प्रचण्डले माफी मागेपछि नारायणकाजी ठण्डा !

प्रचण्डले माफी मागेपछि नारायणकाजी ठण्डा !


प्रचण्डले हिंसात्मक युद्धमा सरिकहरूलाई आफ्नो पक्षमा मिलाइसकेका छन् । हिंसात्मक गतिविधिमा सामेल नभएका माओवादीहरूको नेतृत्व नारायणकाजी श्रेष्ठले गरिरहेका छन् । तत्कालका लागि माओवादी पार्टीको विभाजन टरे पनि निकट भविष्यमै (चुनावपछि) नारायणकाजीपक्षीय नेता-कार्यकर्ताहरू माओवादीबाट अलग्गिन सम्भव देखिएको छ ।

हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष रूपले सहभागी भएका र हिंसाका विरुद्ध उभिएकाहरूबीच माओवादीमा गहिरो फाटो देखापरेको छ । एमसीसी अनुमोदन प्रकरणमा अध्यक्ष प्रचण्डले निर्वाह गरेको भूमिकाले उक्त पार्टीभित्रको विवाद गहिऱ्याएको हो ।

प्रचण्ड शुरुदेखि नै एमसीसी अनुमोदनका पक्षमा थिए र, अनुमोदन नगरे माओवादीले गम्भीर क्षति ब्यहोर्नुपर्ने बुझाइ प्रचण्डको थियो । त्यसैले केही महिनायताका भेट तथा बैठकहरूमा प्रचण्ड घुमाएर एमसीसी अनुमोदनको पक्षमा आफ्नो धारणा राख्ने गर्थे । प्रचण्डलाई समर्थन गर्ने जम्मा एकजना शक्ति बस्नेत मात्र देखिएका थिए । सम्झौता नगरिकन कुनै पनि अवस्थामा एमसीसी अनुमादन नगर्ने अडानमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत थिए । श्रेष्ठले पार्टीका बहुसङ्ख्यक नेताहरू समेतको भावनालाई बुझेर एमसीसी अनुमोदन हुन नसक्ने धारणा निरन्तर प्रकट गरिरहे । अन्ततः प्रचण्डले आफ्ना सबै सांसदहरूलाई अनुमोदनको पक्षमा मतदान गराइ छाडे ।

नारायणकाजीका निकट भनेर चिनिएका सांसदहरू गिरिराजमणी पोखरेल र अञ्जना बिसङ्खेले मात्र अनुमोदनको विपक्षमा मतदान गरेका थिए । पोखरेल र विसङ्खेले प्रचण्डसँग अब सहयात्रा गर्न नसकिने अठोटका साथ विपक्षमा मतदान गरेको बताइन्छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि गम्भीर बनेको बुझिएको छ । तर श्रेष्ठ माओवादीबाट अलग हुने सम्भावना भने देखिएको छैन । प्रचण्डबाट पटक-पटक अपमानित र उपेक्षित हुनुपर्दा पनि श्रेष्ठ किन प्रचण्डबाट अलग हुन सकेनन् भन्ने विषयलाई लिएर स्वयम् माओवादी पार्टीभित्रै चर्चा-परिचर्चा हुन थालेको छ ।

गत वर्ष नेकपा विभाजन हुनुअघि श्रेष्ठलाई अध्यक्ष केपी ओलीले उपप्रधानमन्त्रीको जिम्मेवारीसहित पार्टीमा भूमिका बढाइने विश्वास दिलाएका थिए । श्रेष्ठ एक जना मात्र सचिवालयमा केपीको समर्थनमा उभिएका भए परिस्थिति अलिक भिन्न हुने थियो र राजनीति बेग्लै ढङ्गले अघि बढ्न सक्थ्यो । त्यसबेला केपीका विरुद्ध सर्वाधिक आक्रामक देखिएका नारायणकाजी श्रेष्ठले पार्टी विभाजनपछि शेरबहादुर देउवाको मन्त्रिमण्डलमा महत्वपूर्ण भूमिका प्राप्त गर्ने र पार्टी जिम्मेवारीको पनि उचाइ बढ्ने अनुमान गरिएको थियो । तर प्रचण्डले मन्त्रिमण्डलमा क-कसलाई पठाउने भन्नेबारे श्रेष्ठसँग सल्लाह नगरेको मात्र होइन, जानकारीसमेत नदिएको बताइन्छ । गत सम्मेलन उर्फ महाधिवेशनपश्चात पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा श्रेष्ठको चयन हुने बताइएको थियो, अब चुनाव देखाएर प्रचण्ड पदाधिकारी चयन गर्नबाट पछि हटेका छन् । भनिन्छ, पार्टीको महामन्त्री (महासचिव) चयनमा समस्या उत्पन्न भएकोले प्रचण्ड सकसमा परेका छन् ।

