राजनीतिक दलका ठूल्ठूला नेता तथा तिनका कार्यकर्ताहरू आफूलाई उत्कृष्ट साबित गर्न अत्यन्तै निकृष्ट गालीगलौजमा उत्रिएको देख्दा अचम्म लागेर आउँछ ! आफूलाई उत्कृष्ट साबित गर्न, आफूले उत्कृष्ट काम गरेर देखाउन सक्नु पर्छ, अरूलाई निकृष्ट देखाउन आवश्यक नै छैन भन्ने कुराको चेत हाम्रो देशका नेता तथा तिनका कार्यकर्ताहरूमा अब कहिले आउला ?
- रमेश ढकाल
एउटा राजनीतिक दलका नेताले आफू असल देखिनका लागि अर्को दलका नेतालाई आरोप-प्रत्यारोप र गालीगलौज गरेको सुन्दा मलाई मेरा बालसखा जीवन पोख्रेलले ३-४ कक्षातिर पढ्दा हुनुपर्छ, आफ्नो कपीमा पेन्सिलले एउटा धर्को तानेर देखाउँदै, ‘रमेश ! यो धर्कोलाई नछोइकन याने कुनै प्रकारले केरमेट नगरिकन छोटो बनाएर देखाउन सक्छौ ?’ भनेर प्रश्न गरेको याद आउँछ । मलाई सम्झना छ, प्रश्न सुनेर मैले तुरुन्तै उनलाई भनेको थिएँ- ‘यो लाइनलाई नछोइकन त कसरी छोटो पार्न सक्नु र ? यस्तो काम मैले मात्र हैन, राजाले पनि गरेर देखाउन सक्दैनन् ।’
केटाकेटीमा साथीहरूले अलिक असम्भव लाग्ने खालका कुराहरू गर्न वा गरेर देखाउनभन्दा त्यतिखेर एउटा हाम्रो प्रचलित भनाइ हुने गर्थ्यो- ‘यस्तो त राजाले पनि सक्दैनन् ।’ यस्तो कुरा सम्झँदा अहिले पनि हाँसो लाग्छ । तर, यसले एउटा कुराचाहिँ के स्पष्ट बनाउँछ भने त्यतिखेर हाम्रा देशका राजालाई त्यो रूपमा हेरिन्थ्यो; जसका लागि असम्भव केही पनि हुँदैन भन्ने बुझाइ थियो । राजाले जे गर्न पनि सक्षम हुन्छन् । राजाका लागि असम्भव केही पनि हुँदैन । हरकोहीले गर्न नसकेको काम राजाले चाहिँ गरेर देखाउन सक्छन् भन्ने एउटा आमबुझाइ थियो । हुन पनि त्यतिखेरका राजा देशको नियम-कानूनभन्दा पनि माथि हुने गर्थे । उनीहरूलाई देशको कुनै कानूनले छुँदैनथ्यो । उनीहरू आफ्नो इच्छाअनुसार जे पनि गर्न सक्थे ।
अब त राजा छैनन् । देश गणतन्त्रमा प्रवेश गरेकै १५ वर्ष गुज्रिन लागिसक्यो, अब लगभग ३ महिनामा पन्ध्र वर्ष पूरा हुन्छ । अहिलेको संविधानले देशको कानूनभन्दा माथि रहने छुट कसैलाई पनि दिएको छैन; भलै यो कुरा राजनीतिक दलका नेताहरूमा चाहिँ खासै लागू भएको पाइँदैन ! हुन त संविधानमा देशका हरेक व्यक्तिलाई ससम्मान बाँच्न पाउने अधिकार छ भनेर पनि उल्लेख गरिएको छ, तर त्यो अधिकार तल्लो वर्गका अधिकांश निमुखा नागरिकहरूले अझैसम्म पाएका छैनन्- जुन कुरा एउटा अलग्गै बहसको विषय बन्न सक्छ ।
खैर… अब हामी शुरुकै प्रसङ्गतिर फर्काैं ।
