सगरमाथा अगाडि उभिँदा

सगरमाथा अगाडि उभिँदा


सगरमाथाको अगाडि उभिँदा मैले आमाबुबाले दशैँमा टीका लगाउँदै दिएको आशीर्वाद सम्झिएँ- ‘शीर सधैं उचो होस्, सगरमाथाको शिखरमा पुग्नु !’ शिखरमा नपुगे पनि म सगरमाथाको आधार शिबिरमा थिएँ र मनोबल थप उच्च भएको थियो ।
  • बबिता बस्नेत

जीवनमा कहिल्यै कल्पना नगरेको ठाउँमा पुगियो भने कस्तो अनुभूति हुन्छ ? कस्तो हो कस्तो, खास सोचिएकै हुँदैन । सगरमाथा अञ्चलमा जन्मिएर हुर्किए पनि मैले कुनैबेला सगरमाथासँग आमनेसामने हुन्छु भन्ने कल्पना गरेकी थिइनँ । एक वर्षअघि कल्पना भुषाल भण्डारी र प्रजिता कार्कीले ‘साथसाथै’ संस्थाको बारेमा जानकारी दिँदै संस्थाले महिलाहरूलाई यात्रा गराउने मुख्य उद्देश्य राखेको बताउँदा मलाई रोमाञ्चक लागेको थियो । महिलाहरूले यात्रा गर्ने भनेको घर-माइत गर्दाको दूरी रहने गरेको पृष्ठभूमिबाट आएका नेपाली महिलालाई आफ्नै देशका विभिन्न स्थानको यात्रा गराएर समानतालाई प्रवर्द्धन गर्ने लक्ष्य आफैंमा सशक्त थियो । देशमा रहेका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गरे पनि सगरमाथानजिक पुग्ने/पुऱ्याउने उहाँहरूको लक्ष्य यति चाँडै पूरा होला जस्तो लागेको थिएन । तर मानिसले सपना देखेर त्यसैमा लागिपरिरह्यो भने सम्भव हुँदो रहेछ ।

अन्नपूर्ण बेस क्याम्पलगायतको अनुभव हासिल गरिसकेपछि सगरमाथा आधार शिविरको योजना बनाउँदै गर्दा प्रजिताले विभिन्न पेशा, ब्यवसायमा संलग्न महिलाहरूले गर्ने यात्रा गर्ने हुँदा समय निकाल्न भनिन् । काठमाडौंदेखि लुक्ला जहाजमा गएर हिँड्दै कालापत्थर पुगी पुनः लुक्लासम्म हिँडेर जहाजमार्फत काठमाडौं आउन १२ दिनको प्याकेज बनाइएको थियो । लुक्लाबाट हिँडेर सगरमाथाको आधार शिबिर कालापत्थर पुग्नु सानोतिनो साहसको कुरा थिएन । तर नेपालको महिला अधिकार आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लसहित विभिन्न पेशा-ब्यवसायमा भएका ४० जना महिलाले त्यो साहस गरे ।

नेपाली महिलाहरूले गरेको यो ऐतिहासिक यात्राको उद्देश्य ‘क्लाइमेट जस्टिस’का सन्दर्भमा नेपाल र विश्वको ध्यानाकर्षण गर्नु थियो । यात्राटोलीलाई साथ दिँदै ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस सगरमाथाको आधार शिविरमा मनाउन दुई दिनको योजना बनाई अर्को एउटा टीम मार्च ७, २०२२ का दिन लुक्लातर्फ लाग्यो जुन टीममा म सहभागी भएकी थिएँ । बन्दना राणा, सरु जोशी श्रेष्ठ, मनिषा कोइराला, डा. राधा वाग्ले, बालकृष्ण बस्नेत, बद्री सिग्देल, भीष्म ओझा, मातृका पौडेल, शरद अधिकारी, डा. सिद्धार्थ बज्राचार्य, दिलिप थापा मगर, भाुनुभक्त निरौला, अमृत शर्मा गरी १४ जनाको उक्त टीम लुक्लामा एक रात बसेर भोलिपल्ट हेलिकप्टरमार्फत आधार शिबिर पुगी पुनः लुक्ला हुँदै फर्किएको थियो ।

