‘पिर’ले जगाएको जिज्ञासा

‘पिर’ले जगाएको जिज्ञासा


यदि माओवादी दल साँच्चै समृद्ध नयाँ नेपाल निर्माणको अभियानमा इमानदारीपूर्वक प्रतिबद्ध थियो भने, उनीहरुमा साहस र सहिष्णुता थियो भने सपुतलाई हौसला-प्रेरणा दिनुपर्थ्यो, धम्की होइन धन्यवाद दिनु पर्दथ्यो । आफ्नो कमजोरी ढाकछोप गर्न अरुलाई धम्क्याउने कि आत्मबोधका साथ सच्चिने प्रयत्न गर्ने ? ‘पीर’ गीतमाथिको माओवादी पिरलोले यस्तै जिज्ञासा जन-जनमा जगाएको छ ।

हालै सार्वजनिक भएको एउटा गीतको चर्चा यतिबेला ब्यापक छ । नेपाली समाजमा बग्रेल्ती छरिएका यावत समस्या तथा बेथितिमध्येको एक विषय समेटेर गायक प्रकाश सपुतद्वारा तयार पारिएको भिडियो दृष्यसहितको ‘पिर’ गीतको चर्चा स्वभाविक तवरमा यति धेरै हुनुपर्ने थिएन, तर प्रचण्ड-नेतृत्वको माओवादी केन्द्रका ‘अग्रगमनकारी’ कार्यकर्ताहरूको असहिष्णुताले उक्त गीतलाई खास चर्चा र महत्वशाली हैसियत दिलायो ।

माओवादीका चार वटा वर्गीय सङ्गठनहरूले विज्ञप्ति नै जारी गरी युटुबबाट गीत हटाउन चेतावनी दिनुका साथै विभिन्न माध्यमबाट गायकलाई धम्कीसमेत दिइएका प्रसङ्गहरू सार्वजनिक भए । एउटा सामान्य सिर्जना (गीत)का कारण ‘माओवादी’ जस्तो दलको जरोकिलो यसरी हल्लिएबाट सम्बन्धित दल एवम् त्यसका नेतृत्वकर्ताका थप कमजोर पाटाहरू उजागर हुन पुगेका छन् ।

कथित जनयुद्धले नेपाल र नेपालीका लागि हिजो दिनुसम्मको सास्ती दियो र, आज पनि त्यसैको उपजस्वरुप देश चरम सकसबाट गुज्रिनु परेको अवस्था छ । परिवर्तनको लागि लडेको भ्रममा परेर जो-जति शीरमा कफन बाँधी कथित ‘मुक्ति-युद्ध’मा होमिएका थिए, तिनले मुलुक परिवर्तन भएको त देख्न पाएनन् नै, आफ्नै जीवनलाई समेत किञ्चित फेरबदल गर्न या पिर-ब्यथाबाट मुक्त तुल्याउन सकेनन् । ‘अयोग्य’ ठहरिएर अपमानित बनेकाहरूको ब्यथित मनोदशा एकतिर छँदैछ, ‘योग्य’ ठानिएर पनि तिरस्कृत बनेकाहरू थप पीडित-प्रताडित बन्न पुगेको यथार्थ पनि जगजाहेर नै छ । मुलुक परिवर्तनको निम्ति अतिशय विश्वास गरेर आफूहरूबाट काँध थापिएका नेताहरू नै विलासी जीवनको लालसाबाट अभिप्रेरित हुँदै नव पुँजीवादी हैसियतमा उकासिए, जीवन हत्केलामा राखेर लड्ने योद्धाहरू चाहिँ समस्या र वेदनाको आहालमा जाकिए । पेट-परिवार पालनकै निम्ति धेरै ‘लडाकु’ विदेशिए र परायाभूमिमा कठोर श्रमसँगै रगतको आँशु पिइरहेका छन्, कतिचाहिँ स्वदेशमै रहे पनि शरीरभित्र गोली बोकेको घाइते ज्यानको भार झेल्दै अभाव र असन्तोषको नारकीय जीवन गुजारिरहेका छन् । यही परिवेशमा गायक सपुतको ‘पिर’ गीत सार्वजनिक हुन पुग्यो ।

