(सम्झनाको पाना)
- श्यामशंकर जोशी

वीरगन्जको १ नं. सडक माइस्थान चोकदेखि उत्तर अमृत क्याबिन सञ्चालन गर्ने जोगेन्द्रबहादुर श्रेष्ठ एउटा लामो सेतो घरमा बस्नुहुन्थ्यो । हामी पनि त्यहीँ बस्थ्यौँ, जहाँ पछि हिमाञ्चल क्याबिन बस्न आएको थियो । त्यो घरधनी लीलाधर खरीदार, बलराम जोशीका आफन्त कीर्तिज्योतिशानन्द जोशी पाटन, ललितपुरबाट आउनुभएको थियो । हामी उहाँलाई माइलदाइ (माहिला दाइ) भन्थ्यौँ ।
२००७ सालपछिकै कुरा हो अहिले प्रसूतिगृह रहेको छपकैयातिर पहिले एउटा ठूलो धानमिल बन्द अवस्थामा रहेको थियो । त्यही माइलदाइले चाटाइको सिनेमा हल निर्माण गर्न लगाइ सिनेमा देखाउन शुरू गर्नुभयो । हलको नाम उहाँकै नामबाट ‘कीर्ति सिनेमा’ थियो । फिल्म हेर्दा दुई पटक ‘इन्टरभल’ हुन्थ्यो । फिल्म प्रचार गर्ने तरिका पनि गजबको थियो । रिक्शा वा टाँगामा फिल्मको पोष्टर झुन्ड्याएर ढ्वाँगबाट कराउँथे । ‘आज की रात से कीर्ति सिनेमा छपकैया में ‘बाबुल’ फिल्म चल रहा है । अपन् के मन पर ल हिरो हिरोइन दिलीप कुमार, नर्गिस के देखिए’ । फिल्मको पर्चा छरिन्थ्यो ।
मेरो दाजु बद्रीशंकरले त्यसै सिनेमा हलमा काम गर्न थाल्नुभयो । हामी केटाकेटीकै अवस्थामा भएको र माइलदाइ परिवार जस्तोगरी बसेको हुनाले त्यो हलमा फिल्म हेर्न पैसा लाग्दैनथ्यो । मलाई सम्झना भएसम्म मैले हेरेको पहिलो फिल्म सन्त तुलसीदास थियो । त्यसपछि आहुति, अमर राज्य, जय हनुमान, नरसिंह अवतार, निशाना, लव कुश, बहु रानी, बेकसुर, बाबुल, आरजु, गृहस्थी, राखी, नगिना, हनुमान पाताल विजय, भोला शंकर, गणेश महिमा, राजा रानी, महाराणा प्रताप, बिखरे मोती, राम जन्म, गाउँ की गोरी, मीना बाजार, तदविर, लक्ष्मी नारायण, बाजार, अन्धो की दुनिया, सरताज, शिव शक्ति, अन्दाज, जीवन यात्रा, पद्मिनी, दास्तान्, जय शंकर, आँखे की शरम, दो आँसु, बेबश, सुर्ज मुखी, डुलारी, अन्याय, काफीला आदि हुन् ।
मलाई कुनै कुनै फिल्मको सिन अझै याद छ । खासगरी धार्मिक फिल्मको । ‘जय हनुमान’ फिल्ममा हनुमानलाई जन्म दिएपछि झुलामा राखेको हुन्छ । आमा हुने निरूपा राय थिइन् । उसको अनुहार कालो हुन्छ । सखीहरूले सोधेपछि सूर्यको किरणले यस्तो भएको भन्ने ! हनुमानले सुनेपछि उ झुलाबाट जुरुक्क उठेर उडेर जान्छ र सूर्यलाई मुखभित्र हाल्छ । संसार अँध्यारो हुन्छ, हल्लीखल्ली हुन्छ । आमा हुनेले फकाइफुकाइ गरेपछि बल्लतल्ल हनुमानले मुखबाट सूर्यलाई बाहिर निकाल्छ ।
त्यस्तै, गणेश महिमा भन्ने फिल्ममा गणेशको पूजा गरी आफ्नो लोग्नेलाई प्रसाद खान दिँदा खान मान्दैन । बल्ल-बल्ल श्रीमतीले लड्डु मुखमा हालीदिन्छ । एक पटक राक्षसले त्यसलाई मार्न खोजेपछि उ भाग्दै गणेशको प्रार्थना गर्छ, ‘हे प्रभु मुझे बचाओ, मैने आपका प्रसाद लड्डु खाया है !’ गणेशले बचाइ दिन्छ ।