हिमालको यात्रामा निस्कनुअघि त्यहाँ लगाउने ज्याकेट, जुत्ता, लुगा, खानेकुरालगायतका बारेमा परिवारका सदस्य र निकटवर्तीहरूले विभिन्न सल्लाह सुझाव दिएका थिए । ‘हाई अल्टिच्युड’ हुने हुँदा लसुन बोक्नु, पानी नबिर्सिनु, खालीपेट नरहनु, शरीरका कुनै पनि भाग खुल्ला नराख्नु, कम बोल्नु या नबोल्नु… यस्तै-यस्तै थिए सुझावहरू । २०६० सालमा तिब्बतको ल्हासा पुग्दा शरीर हलुका भएर पाइला चाल्दा खुट्टा माथि-माथि उडे झैँ लागेको थियो । ३ हजार ६ सय ५६ मिटरको उचाईमा रहेको ल्हासामा त्यस्तो भएको थियो, हामी ५ हजार ६ सय ४४ मिटरमा रहेको कालापत्थर जाँदै थियौँ । लुक्ला एयरपोर्टमा झर्नुअघि नै देखिएको आँखाअगाडि पोष्टरजस्तो हिमालले ‘आहा… हाम्रो देश !’ भन्ने बनायो । एयरपोर्टको पारीपट्टि रहेको होटलमा हामी पुग्दा बिहानै लुक्ला पुगेर घुमघाम सकेका मनिषा कोइराला, बन्दना, मातृकाहरू घाम ताप्दै वरिपरिका दृष्यको आनन्द लिइरहेका थिए । लुक्लामा हामी जाँदा बत्ति थिएन, साँझमा टुकीको मुधुरो प्रकाशबीच लुक्ला बजारमा हेर्दै रहरलाग्दा कुकुरहरू डाँडा थर्काएर भुकीरहेका थिए । लुक्लाको त्यो चिसो रातले बाटोमा हिँडेर कालापत्थर पुग्नेहरूलाई सलाम गर्नुपर्छ भन्ने बनाएको थियो ।

भोलिपल्ट बिहान ६ बजे हामीले ब्रेकफास्ट खायौँ । सात बजे हेलिकोप्टर चढ्न जाँदै गर्दा लुक्ला बजारअगाडिको हिमाल आँखा पन्छाउन मन नलाग्ने गरी टल्किरहेको थियो । हेलिकोप्टरमा बस्नुअघि क्याप्टेन विमलले कालापत्थरमा हावाको चाप कम हुने भएकाले हामीहरूमध्ये तीन जना फेरिचे भन्ने ठाउँमा उत्रिनुपर्ने र त्यहाँबाट एक पटकमा दुई जना मात्र लान सकिने बताएका थिए । कालापत्थर र लुक्लाको बीचमा रहेको फेरिचेवरिपरि हिमालैहिमाल भएको बीचमा एउटा हेलिप्याड र अलिक पर एउटा चियापसल भएको सानो उपत्यका थियो । लुक्लाबाट हिँडेको २० मिनेटमा हामी कालापत्थर पुग्दा पहिल्यैदेखि हिँडेर यात्रा गरेका बहादुर हाम्रा साथीहरूमध्ये धेरैजसो पुगिसकेका रहेछन् । न्यायाधीश सपना र पत्रकार यशोदा तिमिल्सिनालाई हाइ अल्टिच्युडले समातेकाले घोडामा आउँदै गरेको देखियो । सबै जना जम्मा भएपछि हामीले औपचारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनायौँ ।

महिलाहरूले यात्रा गर्ने भनेको घर-माइत गर्दाको दूरी रहने गरेको पृष्ठभूमिबाट आएका नेपाली महिलालाई आफ्नै देशका विभिन्न स्थानको यात्रा गराएर समानतालाई प्रवर्द्धन गर्ने लक्ष्य आफैंमा सशक्त थियो ।