माओवादी विद्रोहमा संलग्न पूर्व लडाकु महिलाहरू देहब्यापारको धन्दा गरेरै जीवन धानिरहेका छन् भन्ने अतिरञ्जनापूर्ण विषय जबर्जस्ती स्थापित गर्ने ध्येय सर्जक सपुतको पक्कै होइन भन्न सकिन्छ । हिजोका लडाकुहरू नेतृत्वले गरेको उपेक्षा र घातका कारण यस्तोसम्मको हालत ब्यहोर्न बाध्य छन् भन्ने तथ्यको ‘साङ्केतिक चित्रण’ गरी सचेतना जगाउने प्रयत्न सपुतले गरेका हुन् । उनको जीवन्त सिर्जना एवम् देशको वर्तमान परिवेशलाई यथार्थपरक ढङ्गमा प्रस्तुति दिने क्षमताको कदर गर्नुपर्दथ्यो माओवादीहरूले, यदि उनीहरूमा विवेक थियो भने । सपुतलाई हौसला-प्रेरणा दिनुपर्थ्यो, धम्की होइन धन्यवाद दिनु पर्दथ्यो यदि माओवादी दल साँच्चै समृद्ध नयाँ नेपाल निर्माणको अभियानमा इमानदारीपूर्वक प्रतिबद्ध थियो भने । माओवादीहरूमा सहिष्णुता र साहस थियो भने गीतको ‘सजीव-दृश्य’का लागि सपुतको तारिफ गर्दै ‘सामन्ती जीवन’ बाँचिरहेका नवधनाड्य ‘कामरेड’हरूतर्फ औंला उज्याउने थिए । नवसामन्ती चरित्र वा ढाँचा-ढर्रामा ढलिसकेका माओवादी नेतृत्वकर्ताहरूले आफूलाई बदल्ने र पीडामा पिल्सिएका आम नेपालीजनको हितमा काम गर्ने कसम खानुपर्थ्यो ! तर त्यो साहस प्रदर्शन गर्नुको साटो कायरता प्रकट गरियो ।

गीत-सङ्गीतका भाव वा भावनासँग पथभ्रष्टहरू तर्सिने-आत्तिने गर्दछन् । शासन गर्ने तहमा रही देश र जनताप्रति जसले घात गरेको छ त्यस्ता तत्वले सत्य पचाउन सक्दैनन्, कसैले सत्य औंल्याइदिँदा पनि तिनलाई बिझाउँछ, अनि सर्जक र सुन्दरतम् सिर्जनामा समेत उनीहरू षडयन्त्र देख्छन्, बर्बराहट गर्छन् । सपुतको गीतमा चित्रित दृश्यमा देह बेच्न विवश महिलाको मात्र नभइ तिनका सहयात्री ‘कामरेड’हरू जो आज चिल्ला गाडीमा ठाँटबाँटका साथ हुँइकिन्छन् अनि, युद्धकालीन आफ्ना सहकर्मीहरूलाई हेला र तिरस्कार गर्छन्, तिनका दृश्य पनि त छन् । यसतर्फ उनीहरूको ध्यान किन पुगेन ?

देहब्यापार गर्न विवश महिलालाई चरित्रहीनको जलप लगाउनु किमार्थ उचित होइन, ती त फगत परिस्थितिको मारमा परेका मात्र हुन्, न कि रहरले । बरु महिलालाई देहब्यापार गरेर बाँच्न बाध्य पार्ने, हजारौँ युवालाई रगतको आँशु पिएर विदेशमा पसिना बगाउन विवश तुल्याउनेहरू चाहिँ चरित्रहीन हुन् । यस्तै परपीडकहरूका कारण आज समस्त नेपालीको इज्जत लिलाम भइरहेको छ, सिङ्गै नेपालको स्वाभिमान डग्मगाएको छ । यी कर्तव्यच्युत पात्रहरू उल्टै इमानदार नेपालीजनलाई आतङ्कको छायामा सास फेराउने दुष्प्रयास गर्दैछन् । गणतन्त्र, वाक स्वतन्त्रता आदिको चर्को वकालत गर्छन् तर यो सब ढोँग मात्र भएको उनीहरू स्वयम् नै बेला-बेला एउटा गीत वा सर्जकप्रति आततायी शैलीमा खनिएर सिद्ध गरिदिन्छन् । अहिले सपुतमाथि दिइएको धम्की यसैको द्योतक हो ।

‘सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ’ भन्ने आदर्श बोकेर हिँडेका नेपालका माओवादीहरू अझै बन्दुकको बलमा आतङ्क फैलाएर आफ्नो अस्तित्व जोगाउने मानसिकतामै अल्झिरहेका त छैनन् भन्ने गम्भीर सवाल यस्तो बेला स्वतः उठ्दछ । कथित जनयुद्ध क्रान्ति नभइ अपराध थियो भन्ने तथ्य समयले सिद्ध गर्ला नै, तर एउटै गीतले पार्टी र सिस्टमकै जग हल्लाइदिन्छ भने हामी कति फितला नेतृत्व र निरर्थक शासन-व्यवस्थामा बाँचेर समृद्धिको कल्पना गरिरहेका रहेछौँ भन्ने प्रश्न पनि उठ्छ नै ! गीत-सङ्गीत समाजको ऐना हो तापनि बन्दुकको भाषा बोल्नेहरूले सङ्गीतको भाषा बुझ्न सक्दैनन् भन्ने मान्यता यस्तै सन्दर्भमा जन-जनमा स्थापित हुन पुग्छ । आफ्नो कमजोरी ढाकछोप गर्न अरुलाई धम्क्याउने कि आत्मबोधका साथ सच्चिने प्रयत्न गर्ने ? ‘पीर’ गीतमाथिको माओवादी पिरलोले यस्तै जिज्ञासा जन-जनमा जगाएको छ ।