स्थापनाकालदेखि नै राजसंस्थाको बारेमा ढुलमुल सोच भएको नेपाली काङग्रेसमा राजा हटाउनु आफ्नो गल्ती भएको सोच क्रमशः विकसित हुँदैछ । परम्परादेखि नै राजमुकुट विविधताले भरिपूर्ण नेपालको एकताको धागो हो भन्ने भनाइ ठिक भएको प्रमाण देखिँदै छ ।
- स्वयम्भूनाथ कार्की
पञ्चायती संविधानको दोश्रो संशोधनपछिदेखि महापञ्चहरूले एउटा शब्द रट्न थाले- ‘निर्विकल्प पञ्चायती व्यवस्था’ ! उनीहरूले यस्तो रट लगाउन थालेको चार वर्षमै राजाले जनमत सङ्ग्रह गर्न आवश्यक ठाने । त्यो पनि बहुदल र निर्विकल्प भनिएको पञ्चायती व्यवस्थाबीच हैन । जनमत सङ्ग्रह भयो ‘बहुदल’ र ‘सुधारिएको पञ्चायत’को बीचमा । अर्थात्, ‘निर्विकल्प’ भन्न थालिनेवित्तिकै पञ्चायत सुधार्न आवश्यक देखिएको कुरा राजाको घोषणामै आयो । त्यसबेला ‘इतर’ भनिने पञ्चायतका विरोधी पक्षले भन्ने गर्दथे कि निर्विकल्प भन्ने कुरा केही हुन्न, सबै कुराको विकल्प हुन्छ ! नभन्दै ०४६ सालमा विकल्प आयो- संवैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्र ।
यो प्रणाली संस्थागत गर्ने ०४७ सालको संविधानलाई संसारको उत्कृष्ट संविधान भन्ने विशेषण दिइयो । हिजो ‘विकल्पविहीन केही छैन’ भन्नेहरू नै ‘यस संविधानको विकल्प छैन’ भनी ठोकुवा गर्न थाले । उनीहरूले यसो भन्न शुरु गर्दै गर्दा नै १० वर्ष अन्यौल व्याप्त पारिकन नेपाल अहिले धर्मनिरपेक्ष लोकतान्त्रिक सङ्घीय गणतन्त्र भोग्दैछ ! तर यो जन्मदै अपुरो/अधुरो भएको छ, सुधार गर्नुपर्छ भनी यसका स्थानीय जन्मदाताहरू नै भन्दैछन् । ‘स्थानीय जन्मदाता’ भन्नैपर्ने अवस्था किन आयो भने यिनीहरू सबैजसोले नै अनेक अवसरमा यसका वास्तविक जन्मदाता बाहिरिया छन् भनी भनेका छन् । कसैले सिधै भनेका छन् भने कसैले घुमाउरो पाराले । तर, सुरुमा एकछत्र जस्तै यसको समर्थनमा देखिनेहरू पाँच वर्ष पनि नपुग्दै तटस्थ हुन लागे । अब त आधारभूत भनिएको शासकीय संरचनामै परिवर्तनको निमित्त संशोधन आवश्यक भनिँदैछ ।
नेपालमा यो व्यवस्थाले स्थिरता दिन सकेन भनेर सत्ताधारीबाहेक सबै भन्न थालेका छन् । विश्वले पनि पहिलेजस्तै एकछत्र समर्थन दिन छोडेको छ । मुलुकको आर्थिक अवस्था डावाँडोल छ भनेर श्वेतपत्र नै जारी गरियो । अनि सत्ताधारी यो छोटो समयमा नै आर्थिक अवस्था सन्तोषजनक मात्र हैन ‘राम्रो छ’ भन्न थाले, सुधारका कुनै प्रयत्न बेगर नै । त्यसैले आर्थिक सुचाङ्कहरू कुनैले पनि सत्ताधारीको यो दाबीलाई पुष्टि गर्दैन । त्यसैले मित्रराष्ट्रहरू पनि सहयोग गर्न हच्केका देखिन्छन् । रानीपोखरी आपसी कलहले लामो समय चउरमा परिणत हुन सक्छ भने भुइँचालोले थिलथिलो भएका मोफसलको के हाल होला अनुमान नै गर्न पर्दैन, प्रत्यक्ष छ ।