जनार्दन शर्मा प्रभाकर महासचिवको जिम्मेवारी नपाए ठूलै विद्रोह गर्ने मानसिक तयारीमा छन् । गत महाधिवेशन भन्दा केही महिना अघिदेखि नै जनार्दनले आफू पार्टी अध्यक्ष बन्ने जानकारी निकटस्थहरूलाई गराउँदै आएका थिए । अध्यक्ष बन्न नपाएपछि जनार्दन ‘महासचिव’ नलिइ नछोड्ने मानसिकतामा छन् र, त्यसअनुरुप प्रयास पनि गरिरहेका छन् । तर प्रचण्ड स्वयम्चाहिँ वर्षमान पुनलाई महासचिव चयन गर्ने पक्षमा छन् । आपसमा पानीबाराबारको स्थितिमा रहेका वर्षमान पुन र जनार्दन शर्मामध्ये जसले उक्त जिम्मेवारी प्राप्त गरे पनि नपाउने पक्ष प्रचण्डसँग रुष्ट हुने निश्चित छ । यही अप्ठ्यारोका कारण प्रचण्डले पदाधिकारी चयनलाई पछाडि धकेल्दै लगेका हुन् ।

वरिष्ठ उपाध्यक्ष बनाउने भनिएका नारायणकाजी श्रेष्ठलाई प्रचण्डले केही दिनअघि एक टेलिभिजनमार्फत सार्वजनिक रूपमै पार्टीबाट अलग्गिन सुझाव दिएका थिए । त्यसरी ललकारेपछि श्रेष्ठ प्रचण्डसँग सामान्य सम्पर्कमा पनि रहन छोडेको बताइन्छ । तर चितवनको माडी क्षेत्रबाट मतदातामा नारायणकाजीको बलियो पकड रहेको हेक्का भएपछि प्रचण्ड नारायणकाजी श्रेष्ठकै निवासस्थान (हात्तीवन)मा पुगेर क्षमायाचना गरेका थिए । नारायणकाजीको साथ नरहँदा माडीबाट आउनुपर्ने मत नआउने कुराको याद कसैले दिलाइदिएपछि प्रचण्डले नारायणकाजीसँग उनको घरमै पुगेर माफी मागेका थिए । प्रचण्डले हिंसात्मक युद्धमा सरिकहरूलाई आफ्नो पक्षमा मिलाइसकेका छन् । हिंसात्मक गतिविधिमा सामेल नभएका माओवादीहरूको नेतृत्व नारायणकाजी श्रेष्ठले गरिरहेका छन् ।

तत्कालका लागि माओवादी पार्टीको विभाजन टरे पनि निकट भविष्यमै (चुनावपछि) नारायणकाजीपक्षीय नेता-कार्यकर्ताहरू माओवादीबाट अलग्गिन सम्भव देखिएको छ । श्रेष्ठको कित्ताका एमसीसीविरोधी नेताहरूमध्ये लीलामणि पोखरेललाई लिइन्छ । तर पत्नी मन्त्री पदमा भएकोले लीलामणि पनि बाँधिएका छन्, कुनै ठोस कदम चाल्ने आँट उनले पनि गरेका छैनन् । तत्कालका लागि पार्टीभित्रै लडाइँ गर्ने भनाइ लीलामणि पोखरेललगायतको छ । त्यसैले विवाद गहिरिएको भए पनि तत्काल माओवादी पार्टी विभाजित नहुने देखिएको छ ।