माइलदाइले कलकत्ताबाट ल्याउनुभएका प्राविधिकहरू पनि सँगै त्यसै घरमा बस्थे । त्यसबेला उनीहरूले ग्रामोफोनबाट गीतहरू बजाउँथे । मलाई याद भएका गीतहरू, ‘ओ ओ कैसी खुसी की है रात, बलम मेरे साथ (नगिना) । ’ ‘याद आई है, वेब सी छाई है, रो रही है खुशी (नगी ना) । ’ ‘हो लला ला, हो लला ला समय गुजर ता जाये’ आदि हुन् । त्यसबेला धार्मिक फिल्महरू खूब चल्थ्यो । फिल्म ‘जय शंकर’ लाग्दै थियो । मेरो भाइको नाम जयशंकर नै थियो । माइलदाइले जयशंकरलाई ‘जय शंकर’ फिल्म देखाउन लैजान्छु भनी भाइलाई लिएर जानुभो र लगेर बालकोनिमा राखी देखाउनुभयो । एक पटक रातिको शो हेर्दाहेर्दै ठूलो आँधी तुफान र घनघोर वर्षा भयो । टिनको छाना चटाइ सब उडायो । म फिल्म देखाउने प्रोजेक्टर हलमा आइ बसिरहेँ । दाइले मलाई बिर्सनुभएछ । उहाँ त पहिले नै घर पुगी सक्नुभएको रहेछ ।
पछि यो हललाई सारेर माई स्थान चोकदेखि घरीअर्वा जाने बाटोतर्फ पहिलो काठको पुल आउनुअगाडि दाहिनेतर्फ अलिकति व्यवस्थित रूपमा बनाइएको थियो । त्यो जमाना गजबको थियो । सिनेमा हलभित्र मर्दाना र जनाना क्लास बीचमा चटाई तथा पर्दा हालेर छुट्याइएको हुन्थ्यो ।
‘निशाना’ भन्ने एउटा फिल्म हलवाला सँगै भएकोले कुनै फिल्म न चले पछि ‘एक टिकेट में दो खेल’ भनि ६ बजेदेखि ९ बजेसम्म यौटा अनि ९ बजेदेखि १२ बजे रातिसम्म त्यही निशाना फिल्म देखाउने गथ्र्यो । अशोक कुमार, मधुबाला, श्यामा, गीता बाली भएको त्यस फिल्ममा गीता बालीको नाम मुडरैया हुन्छ । मुदरैया की डान्स देखो भनी नौटङ्की देखाउन फिल्ममा ढ्वाङ् फुकी कराउने अझै मलाई याद छ ।
वीरगन्जमा सिनेमा चले पनि सिनेमाको शुरुवात गर्ने कीर्ति जोशी (माइलदाइ) ले त्यहाँको माहौलमा फायदा उठाउन नसकेपछि पाटन ललितपुर फर्कनुभयो । काठमाडौंबाट एकनारायण श्रेष्ठ भन्ने मान्छे म्यानेजर भइ वीरगञ्ज आउनुभयो । उहाँ पनि हाम्रो परिवारलाई चिन्ने व्यक्ति परेकाले हामीलाई फिल्म हेर्न कठिनाइ भएन । बरु एउटा कामसमेत दिनुभयो । फिल्म हेर्ने साथै कसैले बिडी-चुरोट खाएर पर्दातिर फाल्यो भने मान्छे चिन्ने । चटाइको भित्ता भएकाले पछाडिको भित्तामा प्वाल पारी केटाहरू बाहिरबाट हेर्थे तर दृश्यचाहिँ उल्टो देखिन्थ्यो । त्यो सिनेमा हल कीर्ति जोशीले छाडेपछि वीरगन्जका दुईचार जना मिलेर किनेका थिए । तिनीहरूसँग पनि पछि वीरगन्जका व्यापारी गिरधारीलाल लाठले किनेर प्रोजेक्टर छपकैयामा लगी पक्की हल बनाएर ‘विद्या चलचित्र मन्दिर’को नामले चलाए । त्यसैगरी आदर्श नगरमा अलिक व्यवस्थित र आधुनिक किसिमको पहिलो सिनेमा हल ‘अप्सरा’ बनेको थियो । अहिले यो कुनै पनि हल चलेको छैन ।
एकपटकको कुरा हो कीर्ति सिनेमामा म राति ९ देखि १२ को शो ‘श्री ४२०’ फिल्म हेरिरहेको थिएँ । फिल्म धेरै लामो थियो हेर्दाहेर्दै भुसुक्क निदाएछु । हल त खाली भइसकेछ । कर्मचारीहरू ढोका बन्द गर्न आउँदा मलाई देखेर उठाइदिए । म हडबढाएर दौडिँदै घर पुगेँ ।
यसरी वीरगन्जमा सिनेमाको शुरुवात भएको थियो र, हल निर्माण गरी प्रोजेक्टरबाट फिल्म देखाउने कार्य कीर्ति ज्योतिसानन्द जोशीबाट शुरू भएको थियो ।
प्रतिक्रिया