परम्परागत सांस्कृतिक बाजागाजा संरक्षणका लागि बाँसुरी बाधक दीक्षित

परम्परागत सांस्कृतिक बाजागाजा संरक्षणका लागि बाँसुरी बाधक दीक्षित


भक्तपुर नगरपालिका-७, गोल्मढीमा बाँसुरी बाजा बाधकहरू दीक्षित भएका छन् । गोल्मढीको यातास्थित सहलह बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बाँसुरी बाजा प्रशिक्षण समापनको अवसरमा प्रशिक्षार्थीहरू दीक्षित भएका हुन् ।

गत वर्षको चैत १९ गतेदेखि प्रशिक्षण सुरु गरेका प्रशिक्षार्थी करिव एक वर्ष लामो प्रशिक्षणपछि दीक्षित भएका हुन् । नेवारी परम्पराअनुसार प्रशिक्षणका क्रममा प्रशिक्षार्थीका परिचय गोप्य राखिन्छ । प्रशिक्षणको समापनसँगै नासः द्यो (नाट्यश्वरी)को पूजा गरी प्रशिक्षार्थी दीक्षित हुँदै सार्वजनिक हुने गर्छन् ।

परम्परागत सांस्कृतिक बाजागाजा संरक्षण एवं नयाँ पुस्तालाई प्रशिक्षित गर्ने उद्देश्यले बाँसुरी बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको सहकारीले जनाएको छ । प्रशिक्षार्थीलाई भक्तपुर नगरपालिका-९, साकोलाङका गायक तथा सङ्गीतकार राजकुमार मानन्धरले प्रशिक्षण दिएका थिए । कोरोना सङ्क्रमणको जोखिमका कारण बन्दाबन्दीको बेला अनलाइनमार्फत प्रशिक्षण दिएको बताउँदैं गुरु मानन्धरले कोरोना कारण पनि प्रशिक्षण लम्बिएको जानकारी दिए ।

कोरोनाको जोखिम कम भएसँगै नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालन गरी प्रशिक्षण सञ्चालन गरेको उनको भनाइ छ । प्रशिक्षणका क्रममा आवश्यक बाजागाजालगायतको आवश्यक व्यवस्थापन सहकारीले गरेको थियो । प्रशिक्षणमा महिला पुरुष गरी २१ जना सहभागी भएका थिए ।