जुको पस्यो सिंहदरबारमा

जुको पस्यो सिंहदरबारमा


  • चट्याङ मास्टर

जुको पस्यो सिंहदरबारमा, अजिङ्गर बनी निस्कियो
चुस्थ्यो यो खान जानेछ, अघाउनचाहिँ बिर्सियो
सानो, नरम, लुलो जुको ठूलो, मोटो, दरो भयो
देशका गोप्य ढोकामा, पस्दो र निस्कँदो भयो ।

जुको पस्यो सिंहदरबारमा, जुकाज्यू बनी निस्कियो
हिँड्थ्यो यो गुड्न जानेछ, सुमार्गचाहिँ बिर्सियो
स्कुलमा पछि पर्थ्यो, हुलमा यो अघि भयो
यो यौटा अघि पर्नाले, सारा देश पछि गयो ।

जुको पस्यो सिंहदरबारमा, वेदव्यास बनी निस्कियो
महामूर्ख लठुवा थ्यो, सबलाई सिकाउन तम्सियो
मेचबाट मिल्यो बुद्धि, जुको नै सब जान्ने भो
यो एउटा जान्ने बन्नाले, सारा देश नजान्ने भो ।

(‘चट्याङ गीता’बाट)