । यो प्रेम भावना हो, आफू जोडिएको राष्ट्रिय स्वतन्त्रता अनि अखण्डतासँगको एकात्मकता हो । नेपालको नाम गर्वले प्रथम परिचय या पहिचान मान्ने मात्र नेपाल राष्ट्र हो । यो यसै संविधानले परिभाषा गरेको कुरा हो । राष्ट्रचिन्ता गर्नुपर्ने नै यही आस्था टुट्दै गएकोमा हो, यो केवल चिन्ता गरेर मात्र पुग्दैन व्यवहारमा पनि हुनु पर्दछ । राष्ट्रप्रेम अनुभूति गर्नेले राष्ट्रचिन्ता गर्छ नै, तर व्यवहारमा ल्याएको भने देखिएको महशुस गरिएको छैन ।
पाखा लगाइएका राजाले राष्ट्रचिन्ता गर्ने गरेका छन् । यो उनको रगतमा रहेको पुख्र्यौली स्वभाव हो । यसमा पृथ्वीनारायण शाहको अंश पनि छ भने विवाद साम्य गर्न गद्दी छोड्ने राजेन्द्रको पनि । स्वतन्त्रताको चाहना राख्ने र त्यो स्वतन्त्रताको निमित्त गद्दी बाजी राख्ने त्रिभुवनको पनि । नेपालको आन्तरिक सवलता र विदेशमा नेपालको आदर पैदा गर्ने ‘राष्ट्रवाद’ पथका प्रवर्तक महेन्द्रको पनि । अहिले उनको यो चिन्ता केवल चिन्ता भएको छ । आफूलाई प्राणभन्दा प्यारो भनेर नारा लगाउनेहरूको भरोसामा चालेको कदमले उल्टो काम गरेको छ । राष्ट्रको पीडा हर्नुको साटो आफूलाई नै किनारा लगाएर पीडा थप्नेहरूको हालीमुहाली भएको छ ।
राष्ट्र राजाभन्दा ठूलो हो- यो कुरा उनले बुझेका मात्र नभइ आफ्ना समर्थक भएर आउने सबैलाई बुझाउन पनि खोज्दैछन् । पहिलो काम राष्ट्रको स्थायित्व हो भन्ने उनका कुरा सुनेर पनि ‘राजावादी’ सडकमा आन्दोलनको हुङ्कार गर्दछन् । यो उनको लगातार हारको थप श्रृङ्खला हो । सबैको हुनुपर्ने देशलाई भागबण्डा गर्ने खालका उग्र क्रियाकलापको बदलामा राष्ट्रवादीहरूले देखाएको प्रतिक्रिया त्यही विभाजनकारीलाई सहयोग गर्ने खालका छन् । कुकुरले खुट्टा टोकेमा कुकुरको खुट्टा टोक्नुपर्छ भन्नु उचित हैन । तर, यस्तै कामले राष्ट्रिय एकतामा झन् चोट पुग्छ भन्ने सोच्न नसक्ने उग्र राजावादीमा र मधेश-पहाड, तागाधारी-मतवाली आदि फुटाउन खोज्नेहरूमा फरक के ?
नेपाल हिन्दुबाहुल्य देश हो, हिन्दुराष्ट्र पनि घोषित थियो । के त्यो बेला अन्य आस्थाकालाई अहिलेजस्तै तथानाम गरिएको थियो ? थिएन, त्यसबेला सबैको अस्तित्वको सम्मान गरिएको थियो । कतैको षड्यन्त्रले यो सौहाद्र्धता समाप्त पार्न आक्रामक प्रचार भएको छ । यो प्रचार गर्नेहरू कतै-कसैको जागिर खाइरहेका छन्, तर आफूलाई हिन्दु भन्नेहरू सित्तैमा उनीहरूको यो अभियानलाई सघाउँदैछन् ? उनीहरूको अभियान यहाँ भएका विभिन्न सम्प्रदायमा फुट ल्याउनु हो । त्यसैले कोही एक सम्प्रदायको जस्तो भएर अर्कोमाथि आक्रमण गर्दछ, भड्काउँछ । त्यसबाट भड्किनु षडयन्त्रकारीको सफलता हो ।
आफू विभिन्न क्षेत्र, जातजातिको भएर कायम सौहार्द्धता बिथोलेर राष्ट्र विखण्डन गर्न खटाइएकाहरू चर्का गाली गर्दैछन् । त्यसबाट आवेशमा आएर राष्ट्रवादी पनि उनिहरूलाई गाली गर्न लाग्छन् । यसले उनीहरूको अभियान नै सफलतातर्फ लाग्छ । राष्ट्रवादी हुन सजिलो राष्ट्रवादी भएर बाँच्न गाह्रो भन्ने गरेको सुनिन्छ । हो राष्ट्रवादी भएर बाँच्न गाह्रो नै छ । आफूलाई भइराखेको प्रहारलाई जस्तालाई तस्तै भन्ने जवाफ दिन सकिन्न । कमजोर भएर काँतर भएर हैन त्यो जवाफले उनीहरूलाई जिताउने भएर ।
राष्ट्रवादीहरूलाई नेपालीबीच भावनात्मक एकता सदैव कायम राख्नु छ, राष्ट्रघातीलाई त्यो एकता एक पटक भए पनि तोड्नु छ । हिन्दुहरूले ‘वशुधैव कुटुम्वकम्’ भनेर संसारभरिका धर्म-सम्प्रदायलाई कुटुम्व बनाउनु छ, तर षडयन्त्रकारीलाई एक पटक भए पनि धार्मिक युद्ध गराउनु छ । जोडेर राख्न कठिन छ, फुटाउन सरल । त्यसैले राष्ट्रवादी भएर बाँच्न कठिन छ । यहाँ भारतसँग पसारेको हात खाली भयो भने उसलाई गाली गर्दै चीनको खुट्टामा तेल घस्ने भ्रान्तीवादलाई राष्ट्रवाद भनिएको हैन । कुहिराको काग भएर अनजानमै राष्ट्र विखण्डनमा खटाइएकाहरूलाई मुखभरीको जवाफ दिने क्रममा राष्ट्रवादी चिप्लँदै छन् । देश चिन्ता मात्र गरेर हुन्न कष्ट निवारणको प्रयत्न पनि हुनै पर्दछ । राजगद्दी भन्दा राष्ट्र ठूलो मानेर गरिने कामलाई कसैले गद्दी फर्काउन गरिने षडयन्त्र भन्छ भने भनिरहोस् । यो भन्दा निम्न स्तरका वचन र व्यवहार झेलेकै हो । नत्र राजावादीखाले राष्ट्रवादीकै काँधमा बन्दुक राखेर राष्ट्रघात होला ।
प्रतिक्रिया