अतः साथीले मेरो कुरा सुनेपछि भने- ‘तिमी साँच्चै यो धर्कोलाई नछोइकन छोटो पार्न सक्दैनौँ त ? लु, त्यसो हो भने बाजी ठोक, म यो धर्कोलाई तिम्रो आँखा अगाडि नै नछोइकन छोटो पारेर देखाइदिन सक्छु ।’
अब त्यतिखेरको बेलामा बाजी लगाउनका लागि हामीसँग के नै पो हुन्थ्यो र ? उनले कापीको दुइटा चोखो पन्ना, मागे । मैले पनि ‘लु… यो धर्कोलाई नछोइकन छोटो पारेर देखायौ भने म तिमीलाई दुइटा त होइन, कापीको एउटा चोखो पन्ना चाहिँ पक्का दिन्छु । तर पहिला यो धर्कोलाई छोटो पारेर देखाऊ ।’ त्यो बेला यसरी हामी दुई बीचमा एउटा डिल तय भयो ।
कापीको एउटा चोखो पन्ना दिने शर्त भएसँगै, उनले तुरुन्तै त्यही लाइनको सामुन्ने अर्को अलिक लामो लाइन तानेर, ‘लु हेर त, अब यो पहिलाको लाइन छोटो भयो’ भनेर मलाई देखाइदिए । उनले साँच्चै नै पहिला कोरेको लाइनलाई नछोइकनै उक्त लाइनलाई छोटो पारेर देखाइदिए । म हेरेकोहेर्यै भएँ र आफ्नो हार स्वीकार्दै उनलाई आफ्नो कापीबाट एउटा चोखो पन्ना छुट्याएर दिएँ ।
मेरो बालचेतनाले पेन्सिलले कोरेको एउटा धर्कोको सामुन्ने अर्को अलिक लामो धर्को तानेर पहिला कोरिएको धर्कोलाई नछोइकन छोटो बनाउन सकिने त्यो प्रक्रियालाई त्यतिखेर एकछिनको एउटा रोचक खेल जस्तो मात्र मानेर बिर्सिदिएको थियो । त्यतिखेरको बालचेतनाले यस्तो विषयको गहनतालाई बुझेर विश्लेषण गर्ने सम्भावना हुने कुरा पनि भएन ।
तर… अहिले आएर ज्ञात भयो, पेन्सिलले कोरेको एउटा धर्कोको सामुन्ने अर्को उस्तै लामो धर्को कोरेर पहिला कोरिएको धर्कोलाई कुनै दखल नगरिकनै त्यसलाई छोटो बनाउन सकिने कुरा बाल्यकालमा मैले बुझेजस्तो एउटा रोचक खेल मात्र नभएर हामी मनुष्यको सिङ्गो जीवनलाई मार्गदर्शन गर्ने एउटा सूत्र पो रहेछ । जुन सूत्रले तपाईं-हामीलाई आफूलाई लायक साबित गर्न अर्कोलाई नालायक सिद्ध गर्नु पर्दैन । अर्थात्, आफू लायक बनिदिए पुग्छ भन्ने कुराको शिक्षा दिने रहेछ ।
सारै दुःखलाग्दो कुरा ! यति सामान्य कुरालाई हाम्रा राजनीतिक दलका ठूल्ठूला नेता तथा तिनका कार्यकर्ताहरूले बुझ्न नसकेर आफूलाई उत्कृष्ट साबित गर्नकै लागि अत्यन्तै निकृष्ट गालीगलौजमा उत्रिएको देख्दा भने बडो अचम्म लागेर आउँछ ! आफूलाई उत्कृष्ट साबित गर्न, आफूले उत्कृष्ट काम गरेर देखाउन सक्नु पर्छ, अरूलाई निकृष्ट देखाउन आवश्यक नै छैन भन्ने कुराको चेत हाम्रो देशका नेता तथा तिनका कार्यकर्ताहरूमा अब कहिले आउला ? कामना छ- त्यो सूत्रात्मक चेत उनीहरूमा चाँडै पलाउन सकोस् ।
- भद्रपुर, झापा (हाल : दोहा-कतार)
प्रतिक्रिया