कालापत्थरको जमिनमा उभिएर हेर्दा उत्तरमा सगरमाथा ठ्याक्कै अगाडि थियो । मानिस आफू उभिएको स्थानले दृष्य निर्धारण गर्छ । सामुन्ने उभिएर विश्वको सर्वोच्च शिखर हेर्दा वरिपरि उच्च स्थान मात्रै छ, जसलाई हेर्न सकिन्छ तर छुन सकिँदैन भन्ने लागेको थियो मलाई । सगरमाथाको अगाडि उभिँदा मैले आमाबुबाले दशैँमा टीका लगाउँदै दिएको आशीर्वाद सम्झिएँ- ‘शीर सधैं उचो होस्, सगरमाथाको शिखरमा पुग्नु !’ शिखरमा नपुगे पनि म सगरमाथाको आधार शिबिरमा थिएँ र मनोबल थप उच्च भएको थियो । साथीहरू फोटो खिचिरहेका थिए, म पनि खिचिरहेकी थिएँ । लामो पैदलयात्रामा रहेका साथीहरूलाई थकित तर उत्साहित देखेँ । हामी पुग्नेबित्तिकै लागेको पारिलो घामले धेरै चिसो हुन दिएन । तर जमिनमा टेक्दादेखि नै जिउ हलुका भएजस्तो अलि कस्तो-कस्तो चाहिँ भएको थियो । अलिक अगाडिसम्म हँसिलो मुद्रामा टेलिभिजन क्यामरा चलाइरहेका पत्रकार दिलिप थापा मगरलाई सास फेर्न गाह्रो भएपछि अक्सिजन लगाइयो । अक्सिजनकै बीच पनि दिलिपले क्यामेरा चलाउन छोडेनन् । माउण्ट एभरेष्टलगायत वरिपरिका हिमाल हेर्दै गर्दा साथी सरु जोशीले आफ्नी छोरी अभिश्रीले किताब लगेर फोटो खिच्नु है मामु भनेको सम्झँदै उनको किताब ‘एउटा सिन्को भाँची हेर्दा’ निकालिन् । विभिन्न पोज दिँदै हामीले फोटो खिचायौँ । जीवनमा बिरलै पुगिने त्यति महत्वपूर्ण स्थानमा पुगेर दृष्यलाई आँखाले हेरेर आनन्द लिनुभन्दा फोटो खिचाउनमा बढी समय खर्च ग¥यौँ कि जस्तो पनि लाग्छ । कालापत्थरबाट सगरमाथा हेर्दै गर्दा एडमण्ड हिलारी र तेन्जिङ नोर्गेसँगै पासाङ ल्हामु आँखाअगाडि आएकी थिइन् । ४० मिनेट कालापत्थरमा बस्ने भनेर तय गरिए पनि हामी करिब १ घण्टा २० मिनेट कालापत्थरमा बस्यौँ ।

फर्कंदा म फेरिचेमा ओर्लिएँ । वरिपरि हिमाल भएको त्यो सुन्दर उपत्यकामा घरी-घरी हिमाल यात्रा गरेर फर्कंदै गरेका मानिसहरू भेटिन्थे । म एक्लै थिएँ, सुरुमा त्यतै वरिपरि हिँडे पनि हेलिकोप्टर आउन निकै समय लागेपछि त्यो अनकन्टार सुनसान ठाउँमा के गरुँ के गरुँ जस्तो भयो । लुक्ला जानु एक दिनअघि मात्र काठमाडौंमा भेट भएका श्रीकृष्ण सेवा आश्रमका अध्यक्ष श्रीकृष्ण धिमालले सगरमाथाअगाडि एकछिन भए पनि मेडिटेशन गरेर आउनु है दिदी भनेका थिए । कालापत्थरमा गर्न नपाए पनि यो मेरा लागि मेडिटेशन गर्ने उपयुक्त समय हो जस्तो लाग्यो । फेरिचेमा करिब २० मिनेट मेडिटेशन गरेपछि हेलिकोप्टरको आवाज सुनियो । फेरिचेदेखि लुक्लासम्मको यात्रामा देखिएका हिमाल र पहाडबीचका ती सेताम्ये दृष्य अझै पनि आँखाबाट ओझेल परिसकेका छैनन् । यात्राले मानिसलाई जीवनमा धेरै कुरा सिकाउँछ । कालापत्थर यात्राले जीवनमा आइपर्न सक्ने चुनौती र जोखिमहरूलाई जीवनयात्राकै एउटा हिस्साको रूपमा लिएर अघि बढ्न उत्साह थपिदिएको छ ।