तिमीले गलत अर्थ लाइदियौ

तिमीले गलत अर्थ लाइदियौ


  • दुर्गाकिरण तिवारी

जिन्दगीको युद्धबाट थाकेर
शिथिल हुँदा म चाह सकिएर
खुशी दक्षिण हुँदा मेरा
वसन्त उजाडिएर शिशिर हुँदा मन
छिया-छिया परेकी म
विक्षिप्त मन बोकेर
तिम्रै समीप आएकी थिएँ
दुई थोपा आँसु बिसाउँला भनी
कुनै स्वार्थ थिएन ममा
सायद ! तिमीले गलत अर्थ लाइदियौ र,
परै बस भन्यौ !
यो घाइते मन बोकी तिम्रा सामु आएकी थिएँ
तिम्रै काखमा निर्धक्क
यी मूल्यहीन नुनिला आँसु खसालुँला भनी
मात्र तिम्रो काख मागेकी थिएँ
एक छिन सुस्ताउनका लागि
रुनकै लागि र बह बिसाउनकै लागि
अरू पटक्कै स्वार्थ छँदै थिएन ममा
सायद !
तिमीले गलत अर्थ लगाइदियौ
र, पर बस भन्यौ !
म खुसी सकिएर ओइलाएकी मान्छे
झर्न ठिक्क परेको फूलजस्तै
त्यसैले थाकेर म
तिम्रै समीप आएकी थिएँ
म रित्तिएकी थिएँ केवल रित्तो
बिना चाहनाकी
बन्द भैसकेका थिए मेरा रहरहरू
न उषा देख्थेँ न क्षितिज
खालि थिए आँखामा सपनाहरू
र त अस्ताइसकेकी म
तिम्रै काखमा टाउको बिसाउन चाहन्थेँ
यी दुई थोपा आँसु बगाउन चाहन्थेँ
कुनै स्वार्थ थिएन ममा
सायद !
तिमीले गलत अर्थ लगाइदियौ
र परै बस भन्यौ !
मेरो निःस्वार्थ भावको
परिभाषा नै बदलिदयौ तिमीले
स्वयम् शरद्को फूल म
कहरमा फुल्दै–फुल्दै सुक्दै थिएँ
कल्पनाहरू
यथार्थमा रूपान्तरित भएनन् कहिल्यै
रङ्ग हराएका कोरा भइसकेका थिए
म बगर, सेती बगरको पनि पत्थर भइसकेकी थिएँ
मात्र छाल आएर
हुत्याउन बाँकी थियो
मात्र उसैसँग लीन गराउन बाँकी थियो !
त्यसैले म विलीन हुनुअघि
तिम्रै काखमा टाउको बिसाउन चाहन्थेँ
परेली रुझाउने ताता आँसुले
तिम्रो काख भिजाउन चाहन्थेँ
सदा धुमिलिएको मन मात्र अन्तिम पटक हलुँगो
बनाउन चाहन्थेँ, अरू कुनै स्वार्थ थिएन ममा
सायद !
तिमीले गलत अर्थ लाइदियौ
र त परै बस भन्यौ !!