यस्तो अवस्थामा सबै क्षेत्रबाट कुना लगाइएका राजासँग आशा राखेको देखिन्छ । राजसंस्थासमर्थकहरूले कम देखे पनि गणतन्त्रका मुखियाहरूले त विकल्पमा राजा आइसकेको नै देखेका छन् । स्थापनाकालदेखि नै राजसंस्थाको बारेमा ढुलमुल सोच भएको नेपाली काङग्रेसमा राजा हटाउनु आफ्नो गल्ती भएको सोच क्रमशः विकसित हुँदैछ । परम्परादेखि नै राजमुकुट विविधताले भरिपूर्ण नेपालको एकताको धागो हो भन्ने भनाइ ठिक भएको प्रमाण देखिँदै छ । गणतन्त्रको हावा चलेदेखि नै मुलुक विखण्डन हुने खतरा बढेको अभिव्यक्तिहरू आइरहेका छन्, त्यो पनि गणतन्त्रका प्रणेताहरूबाटै । भौगोलिक रूपमा विश्व-राजनीतिमा नेपालले सामरिक र राजनैतिक महत्व राख्छ । कतिपय मुलुक नेपालको यो भुगोल विश्वमा आफ्नो वर्चश्व कायम गर्ने औजार हुने सोचमा छन् । यस्तोमा नेपालको स्थिरता र अखण्डतामा परेको नकारात्मक प्रभावले विश्वमा पनि सही प्रभाव पर्दैन भन्नु अतिरञ्जना मान्न सकिन्न ।
यी सबै नेपालमा राजसंस्थाको महत्व देख्नेहरू, राजसंस्था पुनर्स्थापित होस् भन्नेहरूका निमित्त सकारात्मक सन्दर्भ हुन् । तर यस्तो परिवर्तन नेपथ्यबाट अनायासै हुँदैन भन्नेमा स्पष्ट हुनुपर्छ । यो कुरा राजावादीहरूले बुझेका छन् र आ-आफ्नो तरिकाले प्रयत्न नगरेका पनि हैनन् । तर त्यो शक्ति एकीकृत हुन भने सकेको छैन । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने सोचले ग्रस्त भएर आफूले थालेको कार्यक्रममा अर्को खेताला भएर आइदेओस् भन्छन् । नआएमा वा कार्यक्रमको औचित्य, प्रभाव, दिगोपन आदिको बारेमा प्रश्न उठाएमा उनीहरूलाई महारिस उठ्छ । कसै-कसैलाई सडकमा गणतन्त्र वा गणतन्त्रका नेताहरूलाई घोक्रो फुटुञ्जेल गाली गरेमा गणतन्त्र डराएर भाग्छ भन्ने सोच छ । उनीहरू अर्कालाई सहयात्रीको रूपमा हैन आफूले सोचेको काममा खेतालाको रूपमा मात्र देख्न चाहन्छन् ।
केही-कोही त ‘काङ्ग्रेस, कम्यूनिष्ट, माओवादीहरू थोरै जनाबाट शुरु गरेर सफल भए भने म पनि त सफल नै हुन्छु नि’ भन्छन् । यी सबै दलहरूले क्रान्ति मात्र गरेका थिएनन्, आन्दोलन मात्र गरेका थिएनन्, विद्रोह मात्र गरेका थिएनन्, पहिले जनताबीचमा गएर भिजेका थिए । काङ्ग्रेस-कम्युनिष्टका कार्यकर्ताहरू विद्यालयका शिक्षक बनेर कलिला बच्चाहरूमा राजनीतिक व्यवस्थाप्रति अमिलो भर्दै थिए । माओवादीले शुरुमा गाउँ-बस्तीमा हुने विकृति, शोषण, अत्याचारविरुद्ध काम गरेर जनताको सहानुभूति बटुलेको थियो । जनताका बीच पुगी यथार्थभन्दा भ्रम ‘सेट’ गर्न सकेका कारणले नै यिनीहरूले सफलता पाएका हुन् । राजावादीहरू निर्मल निवासवरिपरि चर्तिकला देखाउन, सडकमा नारा लगाउन र अर्कालाई गाली गर्नमै सीमित छन् । छ कोही त्यस्तो राजावादी, जो ‘म समाचारमा छाउन हैन जनताको बीचमा जान रुचाएको छु’ भन्न सकोस् ?!
प्रतिक्रिया